बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयभित्र क्याफ्टेरिया सञ्चालनका लागि भएको ठेक्का सम्झौतामा मिलेमतो नभएको दाबी गरेको छ । अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले बुधबार विज्ञप्ति जारी गर्दै आफूले कुनै प्रभाव वा दबाब सिर्जना गरेर ठेक्का नपाएको स्पष्टीकरण दिएका छन् । नारायणहिटीदेखि पशुपतिको धर्मशाला, पोखराको रामघाटदेखि तनहुँको मानहुँकोट र पाटन दरबारसम्म उठेका प्रश्नबारे बतास अर्गनाइजेसनले सातवटा बुँदामा स्पष्टीकरण दिएको छ ।
नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिले आह्वान गरेको टेन्डर प्रक्रियामा सहभागी भएर नियमसंगत छनोट भएको बतासको दाबी छ । बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले १७ पुस ०७७ मा मासिक दुई लाख २१ हजार ६ सय १८ रुपैयाँ भाडा तिर्ने गरी ठेक्का लिएको थियो । तर, विनास्वीकृति १४ रोपनी क्षेत्रफलमा अवैध संरचना निर्माण गरेको थियो ।
बतासले पशुपति धर्मशाला भाडामा लगाउन पशुपति क्षेत्र विकास कोषले २९ चैत ०७५ मा आह्वान गरेको बोलपत्रमा रीतपूर्वक आवेदन दिएर ठेक्का पाएको जिकिर गरेको छ । त्यस्तै, पाटन दरबार क्षेत्रमा केही कवल कोठाहरू पनि कानुनअनुसार नै लिएको दाबी गरेको छ ।
photo : Prime Times HD