मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २५ शनिबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर २५ शनिबार o८:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्ड-नेपालको प्रस्ताव : कांग्रेससँग सहकार्य, ओलीको चाहना: एकल प्रतिस्पर्धा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २५ शनिबार o८:o४:oo

कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा कम्युनिस्ट पार्टीका नेताहरूले यसअघिको तुलनामा छोटा मन्तव्य राखे पनि आफ्ना नीतिगत मतभेद र दाउपेच भने छरपष्ट पारे । प्रचण्ड र नेपालले कांग्रेससँग गठबन्धन र सहकार्य गर्दा ठूलो उपलब्धि हुने भन्दै चुनावसम्म सँगै जानुपर्ने प्रस्ताव राखे । 

‘कहिलेकाहीँ साथीहरू एक्लै हिँड्ने कुरा गर्नुहुन्छ, हामी एक्लै हिँड्ने अहंकार कसैले नगरौँ, मिलेरै हिँड्ने हो । हामीले राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र पनि एकता खोजिराख्नैपर्ने हुन्छ । अहिले जे सफलता भनेका छौँ, गठबन्धनबाट प्राप्त भएको सफलता हो । ०४६ को सफलता, ०६२ को सफलता, शान्ति सम्झौताको सफलता सबै दलहरूबीचको एकताको परिणााम हो,’ प्रचण्डले भने, ‘त्यसकारण एक्लै हिँड्ने अहंकार देखाउँदा जसले अहंकार गर्‍यो, त्यसको ओरालो यात्रा सुरु भयो भन्ने राजनीतिक इतिहासले देखाएको छ ।’ उनले देशलाई एकताबद्ध गर्ने, गठबन्धनलाई मजबुत बनाउने कुरामा महाधिवेशनबाट नीति र नेतृत्वको फैसला गर्न सुझाए । 

तर, ओलीले भने कांग्रेस अरूको दाउपेचको सिकार हुन सक्ने चेतावनी दिए । उनले चुनावी प्रतिस्पर्धाबाहेक राष्ट्रियता र लोकतन्त्रको मुद्दामा एमाले पनि सँगसँगै हुने भन्दै साना पार्टीको स्वार्थको रोटी सेकाउने झिनामसिना कुरामा नअल्झिन कांग्रेसलाई सुझाए । 

‘केही साना दलहरूलाई कांग्रेसले औँला समाउन दिएन भने के होला भन्ने पिर छ । सधैँ सुन्छु, सँगै जानुपर्छ, सँगै जानुपर्छ । सँगै जाने भनेको सरकारमा मात्र हो कि, देश बनाउन हो ?’ ओलीले भने, ‘देश बनाउन सँगै जाने कुरामा नेकपा एमाले कांग्रेसको साथमै छ, हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । प्रतिपक्ष भनेको के संसद्को अंग होइन ? लोकतन्त्रको सवालमा के साथमा छैनौँ ? हामी सँगै लडेका छैनौँ ? त्यसकारण सरकारबाट हट्न पर्ला कि भन्ने कतिपयलाई चिन्ता होला । नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन ।’ 

ओलीले कांग्रेसलाई अरूको नीतिका पछि कुद्नभन्दा पनि देशकै नेता बन्ने गरी अगाडि बढ्न सुझाव दिए । ‘हामी राष्ट्र निर्माणका क्रममा एकजुट भएर अगाडि बढ्नुपर्छ । नेपाली कांग्रेस सबैलाई साथ लिएर चलोस्, तर कांग्रेस अरूका नीतिका पछाडि होइन, आफ्नो नीतिमा अरूलाई पनि हिँडाओस् । यस महाधिवेशनले नेपाली कांग्रेस, शेरबहादुर देउवा प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुस् भन्ने मेरो शुभकामना छ,’ ओलीले भने ।

अध्यक्ष नेपालले गणतन्त्र प्रमुख दलहरू मिलेर ल्याएको भन्दै गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । तर, त्यसका लागि लोकतान्त्रिक चरित्र हुनुपर्ने भन्दै घुमाउरो तरिकाले ओलीलाई व्यंग्य गरे । 

‘राजनीतिमा धेरै विकृति छन्, पार्टीभित्र, राज्यसत्ताभित्र । ती विकृतिहरूलाई हामीले पन्छाउनुपर्छ । विकृतिका बाहकहरूले फैलाइरहने, हामी टुलुटुलु हेरिरहने स्वीकार्य हुन सक्दैन । मैमत्ता गर्ने विकृतिबाट, लोकतन्त्रको मूल्यमान्यतालाई कुल्चिने प्रवृत्तिबाट अरूको सम्मान नगर्ने प्रवृत्तिबाट, मर्यादा नराख्ने प्रवृत्तिबाट त्यस हुनाले साँचो अर्थमा लोकतन्त्र चाहन्छौँ भने लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् गर्नुपर्छ,’ नेपालले भने । नेपालको सम्बोधन सुनेर ओली भने पटक–पटक मुसुमुसु हाँसेका थिए ।