बझाङ जिल्लाबाट धनगढी आउँदै गरेको जिपबाट प्रहरीले १६ किलो लागुऔषध चरेस बरामद गरेको छ। से.१ज ७१८ नम्बरको जिप चेकजाँच गर्ने क्रममा प्रहरीले चरेससहित दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिका– ५ मा सोमबार राति ११ बजेतिर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह र अस्थायी प्रहरी पोस्ट खानीडाँडाको संयुक्त टोलीले जिप चेकजाँच गरेको थियो। सो क्रममा जिपको सिटमुनि लुकाएर राखेको अवस्थामा उक्त चरेस फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका जिपचालक बझाङको बुंगल नगरपालिका– ११, देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमिलाल बोहरामाथि थप कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।