मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Thursday, 19 December, 2024
शिवहरि सापकोटा
२o७८ मङ्सिर १५ बुधबार १o:३२:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

दुर्घटना न्यूनीकरण कसरी ?

एक्स्काभेटरचालकले ट्रयाक खोलेका ठाउँमा विनापरीक्षण यात्रुवाहक सवारीसाधन चलाउन अनुमति दिने गर्नाले दुर्घटनाको जोखिम बढाएको छ

Read Time : > 4 मिनेट
शिवहरि सापकोटा
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार १o:३२:oo

दिनहुँ सडक दुर्घटनाका समाचारले हाम्रो यात्रा अत्यन्त जोखिमपूर्ण छ भन्ने संकेत गरिरहेका छन् । दुर्घटनाले हाम्रो सडक सुरक्षा दक्षिण एसियामै कमजोर भएको देखाउँछ । ट्राफिक नियम पालना गर्न सहयोग पुर्‍याउने, सडक सुरक्षाबारे चेतनामूलक कार्यक्रम गर्ने, पैदलयात्री, साइकल तथा मोटरसाइकलचालकको सुरक्षाका सम्बन्धमा काम गर्ने भनेर हामीकहाँ धेरै संघ–संस्था खुलेका छन् । पत्रपत्रिका र सामाजिक सञ्जालमा काफी प्रचार–प्रसार पनि भएको देखिन्छ र पनि हाम्रो देशमा दुर्घटना र मृत्यु हुनेको संख्या रत्तिभर घटेको छैन, बरु दिनप्रतिदिन बढेको देखिन्छ । संयुक्त राष्ट्रसंघको सडक सुरक्षा दशक कार्ययोजना तयार गरेर कार्यान्वयन गर्दा पनि दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटाउन सकिएको छैन । आखिर यति धेरै दुर्घटना के कारणले हुन्छ र यसका जिम्मेवार को–को हुन् ? यस्ता घटना किन हरेक वर्ष दोहोरिइरहन्छन् ? यसबारे यहाँ केही विश्लेषण गर्न खोजिएको छ ।

१. सडक निर्माण र यातायात सञ्चालन : भनिन्छ, सडक सञ्जालले देशको अर्थतन्त्रलाई चलायमान बनाउँछ । अझ सहरी सडकले त त्यहाँ बसोवास गर्ने जनताको जीवनस्तर तथा मानव विकास सूचकांक मापनमा समेत असर गर्छ । त्यसैले पनि सहरी सडकलाई सहरको गहनाका रूपमा लिने गरेको पाइन्छ । नेपालमा हालसम्म १५ हजार किमी राष्ट्रिय राजमार्गसहित करिब एक लाख किलोमिटरआसपास सडकको लम्बाइ पुगेको छ । जसमा प्रदेश र स्थानीयस्तरका अधिकांश कच्ची प्रकृतिका एक्साभेटरले ट्र्याक खोलिएका सडकसमेतको लम्बाइ छ । १५ हजार किमीमध्ये पनि करिब सात हजार किमी मात्रै कालोपत्रे, ४५ सय किमी माटो तथा ग्राभेल, पाँच सय किमी निर्माणाधीन र तीन हजार किमी निर्माण गर्ने योजनामा रहेको देखिन्छ । आजका मितिसम्म पनि हुम्लाको सदरमुकाम सिमकोट काठमाडौंसँग जोडिएको छैन । अन्य सडकको पनि अवस्था ज्यादै नाजुक छ । सडक मापदण्डबमोजिमको ज्यामितिमा निर्माण गर्न अर्बाैँ रुपैयाँ चाहिन्छ । नेपालमा बाह्रै महिना सवारी चल्न सक्ने सडकको लम्बाइ धेरै कम छ । सडक बनाउने निकाय धेरै र बनेका सडकको मापदण्ड फरक–फरक देखिएकाले पनि समस्या बढिरहेको छ ।

