Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल तस्बिर : नयाँ पत्रिका
अर्जुन अधिकारी काठमाडाैं
२०७८ पौष ७ बुधबार ०६:४८:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

सिरिन्ज अभावले  कोरोनाविरुद्धको खोप अभियान रोकिने खतरा

Read Time : > 1 मिनेट
२०७८ पौष ७ बुधबार ०६:४८:००

केन्द्रीय भण्डार रित्तियो, प्रदेशहरूमा १६ लाखजति छ, एक साताभित्र थप सिरिन्ज नआए खोप अभियान नै रोकिने 

सिरिन्ज अभावले कोरोनाविरुद्धको खोप अभियान नै प्रभावित हुने खतरा बढेको छ । एक साताभित्र सिरिन्ज आपूर्ति नभए खोप अभियान रोकिने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

स्वास्थ्य सेवा विभाग खोप शाखाका एक अधिकारीका अनुसार हाल देशभर करिब १६ लाखजति मात्रै सिरिन्ज बाँकी छ । दैनिक दुई लाख डोज खोप लगाइएकाले यो सिरिन्जले एक साताभन्दा बढी नपुग्ने र यसबीचमा सिरिन्ज आपूर्ति नभए खोप अभियान रोकिने उनले बताए । 

‘चार–पाँच दिनअघि केन्द्रीय भण्डार रित्तो पारेर ५० लाख सिरिन्ज प्रदेशहरूमा पठाइएको छ । दैनिक दुई लाख डोज खोप खपत भइरहेकाले अब १६ लाखजति बाँकी होला । यसले पुग्ने भनेको एक सातासम्म हो,’ उनले भने, ‘अहिलेसम्म त अभाव छैन, तर एक साताभित्र नयाँ सिरिन्ज ल्याउन सकिएन भने खोप अभियान रोकिन्छ ।’ 

हाल देशभर एक करोड २२ लाख ४० हजार डोज खोप मौज्दात छ । तर, यो खोप तीव्र रूपमा लगाउन पर्याप्त सिरिन्ज छैन । खोप अभियान प्रभावित हुन नदिन सरकारले एक एमएलको इन्सुलिन सिरिन्ज (आवश्यकताभन्दा निकै ठूलो)समेत वितरण गरेको छ । स्वास्थ्य मन्त्रालय भने सिरिन्ज अभावबारे केही बोलेको छैन । स्वास्थ्य सेवा विभागकै आपूर्ति व्यवस्था शाखा प्रमुख डा. सुरेन्द्रप्रसाद चौरसिया अहिले सिरिन्जका कारणले खोप अभियान प्रभावित नभएको बताउँछन् । केही दिनअघि मात्रै खोप केन्द्रहरूमा पर्याप्त सिरिन्ज पठाइएको उनले बताए । थप खोप आउने प्रक्रियामा रहेको उनको भनाइ छ ।

नेपालमा मात्रै होइन, विश्वका अन्य देशहरूमा पनि सिरिन्ज अभाव छ । विश्वमै खोप अभियान तीव्र रहेको, तर सिरिन्ज उत्पादन भने नबढेकाले अभाव हुन थालेको हो । केटाकेटी र ठूला व्यक्तिका लागि खोप लगाउने सिरिन्ज फरक–फरक हुन्छ । दुवै प्रकारका सिरिन्जको अहिले अभाव छ । नेपालमा दातृ निकायहरूले नै सिरिन्ज उपलब्ध गराउँदै आएका छन् ।

तर, अहिले खोपसम्बन्धी विश्वव्यापी सञ्जाल (गाभी)ले समेत खोप उपलब्ध गराउन सकेको छैन । फाइजरको खोपमा छुट्टै सिरिन्ज खोपसँगै आउने गरे पनि अन्य खोपका हकमा सिरिन्ज खरिद बेग्लै हुने गरेको छ । नेपालमा प्रायः भारतीय बजारबाट सिरिन्ज आउने गरेको छ ।