नेपाली कांग्रेसले १४औँ महाधिवेशनपछि निर्वाचित कार्यसमितिको पहिलो बैठक पुस १० मा राख्ने तयारी गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार मतगणनाको अन्तिम परिणाम आएलगत्तै पहिलो बैठक बोलाउने तयारी गरिएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव प्रदीप पराजुलीले १० गते शनिबारका लागि केन्द्रीय कार्यसमितिको बैठकको तयारी थालिएको नयाँ पत्रिकालाई जानकारी दिए। ‘औपचारिक रूपमा आह्वान भइसकेको छैन। तर, १० गते बैठक राख्ने तयारी भइरहेको छ,’ सचिव पराजुलीले भने ।
कांग्रेसले बाँकी केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम बिहीबार सार्वजनिक गर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आदिवासी–जनजाति र खस–आर्यतर्फको मतगणना जारी छ।