काठमाडौंको कलंकीमा बसको ठक्करबाट स्कुटरमा सवार दुईजनाको मृत्यु भएको घटनामा एक महिनासम्म पनि चालक पक्राउ परेका छैनन् । बस समितिका पदाधिकारीहरूसमेत फरार हुँदा पीडितपक्ष अन्योलमा परेको छ।
गत ३० कात्तिकमा बसको ठक्करबाट स्कुटरचालक धादिङका रामबहादुर आचार्य र पछाडि सवार बाँकेका यादवकुमार शाहको मृत्यु भएको थियो। बसचालकको चरम लापरबाहीका कारण सो दुर्घटना भएको थियो। बल्खुबाट कलंकीतर्फ गइरहेको प्रदेश ३ ०१ ००५ ख ९३०० नम्बरको बसले बल्खुतर्फ जाँदै गरेको प्रदेश ३ ०३ ०१४ ७४६३ नम्बरको स्कुटरलाई विपरीत लेनमा गएर ठक्कर दिएको थियो। स्कुटरचालक आचार्य पठाओचालक हुन्।
घटनापछि सो बसका चालक सुमन कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। तर, त्यसवेला उनले नभई सहायक चालकले बस चलाएको खुलेपछि उनी छुटिसकेका छन्। दुर्घटना गराउने चालक हिक्मत कार्कीलाई प्रहरीले फेला पार्न सकेको छैन।
दुर्घटनामा संलग्न सो बस आमजनता यातायात समितिको हो। सुरुमा समितिका पदाधिकारीले राहत उपलब्ध गराउने आश्वासन दिएकोमा उनीहरूसमेत हाल फरार भएका छन्। दोषी चालक पनि पक्राउ नपर्ने र यातायात समितिका पदाधिकारीसमेत फरार भएपछि पीडितपक्षले न त न्याय पाएका छन् न त राहत नै।
घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अनिल घिमिरेले दोषी खोज्ने काम भइरहेको बताए। ‘यातायात समितिका पदाधिकारीलाई पनि खोज्ने काम भइरहेको छ,’ उनले भने। दुर्घटना गराउने चालकको पनि खोजी भइरहेको उनको भनाइ छ।
दुर्घटनामा ज्यान गुमाएका रामबहादुरका आफन्त भीमसेन अधिकारीले यातायात समितिका व्यक्तिहरूसमेत फरार भएपछि आफूहरू समस्यामा परेको बताए। ‘एकातर्फ दोषीलाई कारबाही नहुँदा हामीले न्याय पाउन सकेनौँ,’ उनले भने,‘यातायात समितिका व्यक्तिसमेत एक महिनासम्म सम्पर्कमा नआउँदा झन् पीडा थपिएको छ।’