मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १४ बुधबार
  • Thursday, 19 December, 2024
२o७८ पौष १४ बुधबार ११:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ओडारमा बस्दै आएका कुलाल मृत भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १४ बुधबार ११:१३:oo

चन्दननाथ नगरपालिका–१ कुलालवाडास्थित ओडारमा १५ वर्षदेखि बस्दै आएका ४६ वर्षीय चेते कुलाल मृत भेटिएका छन् ।  टाउकोमा गम्भीर चोट लागेर रगत बगिरहेको र ओडारभन्दा धेरै परसम्म शव घिसारिएको अवस्थामा फेला परेकाले उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

सोमबार राति नै उनको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले ओडारमा बस्दै आएका कुलालको मृत्यु घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले थप केही नखुलाइएको उनले बताए । पोस्टमार्टमका लागि उनको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

प्रहरी प्रशासन, स्थानीय सरकार सरोकारवाला निकाय उद्धारमा जुटिरहेकै वेला कुलालको रहस्यमय मृत्यु भएको स्थानीय रविन कुलालले बताए । ‘चेते कुलालको मृत्यु रहस्यमय छ । सुरक्षित बस्ने घर भएको भए यस्तो घटना हुने थिएन,’ उनले भने । घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने उनले बताए ।

जुम्लामा चिसो बढ्दै गएपछि केही संघसंस्थाले गत शुक्रबार कुलाललाई दुई बोरा चामल, सिरक, कम्बल राहत दिएका थियो । कुलालले चामल र कम्बल चोरी हुन सक्ने र आफूमाथि कसैले आक्रमण गर्न सक्ने भन्दै उद्धार गरिदिन माग गरेका थिए । उनले तत्काल आफ्ना लागि घर बनाइदिन भनेका थिए । सरोकारवालाले चाँडै बस्ने आवास घर बनाइदिने, नागरिकता उपलब्ध गराउने आश्वासन दिएका थिए ।

अपांग पुनस्र्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले आइएनएफ र जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयोगमा शुक्रबार ६० किलो चामल, एउटा सिरक, एउटा डसना र दुईवटा कम्बल राहत उपलब्ध गराएको बताए । सोमबार बिहान उपलब्ध गराएको राहतको अवस्थाबारे अनुगमन गर्न जाँदा पहिलेकै अवस्थामा रित्तो ओडार भेटिएको जानकारी दिए ।