मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Sunday, 19 January, 2025
सहकारीको प्रांगणमा भेला भएका महिला सेयर सदस्य । तस्बिर : नयाँ पत्रिका
चिरञ्जीवी घिमिरे गजुरमुखी (इलाम)
२o८१ माघ ६ आइतबार o७:५२:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विकटमा महिलाको सहकारी, सिंगो गाउँका महिला सदस्य

Read Time : > 3 मिनेट
चिरञ्जीवी घिमिरे, गजुरमुखी (इलाम)
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार o७:५२:oo

गजुरमुखीका ३० महिलाले २१ वर्षअघि महिनाको १० रुपैयाँ बचतबाट थालेको महिला गजुरमुखी बचत तथा ऋण सहकारीको कारोबार दुई करोड पुगेको छ । यो सहकारीले बचत गर्ने र ऋण दिने काम मात्र गर्दैन, महिलामा आर्थिकसँगै सामाजिक, राजनीतिक रूपले सशक्तीकरण गर्ने काम पनि गरिरहेको छ ।

इलामको माङसेबु गाउँपालिका– १ गजुरमुखीकी कमला बुढाथोकीले ०५७ देखि सामाजिक परिचालिकाका रूपमा काम गर्दै आएकी छिन् । सामाजिक परिचालिका भएर काम गर्दा उनले महिलामाथि भएको हिंसा देखिन् । 

तत्कालीन गजुरमुखी गाउँ विकास समिति इलामको विकटमध्ये एक थियो । महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा अघि बढाउँदै एकै ठाउँमा उभ्याउने माध्यम सहकारी हुन सक्ने उनको बुझाइ रह्यो । अनि ०५७ मा ३० महिला भेला पारेर सहकारी दर्ताका लागि नागरिकतासँगै तीन सय संकलन गरिन् । र, त्यतिखेर दर्ता गरेर सञ्चालनमा ल्याएको महिला गजुरमुखी बचत तथा ऋण सहकारीले २१ वसन्त पार गरेको छ । सुरुमा ३० महिलाले महिनाको १० रुपैयाँ बचतबाट थालेको सहकारीको कारोबार दुई करोड पुगेको छ । सदस्य संख्या ६१४ पुगेका छन् ।

‘यो हाम्रो नियमित मिहिनेतको फल हो । हामी सफल हुँदै गएका छौँ,’ संस्थापक अध्यक्षसमेत रहेकी बुढाथोकीले नयाँ पत्रिकासँग भनिन्, ‘साबिक सिंगो गजुरमुखी गाविस (हाल माङसेबुङ– १) का महिला यहाँ आबद्ध छन् । कम्तीमा प्रत्येक घरबाट एकजना छन् । गाउँभरिमा करिब नौ सय महिला छन् । तीमध्ये ६१४ यो सहकारीमा आबद्ध छन् ।’ यो सहकारीका सबै सदस्य महिला मात्र हुन् ।

महिला गजुरमुखी सहकारीले अहिले बचत गर्ने र ऋण दिने काम मात्र गर्दैन । गाउँका महिलामा आर्थिकसँगै सामाजिक, राजनीतिक रूपले सशक्तीकरण गर्ने काम पनि गरिरहेको छ । ‘हाम्रो पहिलो उद्देश्य नै महिलालाई सशक्तीकरण गर्ने हो । महिलाको सशक्तीकरणका लागि हामीले महिला हिंसाविरुद्धको तालिम आयोजना गर्ने, महिला हिंसाविरुद्धमा खबरदारी गर्ने काम गरिरहेका छौँ,’ कमला भन्छिन्, ‘महिलालाई कृषि तथा पशुपालनमा पनि सहयोग गरिरहेका छौँ । बाख्रापालन, गाईपालनलगायत पशुपालनमा सहुलियतमा ऋण दिएका छौँ । जसले महिलालाई पुरुषमा निर्भर हुनेभन्दा आत्मनिर्भर हुन सिकाएको छ । आज केही गर्न थोरै पैसा पनि श्रीमान्लाई माग्नुपर्ने बाध्यता हटेको छ । यसले हामीलाई खुसी दिलाएको छ ।’ सहकारीले कफीखेती तथा बेसारखेतीलाई पनि प्रवद्र्धन गरेर विकट गाउँमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको छ । 

