मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २७ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ माघ २७ बिहीबार १७:४९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा चितुवा आतंक : सात महिनामा ५९ घटना

झन्झटिलो प्रक्रियाले नागरिकलाई सास्ती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २७ बिहीबार १७:४९:oo

गत शनिबार राति चितुवाले रुरु क्षेत्र गाउँपालिका–२, ग्वादीका टंकप्रसाद बरालको दुहुनो भैँसी र पाडी मार्यो । करिब १ बजे गोठ पसेका दुई चितुवाले भैँसी र पाडो मारेको बरालले बताए। चितुवाको आक्रमणबाट करिब एक लाखको आर्थिक क्षति व्यहोर्नुपरेको बरालको भनाइ छ । 

गत कात्तिक १५ गते मालिका ५ का नरबहादुर महतराका आठवटा ब्याउने बाख्रा चितुवाले मार्यो । महतराले पहिले व्यवसायी बाख्रा फर्म सञ्चालन गरेका छन् । बाख्रा चराउन गएका वेला एकैदिन चितुवाले आठ बाख्रा मारेको महतराले गुनासो गरे । उनले करिब ८० हजारबराबरको आर्थिक क्षतिको प्रहरी मुचुल्का गरेर डिविजन वन कार्यालयमा पेस गरे पनि अझै राहत प्राप्त नगरेको बताए। महतराले लामो प्रक्रिया र राहतको लागि महिनौँ पर्खनुपर्ने स्थितिले किसान झन् समस्यामा परेको गुनासो गरे । ‘क्षतिको पीडासँगै प्रक्रिया पूरा गर्दा किसानको राहतभन्दा बढी खर्च हुने रहेछ । नेपालमा आखिर मर्ने गरिखाने किसान नै हो, ’उनले भने, ‘चार महिना भए कागजपत्र पेस गरेको राहतको टुंगाे छैन ।’ 

केही समयअगाडि इस्मा गाउँपालिका ५ की देवी बस्नेतका दुईपटक गरेर सात बाख्रा चितुवाको आक्रमणबाट मरे। राहतको लागि सबै प्रक्रिया पूरा गरेर डिभिजन वनमा कागजपत्र पेस पनि गरिन् । थुप्रैपटक रातहको लागि कार्यालयमा धाइन् । अन्तिममा ४० हजार क्षतिको मूल्यांकनमा कार्यालयले चार हजार मात्रै आएको भनेर पैसा लैजान आग्रह गरेपछि आफूले नबुझेको बस्नेतले बताइन् ।
वर्षेनी वन्यजन्तुबाट पीडित नागरिक 

गाउँमा पछिल्लो समय चितुवाको आतंक बढिरहेको छ । दिउँसाेको समयमा नै चितुवाले पशुचौपाया आक्रमण गर्न थालेको छ । डिभिजन वन कार्यालय गुल्मीको गत १८ असोजसम्मको तथ्यांकअनुसार २६ जनाको घरका पशुचौपायालाई चितुवाले आक्रमण गरेको छ । जसमा २२ बाख्रा, बोका र पाठापाठी वन्यजन्तुको आक्रमणमा मरेका छन् । त्यस्तै दुईवटा गोरु चारवटा गाई र चारवटा भैँसी चितुवाको आक्रमणबाट मरेको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत रामकुमार चौधरीले जानकारी दिए । 

साउनदेखि असोजसम्म वन्यजन्तुबाट पशुचौपाया मरेका २६ घर परिवारलाई डिभिजन वन कार्यालयले न्यूनतम १० हजारदेखि बढीमा ३८ हजारसम्म गरेर तीन लाख ८३ हजार राहत प्रदान गरेको चौधरीले बताए । असोजदेखि अहिलेसम्म ३३ वटा नयाँ निवेदन परेका छन् । परिवारले राहतको लागि निवेदन डिभिजन वन कार्यालयमा पेस गरेका छन् । चौधरीका अनुसार गत वर्ष ७५ परिवार वन्यजन्तुको आक्रमणबाट पीडित भएका छन् । आक्रमणबाट ७४ वटा बाख्रा, पाठा–पाठी, गाई, भैँसी, गोरुलाई चितुवाले आक्रमण गरेको छ । ३० रोपनी क्षेत्रफलमा लगाइएको खाद्यान्न बालीमा वन्यजन्तुले क्षति पुर्याएको छ ।  पीडित ७५ परिवारको लागि १७ लाख ८८ हजार पाँच सय ९० रुपैयाँ राहत प्रदान गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । 

राहतका लागि झन्झटिलो प्रक्रिया 
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका ०६९ तेस्रो संशाेधन ०७५ अनुसार बाघ, भालु, चितुवा, ध्वाँसे चितुवा, व्वाँसो, जंगली कुकुर, बंदेल, अर्ना, मगर गोही, अजिंगर र चौँरी गाईको आक्रमणबाट मानवीय क्षति भए राहत पाउने उल्लेख छ । तर, अर्ना र जंगली बंदेलबाहेक अरूले खाद्यान्य बालीमा क्षति गरे राहत पाइँदैन । 

बाघ, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, व्वाँसो, जंगली कुकुर र मगर गोहीले पशुधनको क्षति गरेकामा राहत पाउने निर्देशिकामा उल्लेख छ । जिल्लामा डिभिजन वन कार्यालय प्रमुखको संयोजकत्वमा वन्यजन्तु राहत वितरण सिफारिस समिति रहेको छ । समितिमा पशु तथा कृषि ज्ञान केन्द्रका प्रमुख र डिभिजन वन कार्यालयका अधिकृत सदस्य रहने व्यावस्था छ । पीडित पक्षबाट कार्यालयमा प्राप्त वन्यजन्तुले पशु र खाद्यान्न बालीमा पुर्याएको क्षतिसहितको निवेदन र प्रक्रिया अध्ययन गरेर आवश्यक राहतको लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाइने  गुल्मीका प्रमुख वन अधिकृत प्रभात सापकोटाले बताए । उनले राहतको लागि निवेदन, क्षतिको फोटो, घटनाको प्रहरी मुचुल्का, पशु सेवा कार्यालय, सामुदायिक वन र वडा कार्यालयको सिफारिस आवश्यक पर्ने बताए ।

जिल्लास्थित वन्यजन्तु राहत वितरण सिफारिस समितिले आवश्यक प्रक्रिया पूरा गरेर बाँके राष्ट्रिय निकुञ्जमा राहतको माग गर्छ । ‘निर्देशिकाबमोजिम आएका सबै पीडित परिवारले जिल्लाको समितिले मूल्यांकन गरेअनुसार राहत पाउँछन् । बाँके निकुञ्जका पनि आफ्नै प्रक्रिया छन्,’ वन अधिकृत सापकोटाले भने, ‘समय लागे पनि कोही राहत पाउनबाट कोही पनि वञ्चित हुँदैनन् ।’