१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २१ बुधबार
  • Sunday, 29 September, 2024
२o७८ पौष २१ बुधबार १५:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश २ : चिसोका कारण तीन दिनमा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २१ बुधबार १५:११:oo

सिराहामा चिसोका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर नगरपालिका– १ अर्नामाकी ६३ वर्षीया पल्टी सदा रहेकी छिन् । सदाको आज बिहान पौने ५ बजे चिसोले कठ्यांग्रिएर मृत्यु भएको वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए । 

बिहान अत्यधिक चिसो हुँदा सदाको घरमै मृत्यु भएको हो । गरिब विपन्न सदा फुसको घरमा बस्दै आएकी थिइन् । चिसोले गर्दा आमालाई असहज भएपछि छिमेकीसँग ओढ्ने मागेर ल्याएर ओढाएको भन्दै छोरा कुसे सदाले भने, ‘त्यति गर्दा पनि आमा रहनुभएन । हामी गरिब, भत्किएकोमा घरमा जेनतेन बस्दै छौँ ।’

सदाका श्रीमान् ६५ वर्षीय पोनेलाल सदाको दुई वर्षअघि पुस महिनामै चिसोकै कारण मृत्यु भएको थियो । आर्थिक रूपमा कमजोर रहेको सदा परिवार भत्किएको फुसको घरमा बस्दै आएको र चिसोका कारण न्यानो लुगाको अभाव भोग्दै आएका थिए ।

यता जिल्ला प्रशासन कार्यालय सिराहाले चिसोका कारण मृत्युको घटना पहिलो रहेको जनाएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले चिसोले मृत्यु भएको जानकारी पाएर थप जानकारी संकलन गर्न प्रहरी परिचालन गरिएको बताए । चिसोले मृत्यु भएको पुष्टि भएपछि आवश्यक सहयोग गरिने प्रजिअ कवारीले बताएका छन् ।

चिसोले प्रदेश २ मा तीनजनाको मृत्यु

शीतलहर सुरु भएसँगै प्रदेश २ का जिल्लाहरूमा कठ्यांग्रिएर मृत्यु हुनेको संख्या बढ्न थालेको छ । सप्तरीमा चिसोका कारण सोमबार बिहान महादेवा गाउँपालिका– ४ का ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो । यस्तै, चिसोका कारण धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ का ६० वर्षीया समुन्द्रीदेवी यादवको सोमबार राति मृत्यु भएको थियो ।