नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । प्रतियोगिताअन्तर्गत समूह एमा पुलिसले प्रदेश १ लाई ६ विकेटले हराउँदै शतप्रतिशत नतिजा निकालेको हो । जितसँगै पुलिस आठ अंकका साथ शीर्ष स्थानमा छ । यस समूहमा पुलिस र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् । दोस्रो स्थानमा रहेको आर्मीले चार खेलबाट पाँच अंक जोडेको छ । प्रदेश १ ले एक अंक मात्र हात पार्यो ।
यसैगरी समूह बीमा एपिएफले पनि चारै खेलमा जित निकाली आठ अंक जोडेको छ । बागमती प्रदेशले चार खेलबाट ६ अंक बनाएको छ । टियु मैदानमा पुलिस र प्रदेश १ को खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत तयार भएको छ ।
पहिलो ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय एक रन बनाएको थियो । प्रत्युत्तरमा पुलिसले १३.१ ओभरमा चार विकेटको क्षतिमा एक सय पाँच रन जोड्दै जित निकाल्यो । पुलिसको सानदार जितमा ओपनर कुशल भुर्तेलले २८ बलमा ४४ रनको योगदान दिएका थिए ।
खेलका म्यानअफ दी म्याच कुशलले समान तीन चौका र छक्का प्रहार गरे । उनले दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि ६० रनको साझेदारी गर्दै पुलिसलाई जितको नजिक पु¥याए । दीपेन्द्रसिंहले १३ बलमा तीन चौका र एक छक्का प्रहार गरी २० रन बनाए । यसैगरी अनिल साहले २४ बलमा दुई चौका र एक छक्काको सहयोगमा २६ रन बटुले । प्रदेश १ का बलरले पुलिसविरुद्ध अनुशासित बलिङ गरेका थिए । प्रदेश १ का कुनै पनि बलरले अतिरिक्त रन दिएनन् ।
यसअघिको ब्याटिङमा ओपनर मनीष थापाले मात्र अर्धशतकीय इनिङ्स खेले । उनले ५९ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५९ रनै बनाए । त्यसपछि श्रवण यादवले १० रन जोडे । प्रदेश १ का आठ ब्याट्सम्यानले दोहोरो रन नै बनाएनन् । बलिङमा आरिफ सेख, दीपेन्द्रसिंह तथा मन्जित श्रेष्ठले समान दुई विकेट हात पारे । दीपेन्द्रले आठ रन र, सेखले तीन रन खर्चेका थिए ।