१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २० बिहीबार
  • Monday, 01 July, 2024
तरकारीमा रहेको विषादीको मात्रा जाँच गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक
२o७८ माघ २० बिहीबार o७:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतबाट आयात हुने तरकारीमा फरक विषादी : सीमाको उपकरण र विधिले पत्ता लगाउन सकेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २० बिहीबार o७:५७:oo

तरकारी फलफूलमा विषादी परीक्षण हुन थालेपछि नेपालगन्ज नाकाबाट आयात हुने तरकारीमा विषादी फेला पर्न छाडेको छ । भारतका तरकारी उत्पादक किसानले नेपालमा जाँच हुने उपकरण र त्यसले पत्ता लगाउने विषादी समूहका बारेमा जानकारी पाएपछि नेपालगन्ज नाकाबाट आयात हुने तरकारीमा विषादीको मात्रा फेला पर्न छाडेको नेपालगन्जस्थित विषादी अवशेष द्रुत विश्लेषण इकाइका प्राविधिकसमेत रहेका कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत शकिल अहमदले बताए ।

 विषादीको मात्रा पत्ता लगाउन प्रयोग भएको आरबिपिआर उपकरणले कार्बन–अर्गानोफास्फेट र कार्बामेट समूहका विषादीको मात्र जाँच गर्ने उनले बताए । नेपालको परीक्षण उपकरण र विधि थाहा पाएका भारतका किसानले फरक समूहका विषादी प्रयोग गर्न थालेको उनको अनुमान छ । ‘भारतका किसानले विषादीको मात्रा पत्ता लगाउन नेपालमा प्रयोग भएका उपकरणका बारेमा जानकारी पाउनेबित्तिकै यी दुई समूहबाहेकका अन्य विषादी प्रयोग गर्न थालेको हुनुपर्छ । अन्य विषादी प्रयोग भएकाले हाम्रो उपकरणले पत्ता लगाउन नसकेको हो,’ उनले भने, ‘हामीले कुन उपकरण प्रयोग गरिरहेका छौँ भन्ने जानकारी दिनु नै हाम्रो कमजोरी हो । जसको फल आज भोग्दै छौँ ।’

उनले भारतबाट आयात हुने तरकारीमा कार्बन–अर्गानोफास्फेट र कार्बामेट समूहबाहेकका विषादी भएको दाबी गरे । किसानले तरकारीमा अर्कै विषादी प्रयोग गरेकाले रातो र पहेँलो मात्रा नदेखिएको उनको भनाइ छ । ‘पहिले हरेक ५–१० नमुना जाँच गर्दा दुई–तीनवटामा रातो र पहेँलो संकेतको तरकारी फेला पर्दथ्यो । अहिले कुनै तरकारीमा विषादीको मात्रा फेला नपर्नुको कारण त्यहाँका किसानले फरक विषादी प्रयोग गर्न थालेका छन् भन्ने दाबीका साथ भन्न सकिन्छ,’ उनले भने, ‘नत्र पहिलेको तरकारीमा फेला पर्ने अहिलेकोमा नपर्ने कसरी हुन सक्छ ।’

पछिल्लो समय भारतबाट आयात भएका तरकारीमा विषादी फेला नपरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पनि स्वीकार गरेको छ । तीन महिनामा तीन हजार पाँच सय ३९ वटा नमुना परीक्षण गर्दा कुनैमा पनि विषादी फेला नपरेको सूचना अधिकारी अमितभूषण सुमनले बताए । उनले खाद्य प्रविधि कार्यालयले तरकारीमा विषादीको मात्रा पत्ता लगाउन प्रयोग भएको आरबिपिआर उपकरणले परीक्षण गर्दा सुन्तलामा रहेको विषादी मात्र पत्ता लगाएको बताए । ‘अहिलेसम्म तरकारीमा विषादीको मात्रा धेरै छ भने फेला परेको छैन । सुन्तलाको दुईवटा नमुना खान अयोग्य फेला परेको छ,’ उनले भने । 

उनले पनि भारतीय किसानले पहिले प्रयोग गर्दै आएको विषादीभन्दा फरक विषादी प्रयोग गर्न थालेको अनुमान लगाए । ‘हाम्रो उपकरणले पत्ता लगाउन नसक्ने विषादी प्रयोग भएको हुनुपर्छ,’ उनले भने ।

ad
ad
ad
ad