सामान्यतः सडकको ज्यामिति अनुसरण गरी बनाइएका, ढल व्यवस्थापन भएका, आवश्यक सडक संरचना निर्माण भइसकेका, सडक सुरक्षासँग गाँसिएका सडक संकेत चिह्न राखिसकिएका र कम्तीमा पनि ग्राभेल गरिएको सडकमा मात्रै यात्रुवाहक सवारीसाधन चलाउन अनुमति दिनुपर्छ । भौगोलिक कठिनाइले पूर्वाधार निर्माणको अवस्था ज्यादै कमजोर रहेको हाम्रोजस्तो मुलुकमा एक्साभेटरचालकले ट्र्याक खोलेका ठाउँमा पनि यात्रुवाहक सवारीसाधन चलाउन दिने गर्नाले दुर्घटनाको जोखिम बढाएको छ । अर्कातर्फ लामो झरी र वर्षात्पछि भिजेर कमलो भएको सडक सतहमा क्षमताभन्दा बढी यात्रु बोकेर सवारीसाधन चलाउँदा पनि दुर्घटना हुन सक्ने सम्भावना बढी देखिएको छ । अतः न्यूनतम सडक संरचना तयार भएका र बाह्रै महिना यातायात चल्न सक्ने र कम्तीमा पनि ग्राभेल गरिएका सडक मात्र सञ्चालनमा ल्याउन सके दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्छ । 

२. सुरक्षा प्रत्याभूत गर्ने सवारीसाधन : प्रत्येक दिन सार्वजनिक सवारी चलाउनुपूर्व सवारीसाधनको अवस्था राम्रोसँग परीक्षण गरेर चलाउनयोग्य भएपछि मात्र आवश्यक इन्धन भरेर सञ्चालनमा पठाउनुपर्छ । रुट परमिट लिनुपूर्व सडकको अवस्था राम्रोसँग बुझेर मात्र सम्बन्धित निकायमा निवेदन गर्नुपर्छ । सार्वजनिक यातायातलाई सस्तो, सर्वसुलभ, प्रभावकारी र भरपर्दो बनाउनु सरकारको उद्देश्य हो । यो उद्देश्य पूरा गर्न सरकारले सार्वजनिक यातायात सञ्चालकसँग सहयोगीको भूमिका खेल्नुपर्छ । दर्ता रजिस्टरमा सवारीसाधनको वृद्धि वार्षिक १४ प्रतिशतको हाराहारीमा छ ।

सिट संख्याभन्दा बढी टिकट बेच्ने, सार्वजनिक सवारीसाधनमा अत्यधिक सामान राख्ने र ज्यानको पर्वाह नगरी विनाटिकट पैसा तिरेर यात्रा गर्ने सर्वसाधारणका कारण हाम्रो यात्रा ज्यादै जोखिमयुक्त बनेको छ

कुल दर्ता भएका सवारीसाधनमध्ये सार्वजनिक सवारीसाधनको हिस्सा ज्यादै कम छ, साझा यातायातबाहेक सञ्चालनमा आएका बसहरू सबै निजी क्षेत्रको स्वामित्वमा छन् र तिनको नियमित परीक्षण र अनुगमन प्रभावकारी रूपमा हुन नसक्दा दुर्घटनाको जोखिम बढेको देखिन्छ । यातायात व्यवस्था विभागबाट सञ्चालनमा ल्याएका सवारी परीक्षण केन्द्र प्रभावकारी रूपमा सञ्चालनमा आउन नसक्नु, सवारीधनी वा कम्पनीले पनि त्यस्ता परीक्षण केन्द्रमा सवारी जाँचका लागि नलैजानु र कम्पनी स्वयंले पनि सवारीसाधनको नियमित परीक्षण नगरी सिट क्षमताभन्दा बढी यात्रु बोकेर चलाउनुजस्ता कारणले पनि दुर्घटनाको जोखिम बढेको छ । यात्रु आउने र जाने क्रम नियमित नहुने, चाडबाडका वेलामा एकतर्फी जाने यात्रु बढी हुने र फर्कने वेलामा यात्री संख्या कम हुने हुँदा सवारीभाडा तथा कर्मचारीलगायतको प्रोत्साहनका लागि सवारीधनी वा कम्पनीले व्यवस्थापन गर्ने र सरकारी तहबाट पनि सहजीकरण एवं नियमित रूपमा नियमन हुनुपर्ने देखिन्छ । अतः सार्वजनिक सेवामा सञ्चालन हुने बसहरू सडकमा गुड्नयोग्य भए–नभएको नियमित रूपमा चेकजाँच गर्ने, सिट संख्याभन्दा बढी टिकट बिक्री नगर्ने र लामा रुटमा दुइजना चालक अनिवार्य रहने व्यवस्था गर्ने नियमको कडाइका साथ पालना गरे मात्र सवारीसाधन यात्रुका लागि सुरक्षित हुन सक्छ । 

