जिल्लाका दुइटा हाइड्रोपावरबाट उत्पादित बिजुलीको पहिलो हकदार दैलेखका बासिन्दाहरू हुनुपर्ने स्थानीयको माग पूरा हुने भएको छ । द्वारी हाइड्रो र पदम खोला हाइड्रापावरको बिजुली सीधै नेसनल ग्रिडमा जान थालेपछि दैलेखका बासिन्दाले नियमित बिजुली आपूर्तिको समस्या भोग्दै आएका छन् । कम्पनीले गरेको ‘पावर प्रचेच एग्रिमेन्ट’मा समेत आपत्कालीन अवस्थामा आइसोलेसन मोडमा विद्युत् उत्पादन गरेर जिल्लालाई प्रदान गर्नुपर्ने प्रावधान छ ।
तर, विद्युत् कम्पनीले यसलाई बेवास्ता गर्दै आएका थिए । तर, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दैलेख आउनेबित्तिकै जनताको मागलाई सम्बोधन गर्नुपर्ने कडा अडान लिँदै नेपाल विद्युत् प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख गौरव पाण्डेको सहजीकरणमा दैलेखलाई लोडसेडिङमुक्त बनाउने अभियान सुरु भएको हो ।
हाइड्रो कम्पनीले ग्रिड लाइनमा बत्ती नआएका वेलामा आइसोलेसन मोडबाट विद्युत् उत्पादन गरेर जिल्ला सदरमुकाम दैलेखमा खपत गर्ने परीक्षण सुरु गरेको छ । गत शनिबार ११ बजेदेखि २ः३० बजेसम्म गरिएको परीक्षण सफल भएको दैलेख वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले जानकारी दिए ।
अहिले पावर हाउस निर्माण गरेको भारतीय कम्पनीबाट इन्जिनियरहरू बोलाई आइसोलेसन मोड सञ्चालन गर्ने कार्य सुरु गरिएको छ । परीक्षण प्रसारण सफल भएको कम्पनीका प्राविधिक सिभिल इन्जिनियर वसन्त चौधरीले जानकारी दिए । अब पहिलो चरण अर्थात् यही माघ १५ भित्र दैलेख सदरमुकाम लोडसेडिङमुक्त हुनेछ । आगामी चैतभित्र दुल्लु क्षेत्र र असारसम्म जिल्ला नै लोडसेडिङमुक्त बनाउने अभियान थालिएको दैलेख शाखाका प्रमुख गौरव पाण्डेले जानकारी दिए । सुर्खेतबाट बत्तीको समस्या भएर नेसनल ग्रिडमा लामो समय बत्ती नआउने खबर पाउनेबित्तिकै कम्पनीलाई खबर गरेर आइसोलेसन मोडमा विद्युत् उत्पादन गर्न भनिने उनले बताए । दैलेखमा अहिले दुई मेगावाट विद्युत् खपत भइरहेको छ ।
जिल्लाका ठूला आयोजना र जनताका गुनासा सम्बोधनमा प्रजिअको सक्रियता
जिल्लावासीसमेत रहेका दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल जिल्ला आउनेबित्तिकै प्रभावित क्षेत्रका बासिन्दाहरूले उठाएको मागका आधारमा निर्माण कम्पनीलाई पत्राचार गरेर जिल्ला लोडसेडिङमुक्त बनाउने अभियानमा जुटेका छन् । अहिले आइसोलेसन मोडबाट विद्युत् प्रवाह गर्नका लागि परीक्षण गरिएको छ, परीक्षण सफल भएको र केही दिनभित्रबाटै नियमित विद्युत् आपूर्ति हुने उनले बताए । ‘अन्य जनताका मागहरू सम्बोधन गर्ने विषयहरूमा पनि कम्पनीलाई विद्युत् प्राधिकरण वितरण शाखामार्फत काम गर्न निर्देशन दिएको छु,’ प्याकुरेलले भने, ‘लगातार विद्युत् सेवा आपूर्ति भएमा कलकारखाना, उद्योगधन्दा सञ्चालनमा सहज हुनेछ ।’ प्याकुरेल दैलेख आएलगत्तै कामै नहुने अवस्थामा रहेको मध्य पहाडी आयोजनाले तीव्रता पाएको छ ।