एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता १२ जना खेलाडीलाई जनही पाँच लाख दिने निर्णय गरेको हो ।
बैठकले दुईजना प्रशिक्षकलाई जनही तीन लाख र एकजना अफिसियललाई दुई लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको छ । बंगलादेशको ढाकामा बुधबार सम्पन्न महिलातर्फको फाइनलमा नेपालले उज्वेकिस्तानमाथि ३–२ को कठिन सेटमा हराउँदै उपाधि रक्षा गरेको हो ।
नेपाल उपाधि रक्षा गर्ने क्रममा अपराजित नै रह्यो । राउन्ड रोविन लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२ को सेटमा पाखा लगाएको थियो । त्यसपछि राउन्ड रोविन लिगमा नेपालले कुनै पनि सेट नगुमाई फाइनल स्थान सुरक्षित गरेको थियो । नेपाली महिला टोलीले उपाधि जित्ने क्रममा समग्रमा चार सेट मात्र गुमायो । यता, पुरुषतर्फ भने नेपाल चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भयो । उपाधि विजेता नेपाली महिला भोलि बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिद्वारा बधाई
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिला टोलीलाई बुधबार ट्विटरमार्फत बधाई दिएकी छिन् । राष्ट्रपति भण्डारीले उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाएको उल्लेख गरेकी छिन् । ‘एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रोपटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई,’ राष्ट्रपति भण्डारीको ट्विटरमा भनिएको छ, ‘साथै भविष्यमा निरन्तर सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’