३. स्वस्थ र फुर्तिला सवारीचालक : सार्वजनिक सवारी हाँक्ने चालक आँखाको दृष्टि राम्रो भएको, शारीरिक रूपमा स्वस्थ र फुर्तिलो, मादक पदार्थ सेवन नगर्ने, गन्तव्यसम्म पुग्ने समयबारे प्रतिबद्ध, कामप्रति लगनशील र प्रतिबद्ध, यात्रुहरूसँग शिष्ट व्यवहार गर्ने र आफ्ना सहायकलाई माया गर्ने हुनुपर्छ । यस्ता चालक सार्वजनिक यातायातका क्षेत्रमा अब्बल मानिन्छन् । एकजना चालकको असावधानीले कैयौँको ज्यान जोखिममा पर्न सक्ने भएकाले सवारीचालकका लागि यी गुण हुन जरुरी छ । अध्ययनले पनि धेरै दुर्घटना मानवीय कमजोरीका कारण भएको देखाउँछ । त्यसैकारण, सवारीचालक अनुमतिपत्र प्रदान गर्नुपूर्व धेरै चरणका परीक्षा पास गर्नुपर्ने हुन्छ । हामीकहाँ सवारीचालक अनुमतिपत्रको माग अत्यधिक भएको अवस्थामा एकातर्फ सवारीचालक अनुमतिपत्रको प्राप्ति सर्वसुलभ हुन सकेको छैन भने अर्कातर्फ परीक्षा प्रणाली पनि वैज्ञानिक बनाउन सकिएको छैन ।

एकपटक सवारीचालक अनुमतिपत्र पाएको सार्वजनिक सवारी चलाउने चालकलाई नियमित रूपमा पहाड र तराईका सडकबारे जानकारी दिलाउन मोटिभेसनल र आत्मविश्वास जगाउने खालका तालिम सञ्चालन हुन सकेको छ कि छैन ? सवारीचालक अनुमतिपत्र लिएपछि नियमित रूपमा स्वास्थ्य परीक्षण भएको छ कि छैन भन्ने विषयमा सरकारीस्तरबाट नियमित रूपमा अनुगमन र मूल्यांकन गर्ने व्यवस्था मिलाइनुपर्छ । सार्वजनिक यातायात प्रणालीमा यस्ता विषयले ठूलो अर्थ राख्छ । हामीकहाँ यस्ता बिषयमा कुनै कार्यक्रमको सुरुवातसम्म पनि हुन सकेको अवस्था छैन । ट्राफिक प्रहरीहरूबाट वेला–वेलामा खासगरी सहरी क्षेत्रमा मादक पदार्थ सेवन गरेर सवारी नचलाऊँ, लेन अनुशासन पालना गरौँ, गति सीमित गरौँ, ओभरटेक गर्दा नियमपूर्वक गरौँजस्ता प्लेकार्ड देखाउने कार्यक्रम सञ्चालनमा आएबाट सवारीचालक केही सजग भएको भने देखिन्छ ।

