मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १९ आइतबार
  • Thursday, 19 December, 2024
२o७८ मङ्सिर १९ आइतबार १८:१o:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काष्ठमण्डपमा पाँचौँ शताब्दीको दुर्लभ काठ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १९ आइतबार १८:१o:oo

उपत्यकाको परिचायकका रूपमा रहेको काष्ठमण्डप सत्तलमा प्रयोग भएको एउटा काठको इतिहास सुन्दा जोकोहीलाई अचम्म लाग्छ। यति पुरानो काठ अहिलेसम्म कसरी टिक्ला? यस्तै प्रश्न धेरैको मनमा उब्जिएला। तर काष्ठमण्डपमा प्रयोग भएको एउटा काठको सत्य इतिहास हो। निकै पुरानो काठ वसन्तपुरस्थित ऐतिहासिक सम्पदा काष्ठमण्डपमा प्रयोग भएको छ। जानकारहरूका अनुसार यो काठ पाँचौँ शताब्दीको हो। 

इतिहासको हिसाबले पुरानो मानिएको उक्त काठ काष्ठमण्डपको मुख्य थामको मेठका रूपमा राखिएको छ। यो काठ कुन प्रजातिको रुखको हो भन्नेबारे कसैलाई थाहा छैन। २०७२ सालको भूकम्पले काष्ठमण्डप भत्किएपछि पुरातत्व विभागले यो काठको संरक्षण गरेको थियो। 

२०७५ कात्तिक २२ गतेदेखि पुनर्निर्माण सुरु गरिएपछि उक्त काठ काष्ठमण्डप पुनर्निर्माण समितिलाई विभागले दिएको थियो। सो काठ अति नै बहुमूल्य ठानेर परीक्षण गर्न इंग्ल्यान्डको एक विश्व विद्यालयको ल्याबमा लगिएको थियो, तर निकै पुरानो काठ भएकोले उक्त ल्याबले काठ ठम्याउन सकेन। सयौँ वर्ष पुरानो काठबारे अध्ययन अनुसन्धान गर्दा उक्त काठ काष्ठमण्डप पहिलोपटक बनाउँदाभन्दा अघिको हुन सक्ने काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले जानकारी दिए। उनका अनुसार निकै पुरानो काष्ठ भएकोले त्यसलाई पहिलो तलाको मूलथामको माथिपट्टि सपोर्टर (मेठ) का रूपमा प्रयोग गरिएको छ। यति पुरानो काठ अरू ठाउँमा नपुगेर प्रयोग भएको छैन। ‘ठ्याक्कै यही समयको काठ हो भनेर वैज्ञानिक आधार त छैन, तर हामीले सक्दो अध्ययन अनुसन्धान गर्दा यो काठ पाँचौँ शताब्दीकै हो भन्ठानेका छौँ, यति धेरै बलियो र गाबियुक्त काठ पछिल्लो समय कहीँ पाइँदैन,’ उनले भने, ‘यसबाहेक एउटा थाम १ हजार वर्ष पुरानो काठबाट बनेको छ।’ 

उनका अनुसार काष्ठमण्डपमा प्रयोग भएको मूलथाम एक हजार वर्ष पुरानो काठको हो। निकै बलियो भएकोले थामको रूपमा उक्त काठ प्रयोग गरिएको छ। हालसम्मको पुनर्निर्माण कार्यमा ११ करोड ४२ लाख ६८ हजार बजेट खर्च भएको छ भने ९८ प्रतिशत काम सकिएको छ। मंसिर महिनाभरि यसको पुनर्निर्माण सकिनेछ। हाल भुइँमा इँटा छाप्ने काम सकिएर सम्म पार्ने काम भइरहेको छ। पुनर्निर्माणपछि सर्वसाधारणको लागि यो सत्तल खुला हुनेछ।
सातौँ शताब्दीमा वसन्तपुरका लिलाबज्र बज्राचार्यले यो सम्पदा निर्माण गरेका थिए। शाक्यका अनुसार यो सम्पदा बन्ने क्रममा नेपालले तीब्बत र भारतसँग व्यापार गर्दथ्यो। नेपालमा यति महत्वपूर्ण सम्पदा निर्माण हुँदा अन्य मुलुकहरू निकै पछि थिए। तर, ऐतिहासिक क्षेत्रका हिसाबले नेपाल इतिहासमै अब्बल रहे पनि अन्य हिसाबले पछि परेको शाक्यको बुझाइ छ। 

 

काष्ठमण्डपमा प्रयोग हुने काठ जहाँतहीबाट ल्याइन्न
शाक्यका अनुसार काष्ठमण्डपमा प्रयोग हुने निर्माण सामग्री जहाँतहीबाट ल्याइन्न। सीमित ठाउँको माटो, काठ, र ढुंगा प्रयोग गरिन्छ। यसमा प्रयोग भएका इँटा ललितपुरको दक्षिण बाराहीबाट ल्याइएको थियो। त्यस्तै, यसको भित्ता र छानोमा झिँगटी छाप्नको लागि प्रयोग गरिएको माटो, नयाँ धरहराको जग, बल्खु, कालीमाटी, बालाजु क्षेत्रबाट ल्याइएको थियो। 

