आफूलाई सुकुमबासी बताउनेहरूले रौतहटको चुरे क्षेत्रमा अग्ला पक्की घर बनाउन थालेका छन् । नियमनकारी निकाय मौन रहेका कारण चुरेमा धमाधम पक्की घर बन्न थालेका हुन् । चन्द्रपुर– ३ स्थित चुरे क्षेत्रको भोलनटार, अरुणबस्ती, इपिलिघारी, महादेवडाँडा, स्वस्तिलगायतको चुरे क्षेत्रमा सुकुमबासी भनिएकाले धमाधम पक्की घर बनाउँदासमेत उनीहरूलाई रोक्ने काम हुन सकेको छैन । चुरे र दक्षिणतर्फको राष्ट्रिय वन मासेरसमेत पक्की घरहरू बनेका हुन् ।
महादेवडाँडाका स्थानीय काजीबहादुर थिङले छोराहरूले काठमाडौंबाट पैसा पठाएपछि पक्की घर बनाएको बताए । ‘डेढ दशकदेखि यहीँ बस्दै आएका छौँ । अब अन्यत्र जाने अवस्था छैन,’ उनले भने, ‘छोराको कमाइले ऐलानीमै भए पनि पक्की घर बनाएका हौँ ।’ रौतहटको कुल २९ हजार चार सय हेक्टर वन क्षेत्रमध्ये तीन हजार एक सय ९० हेक्टर अतिक्रमणमा परेको डिभिजन वन कार्यालय रौतहटले बताएको छ ।
चुरे क्षेत्रको एक हजार चार सय २५ हेक्टर अतिक्रमणमा परेको डिभिजन वन चन्द्रनिगाहपुरले जनाएको छ । बढ्दो वन विनाश, अतिक्रमण र ढुंगा उत्खननले चुरे क्षेत्र संकटमा परेको भन्दै वनले हटाउन प्रयास गरे पनि सकेको छैन । त्यस क्षेत्रमा बसोवास गर्ने सुकुमबासीले चुरे कब्जा गरी रूख काटेर खेती लगाउँदै आएका छन् ।
चुरे कटानले वन विनाशमा तीव्रता ल्याएपछि सरकारले अघि सारेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसमेत त्यस क्षेत्रमा गर्न दिएका छैनन् । डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादवले चुरे अतिक्रमण गरी बसेकाहरूले पक्की घर बनाएको थाहा पाउँदापाउँदै हटाउन नसकेको बताए । सात वर्षअघि वनले चुरे क्षेत्रको अतिक्रमण खाली गराउने अभियान थालेको थियो । राजनीतिक दबाबका कारण त्यस वेला हटाउन सकेन ।
त्यसपछि अतिक्रमण तीव्र भएपछि केहीलाई पक्रेर कारबाहीसमेत गर्यो । केही समय चुरेमा बसेकाहरू चुप बसे । पछिल्लो समय वन क्षेत्रको सिमाना बढाएर अतिक्रमण गर्ने, चुरेको आडैमा पक्की घर बनाउनेजस्ता हर्कत गर्न थालेका छन् । डिभिजन वनअन्तर्गतको धन्सार, गैँडाटार र पौराईको चुरे क्षेत्र सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको वन कार्यालयले जनाएको छ ।
नगरपालिकाले समेत अतिक्रमण हटाउन चासो नदेखाएको वनको आरोप छ । चुरेको अलावा चन्द्रपुर, बागमती, बेतौना, नयाँ बस्ती, वनबोहरी, बलरीखोर, चोचा, मैरालगायतको वन क्षेत्रमा स्थानीयले घर बनाउने, घेराबेरा गर्ने र बाली लगाएर लामो समयदेखि भोगचलन गर्दै आएका छन् ।
जिल्लामा लामो समयदेखि अतिक्रमणकारीको एक समूह सक्रिय छ । उनीहरू रातारात तारबार र खेती गर्छन् । सुरुमा जंगलबाट सेउला ल्याएर घेर्छन् । त्यसपछि खेती गर्छन् । वनले हटाउने चासो देखाएन भने अनि तारबार लगाउँछन् अनि बिस्तारै पक्की घर बनाउँछन् ।