१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १४ बुधबार
  • Sunday, 22 September, 2024
२o७८ पौष १४ बुधबार १६:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १४ बुधबार १६:४५:oo

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित सिमभञ्ज्याङ–दामन क्षेत्रमा मंगलबार रातिबाट निरन्तर हिमपात हुँदा देशकै जेठो त्रिभुवन राजपथ अवरुद्ध भएको छ । लामो समय बाक्लो हिमपातका कारण कालोपत्रे ढाकिएको र सडकमा जोखिम बढेपछि त्रिभुवन राजपथ अवरुद्ध भएको हो । 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टका अनुसार वर्षासँगैको हिमपातका कारण सिमभञ्ज्याङ, दामन, भीमफेदी गाउँपालिकाअन्तर्गत पर्ने गोलमोड, अघोर तथा झिरघारी क्षेत्रमा राजपथ अवरुद्ध भएको हो । राजपथ अवरुद्ध क्षेत्रमा हिमपात जारी छ । 

राजपथ भएर तराई–हेटौँडा–काठमाडौं आवतजावत गर्ने सानाठूला सवारीसाधनहरू अवरुद्धपछि छोटो मार्ग, नारायणगढ–मुग्लिन हुँदै सञ्चालन भइरहेका छन् । दामन क्षेत्रमा पर्ने करिब १५ किलोमिटर क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको नगरप्रमुख विष्टले जानकारी दिए । 

‘हिउँ बोक्लो परेकै कारण सवारी आवागमन रोकिएको हो,’ उनले भने, ‘हिउँका कारण दुर्घटना हुन सक्ने आकलन गरेर सवारी सञ्चालनमा रोक लगाइएको हो, हिमपात कमी हुनासाथ आवागमन सुचारु गरिनेछ ।’

हिमपातपछि बढे पर्यटक
हिमपात हुन थालेपछि जिल्लाको उत्तरी क्षेत्रमा पर्यटक बढेका छन् । विशेषगरी हिउँदमा हिमपातकै कारण सिमभञ्ज्याङ–दामन क्षेत्रमा हेटौँडा, काठमाडौं, चितवन, तराईका जिल्लाहरूबाट पर्यटक आउने गरेका छन् । थाहा नगरपालिका प्रमुख लवशेर विष्टले हिमपातका कारण बर्सेनि हिउँदमा पर्यटकको घुइँचो लाग्ने बताए ।

अहिले दामन, झिरघारी, अघोर, सिमभञ्ज्याङ क्षेत्रमा पर्यटक हिउँ खेल्न घुइँचो लागेका छन् । सवारी आवागमन अवरुद्ध हुँदा हेटौँडा हुँदै जाने पर्यटक अघोर, झिरघारीसम्म सवारीसाधनमा जाने र त्यहाँबाट पैदल नै सिमभञ्ज्याङसम्म पुगिरहेको नगर प्रमुख विष्टले बताए । ‘थाहा नगरका होटेललाई वर्षको एक सिजन हिमपात पनि आम्दानीको स्रोत बन्ने गरेको छ,’ विष्टले भने, ‘नगर क्षेत्रमा रहेका करिब एक सय ५० भन्दा बढी होटेल हिमपात हुँदा भरिभराउ हुने गर्दछन् ।’   

हेटौँडाका विद्यालय बन्द
चिसो बढेसँगै हेटौँडा उपमहानगरपालिका क्षेत्रका विद्यालय बुधबार बन्द गरिएको छ । हेटौँडा शिक्षा विकास महाशाखाले सूचना जारी गर्दै बुधबार विद्यालय बन्द गरेको हो । 

बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न आह्वान गरिएको सूचनामा उल्लेख छ । बिहीबार पनि मौसमको स्थितिलाई मूल्यांकन गर्दै विद्यालय खोल्ने वा बन्द गर्नेबारे सूचित गरिने उपमहानगर प्रमुख हरिबहादुर महतले बताए ।