मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०७८ मङ्सिर १३ सोमबार १७:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा झडप, पाँचजना घाइते

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ मङ्सिर १३ सोमबार १७:३७:००

सर्लाहीको बलरामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बलरामा वडा अधिवेशनको क्रममा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। 

आइतबार स्थगित भएको वडा अधिवेशन मतदान प्रक्रियाबाट गर्ने तयारी भइरहँदा दुई पक्षबीच फरक–फरक ठाउँमा गर्ने प्रस्ताव आएको र आइतबार प्रक्रिया सुरु भएको स्थानमा गराउने प्रहरीले प्रयास गरेपछि झडप भएको थियो। झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुडाथोकीले जानकारी दिए। 

घटनामा तीनजना सुरक्षाकर्मी, एकजना मतदान अधिकृत र एक कांग्रेस कार्यकर्ता घाइते भएको प्रहरी प्रवक्ता डिएसपी बुडाथोकीले पुष्टि गरे। घाइते हुनेमा प्रहरी निरीक्षक सुरेश ठाकुर, अन्य दुईजना सुरक्षाकर्मीको विवरण खुलेको छैन। यस्तै झडपमा बलरा नगरपालिका– ८, अचलगडमा मतदान अधिकृतको रूपमा खटिएका उमेशचन्द्र झा र अर्का एकजना नाम ठेगाना नखुलेका कांग्रेस कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूमध्ये मतदान अधिकृत झाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्यको अवस्था सामान्य छ। प्रारम्भिक विवारणबाट पाँचजना खुले पनि, घटनामा के–कति घाइते भए भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन। 

आफूहरूसमेत घटनास्थलमा रहेकोले घाइतेहरूको संख्या र उनीहरूको अवस्थासमेत थाहा हुन नसकेको डिएसपी बुडाथोकीले नयाँ पत्रिकाकर्मीसँग बताए। घटना नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रुग्यास र गोली फायर गरेको प्रत्यक्षदर्शीको भनाइ छ। 

उक्त स्थानका आइतबार मात्र विवाद हुँदा प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहका निजी सुरक्षागार्डले गोली चलाएका थिए। सोही क्रममा मन्त्रीका निजी सुरक्षागार्ड र अर्का एक सहयोगी घाइतेसमेत भएका थिए। लगत्तै बलरा नगरपालिका वडा नम्बर ८ र ९ मा अधिवेशन स्थगित गरिएको थियो। सोमबार पुनः मतदानको तयारी भइरहेको अवस्था झडपको अवस्था सिर्जना भएको हो।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह र प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहबीच कडा टकराव रहँदै आएको छ। एउटै पार्टीका दुई नेताबीचको लडाइँका कारण उक्त क्षेत्र अशान्त रहने गरेको छ।