चितवनको भरतपुरमा रासायनिक मल वितरण सहज होस् भन्ने उद्देश्यले सहकारी खोलिए पनि किसानले अझै सास्ती पाइरहेका छन्। भरतपुर–१३ चम्पानगरमा १५ बोरा युरीया र १५ बोरा डिएपी मल लिन दुई सय बढी किसान लाइनमा लागेका छन्।
यसै वर्ष दर्ता गरेर चम्पानगरमा संचालनमा ल्याइएको पाखुरीचोक कृषि सहकारी संस्थामा दुई सय बढी किसान मल लिन आएपनि ७५ जनालाई मात्र मल दिन सकिएको सहकारीका अध्यक्ष प्रकाश न्यौपानेले बताए। महानगरले दर्ताको दुई वर्ष नपुगेसम्म मल वितरणको लागि सिफारिस दिन नमिल्ने बताएपछि छिमेकी सहकारीको नामबाट ल्याएको मल वितरण गरिएको हो। ३४३ सेयर सदस्य रहेको यो सहकारीले यसरी तेस्रो पटक मल वितरण गरेको सहकारीका सचिव बलराम अर्यालले जानकारी दिए। अर्यालका अनुसार पहिलो र दोस्रो चरणमा मल लगेका किसानलाई ५ केजी र पहिलो पटक मल लाने किसानलाई १० केजीको दरमा वितरण गरिएको थियो।
भरतपुरको १३ नं वडा धान, गहुँ, राजमा र तोरी खेतीका लागि प्रख्यात छ। तर, मल नपाएपछि किसानले सास्ती पाइरहेका छन्। उनीहरुले अब कहिले मल पाउँछन् भन्ने कुनै टुंगो छैन। जिल्लाका मल वितरण गर्ने संस्थाका गोदाम खाली भएका छन् भने पैसा तिर्दा पनि मल नपाउँदा किसान आक्रोशित बनेका छन्।