राजीनामा दिन अटेर गरेपछि प्रदेश १ सरकारले प्रदेश खेलकुद समितिको सदस्यसचिव पर्शुराम बस्नेतलाई हटाउने तयारीसहित स्पष्टीकरण सोधेको छ । अल्पमतमा रहेका तत्कालीन एमालेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले विवादित छवि भएका पर्शुराम बस्नेतलाई २४ भदौमा नियुक्त गरेपछि वर्तमान पाँचदलीय गठबन्धनको सरकारले हटाउने तयारीसहित स्पष्टीकरण सोधेको हो ।
आइतबार सामाजिक विकासमन्त्री राजन राईले योग्यता नपुगेका व्यक्तिलाई नियुक्त गरेको, छवि स्वच्छ नभएको र काम पनि चित्तबुझ्दो नभएको भन्दै सदस्यसचिव बस्नेतसँग स्पष्टीकरण सोधेका छन् ।
एमाले मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि सत्तामा आएको पाँचदलीय गठन्धनका मुख्यमन्त्री राजेन्द्रकुमार राईले पटकपटक सदस्यसचिव बस्नेतलाई राजीनामा दिन आग्रह गरेका थिए । तर, बस्नेतले आफूलाई जबर्जस्ती हटाए अदालत जाने चेतावनी दिँदै पदमा बहाल रहेका छन् ।
राजीनामा दिन अटेर गरेपछि मुख्यमन्त्री राजेन्द्र राई सरकारले खेलकुद समितिका सबै बजेट रोकिदिएको थियो । सदस्यसचिवमा नियुक्त भएका पर्शुराम पत्रकार आक्रमण, गुन्डागर्दी र अकुत सम्पत्ति आर्जन आरोपमा मुद्दा खेपिसकेका विवादित व्यक्ति हुन् ।
एमाले उच्च तहबाट दबाब भए पनि प्रथम मुख्यमन्त्री शेरधन राईले पर्शुरामलाई सदस्यसचिव बनाउन चाहेनन् । तर, भीम आचार्य मुख्यमन्त्री भएपछि तत्कालीन सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले बस्नेतलाई सदस्यसचिवमा नियुक्त गरेका थिए ।