४. टिकट किन्ने यात्रु र सुरक्षामा सजग सवारीधनी : सवारीसाधन दुर्घटनाको प्रमुख कारण अत्यधिक वजन अथवा क्षमताभन्दा बढी यात्रु राखेर चलाउनु पनि हो । सिट संख्याभन्दा बढी टिकट बेच्ने, सार्वजनिक सवारीसाधनमा अत्यधिक सामान राख्ने र ज्यानको पर्वाह नगरी विनाटिकट पैसा तिरेर यात्रा गर्ने सर्वसाधारणका कारण हाम्रो यात्रा ज्यादै जोखिमयुक्त बनेको छ । सार्वजनिक यातायात सर्वसुलभ, भरपर्दो र समय तालिकामा प्रतिबद्ध नभएका कारण यात्रुहरू तँछाडमछाड गरी टिकट काट्ने र टिकट सकिएपछि पनि पैसा तिरेर बसमा कोचिएर यात्रा गर्ने गरेको देखिएकाले बढी वजनसहित यात्रा गर्दा खासगरी पहाडी क्षेत्रका साँघुरा सडकमा हुने घुम्तीमा बस नियन्त्रणबाहिर जाने र दुर्घटना हुने गरेको देखिएको छ भने तराईका सडकमा क्षमताभन्दा बढी भार र अत्यधिक गतिका कारण सवारीसाधन दुर्घटना हुने गरेका छन् । यात्रुको चहलपहल बढी हुने समयमा सवारीधनीले पनि छोटो समयमा बढी लाभ लिन खोज्ने भएकाले पनि दुर्घटनाको जोखिम बढेको देखिन्छ । यस्तो संवेदनशील विषयमा बसका मालिक चुप लागेर बस्ने र सरकारी तहबाट पनि नियमित अनुगमन नहुने भएकाले स्थिति चुनौतीपूर्ण बन्दै गएको छ । अतः सवारी चढ्ने यात्रु र यातायात सेवा प्रदान गर्ने कम्पनी दुवै यात्राको सुरक्षाप्रति जिम्मेवार बन्न जरुरी छ ।

५. अनुशासित पैदल यात्री : पैदल यात्रीसँग सम्बन्धित अध्ययनले सहरी क्षेत्र, सहरबाहिर खुला सडक तथा बत्ती नभएको सडकमा पैदल यात्रु हिँडडुल गर्दा बढी दुर्घटना हुने देखिएको छ । अतः पैदलयात्रीले सडकमा हिँडडुल गर्दा सवारीसाधन ओहोरदोहोर बढी हुने सडकमा विशेष ध्यान दिएर हिँड्नुपर्छ । सडकछेउ फुटपाथ भएको ठाउँमा अनिवार्य फुटपाथबाट र फुटपाथ नभएको ठाउँमा सडकको सोल्जर अथवा सडकछेउ पोतिएको पहेँलो रेखाभन्दा बाहिर रहेर हिँड्नुपर्छ । सडकमा राखिएका ट्राफिकबत्ती तथा संकेत चिह्नहरू राम्ररी हेरेर हिँड्ने र सडक पार गर्दा निश्चित ठाउँबाट मात्र गर्नुपर्छ । जेब्राक्रस भएको ठाउँमा ट्राफिक प्रहरीले सडक पार गर्ने संकेत गरेपछि मात्र पार गर्नुपर्छ । रातको समयमा सडकमा हिँड्दा सकभर टल्कने टेपजस्ता वस्तुजडित कपडा लगाएर हिँड्दा सुरक्षित भइन्छ । घुम्तीमा हिँड्दा अझ बढी ध्यान दिएर हिँड्नुपर्छ । मादक पदार्थ सेवन गरी सडकमा हिँडनुहुँदैन । फरक सामथ्र्य व्यक्तिले पनि सडकछेउ बनाइएका फुटपाथमा बिछ्याइएका विशेष प्रकारका टायलमा हिँड्नुपर्छ र सडक पार गर्दा ट्राफिक प्रहरी वा अन्य व्यक्तिको सहायता लिएर पार गर्नुपर्छ । ट्राफिक नियमको अक्षरशः पालनाले मात्र हामी सबै सुरक्षितसाथ गन्तव्यमा पुग्न सक्छौँ भन्ने हेक्का सबैले सधैँ राख्नुपर्छ ।
(सापकोटा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव हुन्)