पाकिस्तानका विकेट किपर तथा ब्याट्सम्यान मोहम्मद रिजवान आइसिसी टी–२० क्रिकेटर अफ दी इयर २०२१ बनेका छन् । सन् २०२१ मा अन्तर्राष्ट्रिय टी–२० क्रिकेट फम्र्याटमा उत्कृष्ट प्रदर्शन गरेका रिजवानले वर्ष खेलाडीको उपाधि जित्दा इंग्ल्यान्डका विकेट किपर जोस बटलर, श्रीलंका वानिन्दु हसरंगा र अस्ट्रेलिया मिचेल मार्सलाई पछि पारेका हुन् ।
गत वर्ष रिजवानले आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । युएईमा सम्पन्न विश्वकपमा रिजवानले ६ खेलमा तीन अर्धशतकसहित सर्वाधिक दुई सय ८१ रन बटुलेका थिए । पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउँदा उनको प्रदर्शन मुख्य मानिएको थियो । सो विश्वकपमा पाकिस्तानले भारतमाथि १० विकेटको ऐतिहासिक जित निकाल्दा रिजवानले सर्वाधिक ७९ रनको योगदान दिएका थिए ।
उनले भारतविरुद्ध ५५ बलमा ६ चौका र तीन छक्का प्रहार गरेका थिए । टी–२० विश्वकपमा भारतमाथि पाकिस्तानको यो नै पहिलो जित थियो । गत वर्ष उपलब्धि हेर्दा उनले २९ अन्टर्राष्ट्रिय टी–२० खेलमा एक हजार तीन सय २६ रन बनाए । विश्व क्रिकेटमा एकै वर्ष अन्तर्राष्ट्रिय टी–२० मा हजार रन पार गर्ने उनी एक मात्र ब्याट्सम्यान हुन् । गत वर्ष उनले २६ इनिङ्समा एक शतक तथा १२ अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ७३.६६ को औसतमा ब्याटिङ गरेका थिए । यसैगरी, उनको स्ट्राइक रेट १३४.८९ रह्यो । गत वर्ष नै उनले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करिअरकै पहिलो शतकका रूपमा दक्षिण अफ्रिकाविरुद्ध लाहोरमा प्रहार गरेका थिए।
क्रिकेट मैदानमा रन बनाउनका साथै विकेट किपिङमा समेत उनको प्रदर्शन अब्बल रह्यो । रिजवानले २२ क्याच लिनुका साथै दुईपटक ब्याट्सम्यानलाई स्टम्पिङ गरेका थिए । गत वर्ष रिजवान र बाबर अजामबीचको ओपनिङ खुवै चल्यो । यी दुवैले २१ अन्तर्राष्ट्रिय टी–२० खेलमा पाँचपटक शतकीय तथा चारपटक अर्धशतकीय ओपनिङ साझेदारी गरेका थिए । दुवैले गत वर्ष ओपनिङ जोडीका रूपमा एक हजार दुई सय ४० रन बनाए । अहिले रिजवान र बाबरको ओपनिङ जोडीलाई विश्वकै नम्बर एक मानिएको छ । रिजवानले सन् २०१५ मा बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यु गरेका थिए । डेब्यु गरेको सात वर्षभित्र उनी पाकिस्तानी टोली समावेश हुने र नहुने क्रम जारी नै रह्यो ।
रिजवानले २०१५ मा आठ र २०१६ मा दुई खेलमा मात्र अवसर पाए । सन् २०१७ को सिजनभरि नै उनी टोलीबाट बाहिर नै रहे । दुई वर्षको प्रतीक्षापछि उनी सन् २०१९ मा राष्ट्रिय टोलीमा फर्किए । सन् २०२० मा न्युजिल्यान्डविरुद्ध उनले ओपनिङ जिम्मेवारी पाए । यो खेलपछि उनले पाकिस्तानी टोलीको ओपनिङमा लोभलाग्दो ब्याटिङ गर्दै आइरहेका छन् । सन् २०१५ देखि २०२० सम्म उनले एकपटक टी–२० खेलमा अर्धशतक बनाएका थिए । यसैगरी, आइसिसी एसोसिएट क्रिकेटर अफ दी इयर २०२१ को उपाधि ओमानका कप्तान जिसान मकसुदले जितेका छन् । मकसुदले १३ अन्तर्राष्ट्रिय टी–२० खेलमा तीन सय १६ रन बनाउनुको साथै २१ विकेट लिए ।