सहकारीको ऋणबाट आयआर्जनमा महिला
सहकारीमा अबद्ध भएपछि माङसेबुङ– १ गजुरमुखीकी विमला बराल सापकोटा खुसी छिन् । गाउँमै पशुपालन, खेती गरेर पनि उनको परिवार चलेको छ । १६ वर्षदेखि महिला गजुरमुखी सहकारीमा आबद्ध भएकी उनलाई सहकारीले पशुपालन तथा खेतीमा सहयोग गरिरहेको छ । ‘केही समयअघि सहकारीबाट पाँच हजार रुपैयाँ ऋण लिएर बाख्रा पालन गरेँ । पाँच हजारमा माउबाख्रा किनेँ । यसले २५ हजार आम्दानी भयो । हामीलाई सहकारीले आत्मनिर्भर बन्न सहयोग गरेको छ,’ उनी भन्छिन्, ‘सहकारीले अब बेसारलाई ब्रान्डिङ गर्ने लक्ष्य लिएको छ । १८ केजी बेसारको बिउ लगेको छु । एक रोपनीमा लगाएको छ । सहकारीलाई पछि नौ केजी मात्र बिउ फिर्ता दिए हुन्छ । बेसार राम्रो भयो भने झापासम्म लगेर यसको व्यापार गर्न सकिन्छ ।’ सहकारीमा बसेर उनी आत्मनिर्भर मात्र भएकी छैनन्, महिलामाथि हुने हिंसाबारे बुझेकी छिन् । त्यसको विरोध गर्न जानेकी छिन् । कतै गएर आफ्ना कुरा निर्धक्क राख्न सक्ने भएकी छिन् । ‘महिला हिंसाबारे तालिम भएको छ । यो सहकारीको राम्रो काम हो,’ उनी भन्छिन्, ‘हामीले गाउँमा बसेर अहिले पनि नियमित बचत गर्न पाएका छौँ । सबै गाउँका महिला मिलेर खोलेको सहकारी भएकाले भाग्छ कि बचत डुब्छ कि भन्ने डर पनि छैन ।’

माङसेबुङ– १ गजुरमुखीकै विष्णुमाया बुढाथोकी पनि १५ वर्षदेखि महिला गजुरमुखी सहकारीको सदस्य छिन् । उनले सुरुमा मासिक ५० रुपैयाँ बचत गर्थिन् । अहिले मासिक दुई सय रुपैयाँ बचत गर्छिन् । सहकारीकै सहयोगमा गाईपालन र बाख्रापालन गरेकी छिन् । त्यहाँबाट आएको आम्दानीले उनको घर खर्च टरेको छ । ‘सहकारीले हामीलाई आत्मनिर्भर बनाउन ठूलो काम गरेको छ । केही गर्नुपर्‍यो भने ऋण दिन्छ । जसले हामीलाई सहज बनाएको छ,’ उनी भन्छिन् । 

संस्थाले यहाँका महिलाको आर्थिक उन्नतिका लागि काम गरिहेको संस्थाकी अध्यक्ष डिकमाया लुहागुन बताउँछिन् । कृषि तथा पशुपालनमा संस्थाले गजुरमुखीका महिलालाई आत्मनिर्भर बनाउने पहिलो लक्ष्य रहेको उनी सुनाउँछिन् । ‘हामीले यहाँका महिलाको आवश्यकतालाई हेरेर लगानी गरेका छौँ । सहकारी यत्रो संकटमा पर्‍यो । तर, हाम्रो राम्ररी चलेको छ,’ उनी भन्छिन्, ‘पशुपालन, कृषि र व्यापारमा लगानी गरेका छौँ । इलाम एग्रो र माङसेबुङ गाउँपालिकाको सहकार्यमा बेसारलाई ब्रान्डिङ गर्ने अभियान सुरु गरेका छौँ । गत वर्ष हामीले १३ सय केजी बेसारको बिउ वितरण गर्‍यो । जसबाट आधा बिउ उत्पादनपछि हामीलाई किसानले दिन्छन् । त्यो बिउ अरूलाई पनि दिएर बेसारखेतीको विस्तार गर्ने योजना छ ।’ 

यद्यपि, यहाँका महिलाले उत्पादन गरेको कृषि उत्पादनको बजार भने अभाव रहेको उनले बताइन् । ‘यहाँका महिलाले उत्पादन गरेको कृषिजन्य सामग्री अहिले त दमकतिरबाट आउनले घरबाटै लैजान्छन्, तर स्थायी बजार छैन,’ उनले भनिन्, ‘बजारको व्यवस्थापनमा पनि अब हामीले काम गर्नुपर्नेछ । यसका लागि अब हामी गाउँपालिकासँग पनि सहकार्य गर्छौँ ।’ संस्थामा गाउँका करिब नौ सय महिलालाई नै सहकारीसँग जोड्ने लक्ष्य रहेको उनी बताउँछिन् । 

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले विकट गाउँ गजुरमुखीमा महिला गजुरमुखी सहकारीले उदाहरणीय काम गरेको बताए । ‘यो सहकारीले विकट गाउँको आर्थिक उन्नतिमा पनि भूमिका खेलेको छ । स्वास्थ्य शिविर, विपत्मा परेको सेयरधनीलाई सहयोग गरिरहेको छ,’ उनले भने । गाउँपालिकाले सहकार्य गरेर महिलाको सहकारीलाई बलियो बनाएर अघि बढ्ने उनले बताए । गत वर्ष पनि सहयोग गरेका छौँ । पालिकाको तर्फबाट गर्ने काम हामी गर्नेछौँ,’ अध्यक्ष राईले भने ।