मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ८ सोमबार
  • Monday, 25 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १४ शुक्रबार १३:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन, फाइल डिजिटलाइज गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १४ शुक्रबार १३:५९:००

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका हस्तलिखित फाइलहरूलाई डिजिटलाइज गर्न निर्देशन दिएका छन्। शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्।

उनले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरूले आगामी दिनमा ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताए। यातायात कार्यालयबाट तत्काल यो काम सम्भव नभए निजी क्षेत्रलाई टेन्डर आह्वान गरेर लिखित फाइलहरू अनलाइनमा परिणत गर्नुपर्ने बताए। उनले यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाई पनि रूपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याउनुपर्ने बताए।

‘यो फाइल जुन रुपमा अस्तव्यस्त छ, यसले गर्दा केही समयपछि धेरै ठूलो समस्या आउँछ। यसलाई अब हामीले व्यवस्थित नगर्ने हो भने के हुन्छ होला हालत ? एकान्तकुनामा हिजो फाइलहरु हेर्‍याैँ, बेहाल छ। त्यो भएर यसलाई डिजिलाइजेसन गर्ने क्रममा अलि ध्यान दिनुस्। हामी त्यो विधि बनाउँदै छौँ। हाम्रो आफ्नै कार्यालयबाट त्यो अहिले सम्भव छैन। प्राइभेटलाई लिएर त्यसको व्यवस्थापन गरौँ। मन्त्रालयमा छलफल गरेर मन्त्रालयले टेन्डर गरेर प्राइभेटलाई निश्चित अवधि दिएर यसलाई व्यवस्थित गर्छौँ,’ मन्त्री दाहालले भने।

यातायात कार्यालयमा बिचौलियाहरूका कारण इमानदार कर्मचारीहरूले समेत दोष पाइरहेको भन्दै उनले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन कर्मचारीहरूलाई सचेत गराएका छन्। उनले कार्यालयमा आउने सेवाग्राहीहरूलाई व्यवस्थित तरिकाबाट काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि निर्देशन दिए। यसअघि उनले बिहीबार एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका थिए।