१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २३ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २३ शुक्रबार o७:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गुजरात सम्मेलन स्थगित, प्रधानमन्त्री देउवा भारत नजाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २३ शुक्रबार o७:५५:oo

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोनवार्ता, प्रधानमन्त्री देउवाको भ्रमण प्रभावित भएकोबारे छलफल

भारतको गुजरातमा सोमबारदेखि आयोजना हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन कोभिड– १९को बढ्दो संक्रमणका कारण स्थगित भएको छ । गुजरात सरकारले बिहीबार सम्मेलन स्थगित गरेको घोषणा गरेसँगै प्रधानमन्त्री शेरबहादुरको भारत भ्रमण पनि तत्काललाई स्थगित भएको छ । यही परिस्थितिमाझ बिहीबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी डा. एस जयशंकरबीच टेलिफोन संवाद भएको छ ।

दुई परराष्ट्रमन्त्रीले अंग्रेजी नयाँ वर्षका उपलक्ष्यमा शुभकामना आदान–प्रदान गरेको र नयाँ वर्ष दुई देशको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूबीच प्रधानमन्त्री देउवाको भारत भ्रमण प्रभावित भएको विषयमा पनि छलफल भएको छ । ‘दुईपक्षीय भ्रमण तथा विकास परियोजनाहरूको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माणमा भएका प्रगतिका विषयमा पनि विचार आदान–प्रदान भएको छ,’ परराष्ट्रद्वारा बिहीबार जारी विज्ञप्तिमा छ । 

मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने तय गरेको थियो । गुजरात सम्मेलन सोमबारदेखि बुधबारसम्म हुने तय भएको थियो । प्रधानमन्त्री देउवाले सोमबार गुजरातमा समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तय भएको थियो । देउवाको भ्रमण औपचारिक रूपमा घोषणा नभए पनि उनी जाने प्रतिनिधिमण्डल र हवाईटिकटको व्यवस्था भइसकेको थियो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा देउवा गुजरात जाने तयारीमा थिए । भारतका छिमेकी मुलुकबाट सरकारप्रमुखको स्तरमा देउवा मात्रै आमन्त्रित थिए । भाइब्रेन्ट गुजरात सम्मेलनको सोमबार तय भएको उद्घाटन सत्रलाई देउवाले पनि सम्बोधन गर्ने तय भएको थियो । 

गुजरात सम्मेलनमा खटिएका कम्तीमा पाँचजना भारतीय उच्चपदस्थ कर्मचारीलाई कोरोना संक्रमण देखिएको र त्यसपछि गुजरात सरकारले सरोकारवालाहरूसँग छलफल गरेर बिहीबार सम्मेलन स्थगित गर्ने निर्णय लिएको इन्डियन एक्सप्रेसले जनाएको छ । मुख्यमन्त्री भूपेन्द्र पटेलले सरोकारवालाहरूसँग परिस्थितिबारे छलफल गरेपछि सम्मेलन स्थगित गरेको गुजरात सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गुजरात सरकारका प्रवक्ता जितु बघानीले उपयुक्त समयमा सम्मेलन हुने भन्दै परिस्थितिजन्य कारण स्थगित भएको बिहीबार पत्रकारहरूलाई जानकारी दिएका छन् । 

गुजरातको स्वास्थ्य तथा परिवार कल्याण विकास विभागका अतिरिक्त सचिव मनोज अग्रवाल, स्वास्थ्य आयुक्त जयप्रकाश शिभारे, वित्त विभागका प्रिन्सिपल सेक्रेटरी जेपी गुप्ता, नगरपारिकासम्बन्धी हेर्ने आयुक्त राजकुमार बेनिवाल, पर्यटनसचिव हरित शुक्लालगायतलाई कोरोना संक्रमण पुष्टि भएपछि गुजरात सरकारले उक्त निर्णय लिएको छ । मुख्यमन्त्री कार्यालय र निवासमा कोभिड– १९ को परीक्षण गरेकाहरूलाई मात्रै प्रवेश दिनसमेत राज्य सरकारले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको छ ।