स्वदेशी लगानीमा निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको टेस्ट अडिट टनेलको काम पुस मसान्तसम्मम सम्पन्न हुने आयोजनाले जनाएको छ। आयोजनाले विद्युत उत्पादन गृह इलमा थप भौगर्भिक अध्ययन कार्यका लागि निर्माण गरिरहेको टेस्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको बताएको छ। कुल ४०० मिटर लम्बाइ रहेको नुमना परीइक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएकोे छ।
जाजरकोट–डोल्पा (भेरी करिडोर) सडकखण्डअन्तरर्गत जोडिएको त्रिवेणीदेखि जगदुल्ला गाउँपालिका–१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडकखण्डलाई ६ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए।
आयोजना निर्माणस्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआव्जासमेत वितरण भइसकेको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कामसमेत सम्पन्न भएको छ। आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको निमित्त कार्यकारी प्रमुख सापकोटाले बताए।
आयोजनाको वातावरणीय अध्ययन कार्यको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरी त्यसको सार्वजनिक सुनुवाइ बाँधस्थल (जगदुल्ला गाउपलिका–४ माझगाउ), सुक्खा तटीय क्षेत्र (मुड्केचुला गाउँपालिका–६ नर्कु) र विद्युत गृहस्थल (मुड्केचुला गाउँपालिका–४ इल)मा पौष २, ४ र ६ गते सार्वजानिक सुनुवाइ गरिसकेको छ। आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन माघ महिनाभित्र पेस गरी चैत महिनाभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।
आयोजनाको विद्युत उत्पादन गृह इलमा अहिले टेस्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापनका लागि दुईवटा भवन निर्माण गरिएका छन। विद्युत खरिद–बिक्री तथा सम्झौताको कामका लागि आवश्यक सहकार्य जारी रहेका छ बताइएको छ। वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले जनाएको छ।
आयोजनास्थलसम्म जान र आउनका लागि इलस्थित नील दहमा आयोजना आफैँले पुल निर्माण गर्नेछ। जाजरकोट–डोल्पा सडकखण्डको त्रिवेणीबाट इलसम्मको ११ मिलोमिटर र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आह्वान गरेर अघिल्लो वर्षदेखि काम गर्ने भनिए पनि ठेकेदारको ढिलासुस्तीले बल्ल सुरु गर्न लागिएको छ।
वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडि बढाई आउँदो आवदेखि निर्माण कार्य सुरु गर्ने आयोजनाको दाबी छ। अहिले मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनाेटको बोलपत्रसम्बन्धी कागजात तयार गरिरहेको र निकट भविष्यमा बोलपत्र आह्वान गर्ने निमित्त कार्यकारी प्रमुख सापकोटाले जानकारी दिए। विद्युत खरिद–बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसमक्ष प्रतिवेदन पेस गर्नुका साथै स्वीकृत गरेर खरिद–बिक्रीको सम्झौतासमेत तीन महिनाभित्र गरिसक्ने लक्ष्य रहेको जनाएको छ।