महोत्तरीको सदरमुकाम जलेश्वरमा ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइएको छ। 'विधिको शासन कायम गरौँ : मानव अधिकारको सम्मान गरौँ' भन्ने मूल नाराका साथ महोत्तरी कार्यक्षेत्र भई मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंगठनले प्रभातफेरी निकाली दिवस मनाएका हुन्।
जलेश्वरको बुद्धिजीवी चोकदेखि जलेश्वरनाथ महादेव मन्दिरसम्म निकालिएको प्रभातफेरीमा इन्सेक, थर्ड एलायन्स, मानवअधिकार संरक्षण केन्द्र, ओरेक नेपाल, टिपिओ नेपाल, वाइएनपिडी, फ्रिडम फर अल नेपाल, प्रयास, समाज विकास केन्द्र, जिल्ला महिला सञ्जाल, महिला मानवअधिकार रक्षक सञ्जाल र युथ एड्भोकेसी नेपाललगायतका संघसंस्थाका प्रमुख एवं प्रतिनिधिले सहभागिता जनाएका थिए।
प्रभातफेरीपश्चात भएको कोणसभामा बोल्दै मानवअधिकारवादीहरूले महोत्तरीमा मानवअधिकार हननका घटनाहरूका साथै बोक्सी आरोपमा प्रताडित गर्ने, अभक्ष खुवाउने तथा महिलामाथि विभिन्न प्रकारका हिंसाका घटनाहरू बढिरहेकोमा सरोकारवाला निकायहरू यसप्रति गम्भीर हुनुपर्ने बताए।