मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ माघ ९ आइतबार १७:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ बाट ६ महिनामा ११ सय बढी फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ माघ ९ आइतबार १७:२०:००

चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ मा एक हजार १६८ फरार अभियुक्त पक्राउ परेका छन्। प्रदेश १ का विभिन्न जिल्ला अदालतबाट कैद र जरिवाना सजाय पाएर पनि फरार रहेका अभियुक्तहरू चालू वर्षको साउनदेखि पुस महिनासम्ममा पक्राउ परेका हुन्।

पक्राउ परेका अभियुक्तहरूबाट प्रहरीले ६ सय ३२ वर्ष कैद भुक्तान गराउँदै कुल चार करोड २५ लाख ९० हजार जरिवाना असुल गराएको छ। आ.व २०७७/०७८ मा जम्मा चार सय ७५ फरार अभियुक्तहरू पक्राउ परेका थिए। उनीहरूबाट ५३७ वर्ष कैद सजाय असुल भएको थियो भने दुई करोड ६६ लाख ५० हजार जरिवाना असुल भएको थियो। यसैगरी आ.व २०७६/०७७ मा ५७६ फरार अभियुक्त पक्राउ परेका थिए। उनीहरूबाट २३५ वर्ष कैद सजाय भुक्तान भएको थियो भने एक करोड ५२ लाख ७० हजार रुपैयाँ जरिवाना असुल भएको थियो।

चालू वर्षको ६ महिनामा प्रदेश १ मा जम्मा तीन हजार ६२७ वटा मुद्दा दर्ता भएको छ। यो अवधिमा अघिल्लो आ.व २०७७/०७८ मा तीन हजार ३१८ वटा मुद्दा दर्ता भएको थियो।

६ महिनामा १९ करोड बढी राजस्व संकलन 
प्रदेश १ प्रहरीले चालू अर्धवार्षिक अवधिमा १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ। प्रदेश १ प्रहरीका अनुसार चालू वर्षको छ महिनामा भन्सार चोरी तस्करीमा संलग्न ४७ जना, नदीजन्य पदार्थको अवैध रूपमा दोहन गर्ने ३२ जना र काठ चोरी गर्ने ४२ जना पक्राउ परेका छन्।

प्रहरीले  ५१५ वटा नदीजन्य पदार्थ उत्खनन  र ओसारपसार गर्ने सवारीसाधन पनि नियन्त्रणमा लिएको छ। चालू वर्षको छ महिनामा  प्रदेश १ मा ट्राफिक नियम उल्लंघन गर्ने एक लाख ३१ हजार ५७६ वटा सवारीसाधनलाई कारबाहीमा परेका छन्।