मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर १२ आइतबार १४:३४:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन के हो ?

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १२ आइतबार १४:३४:००

विभिन्न देशहरूमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ। ओमिक्रोन नाम दिइएको नयाँ भेरियन्ट पहिलोपटक दक्षिण अफ्रिकामा भेटिएको हो। हालसम्म इजरायल, जर्मनी, बेल्जियम, इटालीलगायतका देशहरूमा नयाँ भेरियन्ट भेटिएको पुष्टि गरिएको छ।

अहिलेसम्म दक्षिण अफ्रिकामा ७७ वटा ओमिक्रोनको केस पुष्टि भएको छ। त्यस्तै, अफ्रिकी मुलुक बोत्स्वानामा चारवटा केस पुष्टि भएका छन्। शनिबार दक्षिण अफ्रिकी देशहरूबाट दुईवटा फ्लाइटमा नेदरल्यान्ड पुगेका पाँच सयभन्दा बढी यात्रुमध्ये ६१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। उनीहरूमा नयाँ भेरियन्ट देखिन सक्ने सम्भावना रहेको डच अधिकारीहरूले बताएका छन्। अहिले उनीहरूलाई अम्स्ट्राडममा क्वारेन्टिनमा राखिएको जनाइएको छ।

के हो ओमिक्रोन भेरियन्ट ?
दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको नयाँ भेरियन्टको नाम विश्व स्वास्थ्य संगठनले ओमिक्रोन राखेको छ। यो ग्रिक अल्फाबेट हो। ९ नोभेम्बरमा लिइएको नमुना परीक्षणबाट २४ नोभेम्बरमा यो भेरियन्टको पुष्टि भएको हो। यसको वैज्ञानिक नाम बी.१.१.५२९ रहेको छ। यसको अर्थ यो भेरियन्ट बी.१ भेरियन्टबाट आएको भन्ने हुन्छ। नयाँ भेरियन्ट भाइरसको कुन पुस्ताबाट आएको हो भन्ने जानकारीका आधारमा वैज्ञानिक नाम दिने गरिन्छ। तर, वैज्ञानिक नाम प्रयोग गर्न तुलनात्मक रूपमा असजिलो हुने भएकाले जुन देशबाट नयाँ भेरियन्ट देखियो त्यही देशको नाम लिएर घृणा फैलाउने काम भएको भन्दै विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटबाट राख्न थालेको हो। यसअघि बेलायतमा देखिएको भेरियन्टलाई अल्फा, भारतमा देखिएकोलाई डेल्टा नाम दिइएको थियो।

चीनको वुहानमा पहिलो चरणमा देखिएको कोरोना भाइरसभन्दा यो भेरियन्ट निकै भिन्न रहेको छ। यसको मतलव वुहानमा भेटिएको भाइरसको पहिलो स्ट्रेनका आधारमा बनाइएका खोपहरू ओमिक्रोनका लागि कम प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ। कोरोना भाइरसबारे जानकारहरूले यो भेरियन्ट तुलनात्मक रूपमा छिटो फैलन सक्ने र अहिलेसम्मकै बढी घातक हुन सक्ने बताएका छन्। यद्यपि, डब्लुएचओले यो भेरियन्ट कति खतरनाक छ र यसका लागि अहिले उपलब्ध भ्याक्सिनहरू कति प्रभावकारी हुन्छन् भन्ने विषयमा खोज तथा अनुसन्धान भइरहेको भए पनि अहिलेसम्म निकै कम मात्र जानकारी पाइएको बताएको छ।

खतराका आधारमा डब्लुएचओले नयाँ भेरियन्टलाई भेरियन्ट्स अन्डर मोनिटरिङ (भियुएम), भेरियन्ट्स अफ इन्ट्रेस्ट (भिओआई) र भेरियन्ट्स अफ कन्सर्न (भिओसी) गरी तीन भागमा वर्गीकरण गरेकाे छ । ओमिक्रोनलाई गत शुक्रबार डब्लुएचओले ‘भेरियन्ट अफ कन्सर्न’मा राखेको छ। योसँगै हालसम्म पाँचवटा नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्सर्नमा राखिएको छ, जसमा  ‘अल्फा’, ‘बिटा’, ‘गामा’, ‘डेल्टा’ र ‘ओमिक्रोन’ रहेका छन्।

त्यस्तै, ‘भिओआइ’अन्तर्गत ‘म्यु’ र ‘ल्याम्ब्डा’ गरी दुईवटा भेरियन्ट रहेका छन्। कम खतरनाक भएका कारण ‘काप्पा’, ‘इटा’ वा ‘आयोटा’लाई भिओआइको लिस्टबाट हटाइएको छ। प्रायजसो दैनिक रूपमा नयाँ भेरियन्ट देखिने भए पनि मानिसका लागि खतरा हुन सक्ने गरी वंशाणुगत उत्परीवर्तन (जेनेटिक म्युटेसन) भएका भेरियन्टलाई मात्र भियुएम, भिओआइ र भिओसीमा वर्गीकरण गरिन्छ।
 
दक्षिण अफ्रिकी वैज्ञानिकहरूले यो भेरियन्टको स्पाइक प्रोटिनमा ३० पटकसम्म जिन परिवर्तन गर्नसक्ने क्षमता रहेको बताएका छन्। स्पाइक प्रोटिन भनेको मानिसको कोषमा आक्रमण गर्नका लागि भाइरसले बनाउने संरचना हो।

दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध 
अस्ट्रेलियाले नयाँ भेरियन्टलाई मध्यनजर गर्दै दक्षिण अफ्रिका, बोत्स्वाना, लेसोथो तथा जिम्बाबेलगायतका नौ देशबाट अस्ट्रेलिया प्रवेशमा रोक लगाएको छ। त्यस्तै, दक्षिण कोरियाले दक्षिण अफ्रिका, बोत्स्वाना, नामिबिया, जिम्मावे, लेसोथो, इस्वातिनी, मालावी र मोजाम्बिक्यु गरी आठ देशमाथि यात्रा प्रतिबन्ध लगाएको छ।

यसका अलावा क्यानाडा, रसिया, थाइल्यान्ड, श्रीलंका, सिंगापुर, साउदी अरब, ओमन र मोरोक्कोलगायतका देशहरूले पनि दक्षिण अफ्रिकी मुलुकहरूमा यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। युरोपियन युनियनले पनि दक्षिण अफ्रिकी मुलुकहरूमाथि यात्रा प्रतिबन्ध लगाउने बताएको छ ।