१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १६ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १६ शुक्रबार o७:५८:oo
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

ओमिक्रोनले ‘सुनामी’ ल्याउने डब्लुएचओको चेतावनी 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार o७:५८:oo

संक्रमण तीव्र गतिमा बढेसँगै विश्वभरको स्वास्थ्य सेवा प्रणालीमा समेत ठूलो दबाब सिर्जना भएको डब्लुएचओको भनाइ

युरोप, अमेरिका, अफ्रिका र एसियाका केही देशहरूमा कोरोना दैनिक संक्रमण बढेसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले डेल्टा र ओमिक्रोनले सुनामी आउनसक्ने चेतावनी दिएको छ । संक्रमण तीव्र गतिमा बढेसँगै विश्वभरको स्वास्थ्य सेवा प्रणालीमा समेत ठूलो दबाब सिर्जना भएको डब्लुएचओको भनाइ छ । 

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भनेका छन्, ‘ओमिक्रोन, डेल्टाजस्तै एकै समयमा धेरै प्रसारित भइरहेकोले सुनामी निम्त्याउने जोखिम बढेको छ । म धेरै चिन्तित छु ।’ ओमिक्रोन डेल्टाको तुलनामा कम जोखिमयुक्त रहेको पुष्टि भइसके पनि तीव्र संक्रामक प्रकृतिका कारण अस्पताल भर्नादर बढ्ने जोखिम उत्तिकै रहेको डब्लुएचओले जनाएको छ । ओमिक्रोनसँगै डेल्टा पनि बढ्दै जानु झन् जोखिमयुक्त भएको र यसले अर्को महामारीको लहर निम्त्याउन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । 

यो वर्षको अन्तिमसम्म विश्वको कुल जनसंख्याको करिब ४० प्रतिशतलाई खोप लगाउने लक्ष्यसमेत असफल भएको छ । डब्लुएचओले डिसेम्बरभित्र सदस्य राष्ट्रहरूमा कम्तीमा ४० प्रतिशतमा खोप पुर्‍याउने लक्ष्य लिएको थियो । तर, सदस्य एक सय ९४ राष्ट्रमध्ये ९२ देशमा अझैसम्म न्यून मात्रामा खोप प्रयोग भएको छ । नयाँ वर्ष २०२२ को सुरुवातसँगै खोप कार्यक्रमलाई तीव्र पारिने डब्लुएचओले बताएको छ । 

एकै साता ११ प्रतिशत संक्रमित बढे
डब्लुएचओको तथ्यांकअनुसार, गत साताको तुलनामा विश्वव्यापी रूपमा कोभिड संक्रमितको संख्या ११ प्रतिशतले बढेको छ । जसअनुसार २० देखि २६ डिसेम्बरसम्म करिब ४९ लाख नयाँ संक्रमित थपिएका छन् । यसमध्ये सबैभन्दा बढी संक्रमण युरोप, अमेरिका र अफ्रिकामा देखिएको छ । जुन कुल संक्रमणको युरोपमा ३ प्रतिशत, अमेरिकामा ३९ प्रतिशत र अफ्रिकामा ७ प्रतिशतले बढेको छ । यो वर्ष अक्टोबरदेखि नै संक्रमणमा क्रमिक वृद्धि हुँदै गइरहेको छ । यस्तै, विज्ञहरूले पछिल्लो केही सातादेखि बढिरहेको संक्रमणले स्वास्थ्य क्षेत्रमा पुनः दबाब सिर्जना भएकोले ‘सुनामी’को संकेत दिएको टिप्पणी गरेका छन् ।

ओमिक्रोनले टि–सेललाई उछिन्न नसक्ने 
प्रतिरक्षा प्रणालीको सेकेन्ड–लाइन अर्थात् संक्रमण नियन्त्रणका लागि मुख्य भूमिका खेल्ने टी–सेलहरूलाई ओमिक्रोन भेरियन्टले पहिचान र आक्रमण नगर्ने अध्ययनले देखाएको छ । टी–सेलले सजिलै पहिचान गर्न सक्ने भएकाले संक्रमण गम्भीर नहुने अध्ययनले देखाएको छ । ओमिक्रोनमा भएको तीव्र उत्परिवर्तनले एन्टिबडीलाई प्रभाव पार्ने अनुमान गरिएको थियो । तर, भेरियन्टले टी–सेललाई सजिलै उछिन्न नसक्ने अध्ययनहरूले देखाएको छ। 

दक्षिण अफ्रिकामा गरिएको उक्त अध्ययनले खोप लगाएकाहरूमा टी–सेल निकै प्रभावकारी देखिएको र नयाँ भेरियन्टले थप जोखिम ननिम्त्याउने आशा बढाएको जनाएको छ । तर, बुस्टर डोज लगाएका व्यक्तिहरूमा एन्टिबडी अझै प्रभावकारी देखिएको अध्ययनले देखाएको छ । बुस्टर डोज लगाएका व्यक्तिबाट ओमिक्रोन संक्रमण फैलिने दर कम देखिएकोसमेत अध्ययनहरूबाट पुष्टि भएको छ । 

दुई हजार दुई सय २५ जना ओमिक्रोन संक्रमितसहित १२ हजार संक्रमितमा गरिएको उक्त अध्ययनमा बुस्टर डोज लगाएका व्यक्तिहरूबाट अन्यमा फैलिने सम्भावना ५६ प्रतिशतले कम भएको देखाएको छ। 

भारतमा ओमिक्रोन संक्रमित ९७१ पुगे 
भारतमा ओमिक्रोन संक्रमण दर निरन्तर बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्ममा देशभर नौ सय ७१ जनामा ओमिक्रोन पुष्टि भएको छ । क्रिसमस र नयाँ वर्षको उत्सवमा बढेको चहलपहलले संक्रमण बढेको भन्दै केही सहरमा रात्रिकालीन कर्फ्यु लगाए पनि संक्रमण घटेको छैन । 

पछिल्लो दुई दिनमा ओमिक्रोन संक्रमण अत्यधिक बढेकोमा यहाँका चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । दिल्लीमा मात्र हालसम्म दुई सय ७३ जनामा ओमिक्रोन पुष्टि भइसको छ । भारतमा बिहीबार मात्रै १३ हजार एक सय ५४ जनामा कोभिड संक्रमित थपिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमित र अस्पताल भर्नादरसमेत बढी रहेको छ । हाल ७२ हजार चार सय दुईजना अस्पतालमा उपचाररत छन् । भारतमा बढ्दो संक्रमणले नेपालमा पनि जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीले जनाएका छन् । तर, नेपालमा दैनिक कोरोना संक्रमण हुनेको संख्या दुईदेखि तीन सयको बीचमा छ । भने तीनजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।