चार कुनामा गणेश र बीचमा गोरखनाथको मूर्ति
काष्ठमण्डपको चार कुनामा गणेशका मूर्तिहरू राखिएको छ। बीच भागमा गोरखनाथको मूर्ति छ। त्यस्तै, काष्ठमण्डपमा प्रयोग भएका काठमा कुनै रंग लगाइन्न। मोटो काठमा तेल लगाइन्छ। एक काठबाट अर्को काठको जोडनमा तामाको पातो बाधिन्छ। तामाबाट निस्कने ग्यास तथा निलो आकारको केमिकलले काठमा धमिरो लाग्न दिँदैन भन्ने विश्वास छ।

पर्सा र महोत्तरीबाट ल्याइयो काठ
काष्ठमण्डप पुनर्निर्माणमा करिब २ हजारवटा सालका रुखको काठ प्रयोग भएको छ। महोत्तरीस्थित चार सय केवी प्रसारण लाइन विस्तार र पर्सास्थित पेट्रोलियम पाइप लाइन विस्तारका क्रममा काटिएका सालका काठ ल्याइएको थियो। काष्ठमण्डप पुनर्निर्माणमा करिब १२ हजार क्युफिट काठ प्रयोग भएको छ। यसमा प्रयोग भएका ढुंगा काभ्रेपलाञ्चोकबाट ल्याइएको थियो।

उबेला एउटै रुखबाट बन्यो, अहिले सयौँ रुख
काष्ठमण्डप सातौँ शताब्दीका कल्पवृक्षको एउटै रुखबाट बनेको विश्वास गरिन्छ। सयौँ वर्षअघि बनेको यो सत्तल (पाटी) प्राकृतिक विपत्ती तथा जीर्ण भएर भत्किने क्रममा कल्पवृक्षको काठ मासिँदै गएको हुन सक्ने अनुमान गरिएको छ। समयक्रमसँगै कल्पवृक्ष काठ हराउँदै गएको र त्यसको साटो अन्य काठको प्रयोग भएको समितिका संयोजक शाक्यले बताए। 
 

एक हजार वर्षअघि पनि ढलेको अनुमान
२०७२ सालको भूकम्पमा लडेको यो सम्पदा त्यसअघि करिब एक हजार वर्षअघिको भूकम्पमा लडेको हुन सक्ने अनुमान गरिएको छ। यसमा प्रयोग भएका केही थामहरू एक हजार वर्ष पुराना काठका छन्। जसका आधारमा त्यतिवेला पनि भूकम्प वा प्राकृतिक प्रकोपबाट भत्किएको अनुमान गरिएको हो। ‘पुनर्निर्माण गर्दा पनि हामीले सातौँ शताब्दीकै झल्को आउने गरी पुनर्निर्माण गरेका छौँ,’ शाक्यले भने, ‘यसमा कुनै पनि आधुनिक प्रविधि र मेसिनको प्रयोग भएको छैन, नितान्त काष्ठकला र सिकर्मीहरूले बनाएका छन्।’ उनका अनुसार पुराना धेरै काठहरू पनि पुनर्निर्माणको क्रममा प्रयोग गरिएको छ। ल्याबमा परीक्षण गरी काष्ठमण्डपमै प्रयोग भएको पुराना काठ प्रयोग गरिएको हो। यसमा प्रयोग भएका पुराना काठको आधारमा करिब १ हजार वर्षअघि भत्किएको अनुमान गरिएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिए। उनले आफूले धेरै वर्ष पहिले गरेको अध्ययनमा पनि काष्ठमण्डप एक हजार वर्षअघि भत्किएको जनाउने आधारहरू भेटिएको बताए। ‘बुट्टेदार काठले बनेको यो सम्पदा निकै फरक छ, यो एउटा सत्तल हो, तर संसारमै नपाइने किसिमको छ,’ उनले भने, ‘यसको इतिहास सधैं जीवित राख्नुपर्छ।’ 

सत्तलबाटै विदेशी राष्ट्रप्रमुखलाई महानगरको साँचो हस्तान्तरण
विदेशी राष्ट्रप्रमुख आएको वेला यही सत्तलमा उभिएर राष्ट्रप्रमुखलाई महानगरका मेयरले महानगरको चाबी हस्तान्तरण गर्ने परम्परा छ। यसअघि केशव स्थापित र कमल चित्रकारले काष्ठमण्डपको चाबी दिने परम्परा बसालेको समितिका संयोजक शाक्यले बताए। 

‘काष्ठमण्डपका काठहरू अमूल्य सम्पत्ति हुन्’
राजेश शाक्य, संयोजक काष्ठमण्डप पुनर्निर्माण समिति
यो सातौँ शताब्दीको वैभवशाली सम्पदा हो। यसमा प्रयोग भएका काठहरू अमूल्य सम्पत्ति हुन्। काठ र माटो निकै बलियो हुने भएकोले सम्पदाहरूमा यसको बढी प्रयोग हुन्छ।

‘बुट्टेदार काठले बनेको सम्पदा हो’
सत्यमोहन जोशी, संस्कृतिविद्
काष्ठमण्डप बुट्टेदार काठले बनेको सम्पदा हो। यो संसारमै फरक छ। यो एउटा सत्तल हो, तर संसारमै नपाइने किसिमको छ। यसमा प्रयोग भएका काठहरूको इतिहास झनै लामो छ।