१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १ आइतबार
  • Friday, 05 July, 2024
गुल्मी, पाल्पा र स्याङजाको संगम स्थल रिडीमा बन्दै गरेको नेपालकै पहिलो तीनमुखे पुल । तस्बिर : टोपलाल अर्याल/नयाँ पत्रिका
२o७८ फाल्गुण १ आइतबार o६:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

देशकै पहिलो तीनमुखे पुल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १ आइतबार o६:o७:oo

पछिल्लो समय नेपालमा बन्दै गरेका र बनेका विभिन्न पुल, पार्क, सडकजस्ता भौतिक संरचना सामाजिक सञ्जालमा भाइरल भएका छन् । अहिले आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसैगरी भौतिक पूर्वाधारहरू पनि पर्यटकीय सम्भावनाका साथ निर्माण हुन थालेका छन् । 

नेपालमै पहिलोपटक रिडीमा बन्दै गरेको तीनमुखे झोलुंगे पुल पनि आन्तरिक तथा बाह्य पर्यटकको राम्रो गन्तव्य बन्नेमा दुईमत छैन । सम्झौताअनुसार लामो समय काम नभएपछि पुलको विषयमा नागरिकस्तरमा आलोचना बढी र आशा कम थियो । पछिल्लो दुई वर्ष  भने कामले गति लिएको छ ।

यो वर्ष  निर्माण कम्पनीले सम्झौताअनुसारको काम पूरा गर्ने जनाएको छ । लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडी अहिले तीनमुखे पुलका कारण थप चर्चामा आउन थालेको छ । 

तीनपटक म्याद थप

०७१ सालमा तत्कालीन गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारी र तत्कालीन मुख्य सचिव लीलामणि पौड्यालले यस पुलको शिलान्यास गरेका थिए । १५ असार ०७१ मा नौ करोड ८८ लाख २६ हजार तीन सय ३२ रुपैयाँको लागतमा नयाँबाटो–रुविना–मना जेभीले निर्माण कार्यको सम्झौता गर्‍यो । 

पुल सम्झौता भएको मितिले तीन वर्षमा पुल बन्नुपर्थ्यो । डिजाइन बन्न नै एक वर्ष बित्यो । विभिन्न प्राविधिक कारण र कोभिडले तीनपटक म्याद थप गरिएको स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुल्चोक ललितपुरका इन्जिनियर गोपाल थापाले जानकारी दिए । 

उनले यो डिजाइनको पुल नेपालमै पहिलो भएको बताए । पुलमा २५ मिटर उचाइसहितको भ्युटावर, तीन जिल्लाको तीनैतर्फ एक सय ७७ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको निर्माण व्यवसायी करणजित बर्माले बताए । 

कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको पिल्लर निर्माण भएको छ । अब प्रत्येक लुठाको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भर्‍याङ, रेलिङ निर्माण र झन्डा राख्ने संरचना निर्माणको काम बाँकी रहेको निर्माण व्यवसायी बर्माले बताए । यो पुलले स्याङ्जाको कालीगण्डकी गाउँपालिका– १ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका– १४ अर्गली र गुल्मीमा रुरु क्षेत्र गाउँपालिका– १ रिडी जोडेको छ । 

चार धाममध्येको एक रुरु 

रुरु क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा तीन जिल्लाको मुख्य संगम स्थल हो । जहाँ कालीगण्डकी नदी बग्छ । नेपालको चार धाममध्येको एक हो रुरु क्षेत्र । जसलाई नेपालको बनारस भन्ने गरिएको छ । रुरु क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य हो । रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेको ऋषिकेश मन्दिरका पण्डित ओमप्रसाद भट्टराईले बताए । रुरुक्षेत्रमा भृगुतुंग र गलफुल गुफा रहेका छन् । रुरु क्षेत्रमा साना–ठूला गरेर एक सयभन्दा बढी मन्दिर छन् । 

रिडीमा मुख्य गरी माघेसक्रांन्तिमा तीन दिन र ऋषिकेश उत्सवमा दुई दिन ठूलो मेला लाग्ने गर्दछ । वर्षभरिको औँसी, पूर्णिमा, ग्रहण तथा वैशाख महिनाको प्रत्येक शनिबार मेला लाग्ने भट्टराईले जानकारी दिए । 

भगवान विष्णुको प्रतीक मानिने शालिग्रााम शिला पनि रिडीमा पाइन्छ । त्यसैले यो क्षेत्र दुर्लभ शालिग्रााम पाइने स्थानका रूपमा पनि चिनिएको छ । रिडीमा राडीपाखी, डोका, डाला, नाम्ला, कम्बल, घिउ, चाकु, तरुल, खुदो, उखु, कफी, अदुवा, लिचीलगायतका स्थानीय उत्पादन पनि प्रख्यात मानिन्छन् । 

 


 

ad
ad
ad
ad