![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/data2022-02-14-06-26-17.jpeg)
नेपालले दान आएका स्वास्थ्य उपकरणकै भरमा कोरोना महामारीको भयावह अवस्था गुजारेको छ । सरकारले आफैँ समयमै अत्यावश्यक उपकरणको जोहो नगर्दा देशले बढी मानवीय क्षति व्यहोर्नुपरेको छ । आइतबारसम्म कोरोनाबाट ११ हजार आठ सय ९२ ले ज्यान गुमाएका छन् । यीमध्ये कैयौँले देशको कमजोर स्वास्थ्य प्रणाली र आवश्यक स्वास्थ्य उपकरणको अभावमा ज्यान गुमाएका छन् ।
तीन चरणको कोरोना महामारीको अवधिमा सरकारले नौ सय पाँच थान इन्फारेड थर्मोमिटर र ५० थान आइसियू भेन्टिलेटर मात्रै खरिद गरेको छ । यो अवधिमा २३ हजार ७३ थान विभिन्न उपकरण दाताहरूबाट प्राप्त गरेको सरकारी तथ्यांक छ ।
महामारी सुरु हुँदा तत्कालीन केपी ओली सरकारले ओम्नी कम्पनीसँग कोरोना परीक्षण किट खरिद सम्झौतामा अनियमितता गरेको भेटिएपछि व्यापक आलोचना भएको थियो । त्यसपछि उपकरण खरिदमा ध्यान नदिएको सरकारले दाताबाट प्राप्त उपकरणबाटै महामारी टार्दै आएको छ । महामारीको दोस्रो छालमा धेरै मानवीय क्षति भएको थियो । आइसियू, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्युदर बढी भएको चिकित्सकहरू बताउँछन् । त्यतिवेला सरकारले दातृ निकाय गुहारेपछि उपकरणहरू प्राप्त गरेको थियो ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार दाताबाट १० देखि ५० लिटरसम्मका आठ हजार सात सय ३६ थान अक्सिजन सिलिन्डर प्राप्त भएको छ । विभिन्न लिटरका अक्सिजन कन्सन्ट्रेटर नौ हजार तीन सय ७५ थान आएको छ । भेन्टिलेटरमा प्रयोग हुने सिप्याप मेसिन तीन सय पाँच थान र बाइप्याप मेसिन सात सय ८८ थान, पाँच प्रकारका इलेक्ट्रोनिक्स बेड ६६ थान, आइसियू बेड चार सय ४० थान प्राप्त भएको छ । इन्फारेड थर्मोमिटर दुई हजार पाँच सय ७० थान, पोर्टेबल भेन्टिलेटर, ८२ र पोर्टेबल भेन्टिलेटर सेट सय थान प्राप्त भएको छ । त्यस्तै, बच्चा र वयस्कका लागि गरी ६ सय ११ थान भेन्टिलेटर, आइसियू बेड चार सय ४० थान र इलेक्ट्रोनिक बेड ६६ थान दाताबाट आएको विभागको तथ्यांक छ ।
महाशाखा प्रमुख डा. रुद्र मरासिनी सरकारले मेडिकल उपकरण खासै खरिद नगरेको बताउँछन् । ‘सरकारले मेडिकल उपकरणहरू खासै किनेको छैन, सबैजसो दातृ निकायहरूबाट सहयोग प्राप्त भएका छन् । दाताकै सहयोगबाट चलेको छ । सरकारले आवश्यकताअनुसार देशैभरका स्वास्थ्य संस्थामा पठाएको छ,’ उनले भने ।