जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूसहित पुरानो पुस्ताले पुरानो संरचना भत्काउनका लागि योगदान गरे पनि नयाँ ढंगले अगाडि बढ्न नयाँ पुस्ता अगाडि बढ्नुपर्ने बताएका छन् । शुक्रबार पोखरामा मुक्तनाथ कृषि कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय एवं कृषि उद्यमी परिचयपत्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नयाँ परिस्थितिको मूल्यांकन गर्न नसक्नेले अहिलेको विज्ञान र डिजिटल प्रविधिलाई आत्मसात गर्न नसक्ने बताए ।
सात सालदेखि ४६ साल र पछिल्लो लोकतान्त्रिक आन्दोलनसम्म पुरानो पुस्ताले पुरानो संरचना भत्काउन र व्यवस्था भत्काउन योगदान गरे पनि आब त्यसैको ब्याज खाइरहने कुरा सोच्नु गलत रहेको उनको टिप्पणी छ । ‘पुरानो संरचना भत्काउन र व्यवस्था भत्काउन योगदान गरेकै हो । तर, पुरानो भत्काउनु र नयाँ बनाउनु अलग कुरा हो ।
अहिले हाम्रो समस्या भनेको नयाँ कसरी बनाउने हामीले ? त्यो पुगिरहेको छैन । हिजो भत्काउन प्राप्त गरेको श्रेष्ठता र ज्ञानमा नै हामीले अहंकार गरेर आजीवन कुर्सीमा बस्ने सोच हामीले राख्ने। अनि नयाँ पुस्ताले पनि त्यसलाई खासै करेक्सन गर्न नसक्ने। पुरानै वरिपरि रहेर पद हासिल गर्ने चिन्तन जुन अहिले देखा परिरहेको छ । देश त्यो संकटमा अहिले परेको छ। हाम्रा विज्ञ भनिनेहरू पनि विज्ञताको सदुपयोग गर्नुभन्दा पनि राजनीतिक दलको नजिक रहेर नियुक्तिको आशा गर्ने हुँदा समस्या आयो,’ उनले भने ।
उनले अब आफूसहित पुरानो पुस्ताले सोच्नुपर्ने वेला आएको बताएका छन्। ‘अब मसहित पुरानो पुस्ताले सोच्नुपर्छ। नयाँ परिस्थिति र प्रविधिसँग अगाडि बढ्न पनि नसक्ने र नसकेको कुरा आत्मबोध पनि नगर्ने अनि कुर्सीमा टाँसिइरहने कुराले निर्माण हुँदैन। प्रगति हुँदैन । कम्तीमा मलाई यो बोध छ कि अब मलगायत पुरानो पुस्ताले कम्तीमा यो कुरालाई सोच्नुपर्छ,’ उनले भने ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले अहिले पनि देशको अर्थतन्त्रको प्रमुख आधार कृषि नै रहेको बताए । तर, अर्थतन्त्रको आधार भने पनि ठूलो मात्रामा आधारभूत आवश्यकताको खाद्यान्न, तरकारी र फलफूल आयात हुने अवस्थालाई बिर्सन नहुने उनको भनाइ थियो । छिमेकी देश भारत र चीनमा सरकारको तर्फबाट विभिन्न सहुलियत किसानले प्राप्त गरेको, आधुनिक प्रविधिको प्रयोग गरेको र ठूलो मात्रामा खेती हुने हुँदा उनीहरूसँग प्रतिस्पर्धा गर्न नेपाली किसानलाई कठिन हुने उनले बताए ।
देशको राष्ट्रियता ढुंगो र माटा मात्र नभई आर्थिक रूपमा आत्मनिर्भर हुनु पनि रहेको उनले बताएका छन् । आर्थिक रूपमा कमजाेर अनि आयातमुखी अर्थतन्त्रले स्वाधीनताको रक्षा गर्न नसक्ने उनले उल्लेख गरे। ‘राष्ट्रियता भनेको फगत ढुंगा र माटोको मात्र होइन, भूगोलको मात्र होइन । नांगा ढुंगामाटाका डाँडाहरू मात्र होस् । त्यहाँ अलिकति नक्सा थोरै बदलेर देखार्यौं भने गजक्क पर्छौँ । तर हाम्रो अर्थतन्त्र यति परनिर्भर छ। सुघौली सन्धियता स्टक्चरले नै उनीहरूको औधीकरण भएर गयो । अंग्रेजको पालादेखि हामी परनिर्भर र ग्रामीणस्तरका उद्योग धन्दाहरू थिए । प्रतिस्पर्धा गर्न नसकेर ती उद्योगहरू धराशयी हुँदै गए।’ उनले भने, ‘६० प्रतिशतभन्दा माथि किसान रहेको मुलुक कसले प्रगति गरेको छ ? त्यसलाई कम्तीमा १५/२० प्रतिशतमा झार्नुपर्छ । विकसित मुलुकमा ५/७ प्रतिशत मात्र कृषिमा लागेका हुन्छन्।’