फोटो पत्रकार क्लब (पिजे क्लब)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्बिरहरूको प्रदर्शनी पर्यटन बोर्ड पोखराको हलमा सुरु भएको छ। प्रर्दशनीको उद्घाटन पोखराका वरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्य र नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष बिमला भण्डारीले संयुक्त रूपमा गरेका छन्।
पर्यटन बोर्डको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा छानिएका १७५ मध्ये उकृष्ट ११७ फोटो प्रदर्शनीमा राखिएकाे छ। एजेन्सी फ्रान्स प्रेस (एएफपी)का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायकमण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार विकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बू, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवं क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेको निर्णायकमण्डलले विजेतासहित उत्कृष्ट १७५ फोटो छनोट गरेको थियो।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण रोकिएको प्रदर्शनी अहिले ५औँ पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलसँगको सहकार्यमा गरिएको हो। प्रदर्शनी पुस १३ गते मंगलबारदेखि १६ गते शुक्रबारसम्म ४ दिन चल्नेछ।