मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शुरोजंग पाण्डे नयाँ पत्रिका
२०७८ मङ्सिर ९ बिहीबार ०६:५७:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमाले दशौँ महाधिवेशन : संस्थापनभित्रै अघोषित दुई समूह सक्रिय, ओली चुनावको दबाबमा

Read Time : > 5 मिनेट
शुरोजंग पाण्डे, नयाँ पत्रिका
२०७८ मङ्सिर ९ बिहीबार ०६:५७:००

चुनावी प्रतिस्पर्धा व्यक्तिगत रूपमै हुने निश्चित देखिए पनि संस्थापनभित्रै अघोषित रूपमा ईश्वर पोखरेल–शंकर पोखरेलको एउटा र सुवास नेम्वाङ–विष्णु पौडेलको अर्को समूहले आकार लिँदै 

समूह १ : पोखरेलद्वयको नेतृत्व

संस्थापनभित्रको दुई समूहमध्ये एउटामा महासचिव ईश्वर पोखरेलको नेतृत्वमा शंकर पोखरेल, विष्णु रिमाल, डा. राजन भट्टराईसहित केपी ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा बसेर सघाउने सल्लाहकार समूहका नेताहरू छन् । यो समूहले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई बनाउनुपर्ने लबिङ गरिरहेको छ । त्यस्तै, उपाध्यक्षमा बादललाई ल्याउनुपर्नेमा यो समूह नरम रहेको स्रोतले जनाएको छ । त्यस्तै, यही समूहले प्रदीप ज्ञवालीलाई उपाध्यक्ष या उपमहासचिव तथा रिमाललाई सचिव बनाउन चाहेको छ । त्यस्तै, यही समूहबाट पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यो समूहमा भानुभक्त ढकाल, खगराज अधिकारी, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, आनन्दप्रसाद पोखरेल, कर्ण थापासहितका नेताहरू रहेका छन् । चुनावी प्रतिस्पर्धा हुँदा उनीहरू ‘टिम’सँग सल्लाह गरेर सचिव या केन्द्रीय सदस्यमै उम्मेदवारी दिने योजनामा छन् । 

समूह २ : नेम्वाङ र पौडेलको नेतृत्व

वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेललाई रुचाउने समूह तयार बन्दै गएको छ । नेता बादल तटस्थ रहे पनि पूर्वमाओवादी समूहका बाँकी नेताहरू भने नेम्वाङ र पौडेलसँग नजिकिएका छन् । त्यस्तै, दशबुँदे सहमति गरेर आएकामध्ये अधिकांश नेता पनि नेम्वाङ र पौडेलसँगै संवादमा छन् । नेम्वाङ–पौडेल रुचाउने यही समूहमा सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य किरण गुरुङ, केन्द्रीय सदस्यहरू हिक्मत कार्की, वसन्त नेम्वाङ, पार्वत गुरुङ, रामेश्वर फुँयाल, कैलाश ढुंगेल, सुशीला नेपाल, सरेश नेपाललगायत नजिकिएका छन् । यो समूहले वरिष्ठ उपाध्यक्षका आकांक्षी ईश्वर पोखरेलले एक वर्षपछि ओली प्रधानमन्त्री बन्ने र त्यसपछि कार्यबाहक अध्यक्ष बनेर पार्टीको नेतृत्व गर्ने भ्रम फिँजाउँदै ‘लबिइङ’ गरिरहेको भन्दै प्रतिवाद गरेको छ । विधानमा पोखरेलकै लागि त्यो पदको व्यवस्था गरेको हल्ला फिँजाएको भन्दै ईश्वर–शंकरइतर समूह रुष्ट बनेको छ । युवा–विद्यार्थीको ठूलो समूह पनि नेम्वाङ र पौडेलको पक्षमा खुल्दै गएका छन् । युवा–विद्यार्थीका तर्फबाट महेश बस्नेतले यो समूहको नेतृत्व गरेका छन् । 

दशौँ महाधिवेशनको सँघारमा एमालेको संस्थापन समूहकै नेताहरू दुई खेमामा बाँडिँदै गएपछि सर्वसम्मत नेतृत्व चयन गर्ने योजनामा रहेका अध्यक्ष केपी ओलीमाथि ठूलो दबाब परेको छ । १५ सदस्यीय पदाधिकारीभित्र अध्यक्षपछिको महत्ववपूर्ण पद वरिष्ठ उपाध्यक्ष र महासचिवका आकांक्षी संस्थापन समूहकै नेताहरूले तल्लो तहसम्म आन्तरिक ‘लबिङ’ तीव्र पारेपछि प्रतिनिधिसमेत अघोषित रूपमा दुई समूहमा बाँडिने अवस्थामा पुगेका छन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल आकांक्षी छन् भने महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच होडबाजी छ । तर, संस्थापन समूहको तीव्र प्रतिस्पर्धामा पूर्वमाओवादी समूहका नेता बादल र दशबुँदे सहमतिको जगमा एमालेमै रहेका पाण्डेको आकांक्षा छायामा पर्दै गएको छ । 

चुनावी प्रतिस्पर्धा हुँदा उपमहासचिव घनश्याम भुसाल पनि वरिष्ठ उपाध्यक्ष या उपाध्यक्षमध्ये एक पदमा उम्मेदवारी घोषणा गर्ने सोचमा छन् । उम्मेदवारी घोषणाअघि परामर्शमै रहेका भुसालले बुधबार साँझ महाधिवेशन प्रतिनिधिलाई अपिल गर्दै नेतृत्वका लागि अग्रसर भएको सन्देश दिएका छन् । उनीनिकट नेताहरूले भुसालले शुक्रबार आफ्नो दाबेदारी घोषणा गर्ने सम्भावना छ । चुनावी प्रतिस्पर्धा व्यक्तिगत रूपमै हुने निश्चित देखिए पनि संस्थापनभित्रै अघोषित रूपमा नेम्वाङ र पौडेलको एउटा तथा ईश्वर र शंकरको अर्को समूहले आकार लिँदै गएको छ । महाधिवेशनको बन्दसत्र सुरु हुँदासम्म समूहले आकार लिने सम्भावना रहे पनि एमालेको विधानले बन्देज गरेकाले ‘प्यानल प्रतिस्पर्धा’ भने हुनेछैन । 

अहिले एमालेभित्रको सर्वसम्मत पहल तिनै नेताहरूको तीव्र प्रतिस्पर्धामा बन्धक मात्र बनेको छैन, उनीहरूकै कारण चुनावी प्रतिस्पर्धालाई खुला राखिएको सन्देश दिन अध्यक्ष ओली बाध्य भएका छन् । दुवै समूहले ओलीलाई केन्द्र माने पनि स्थायी समिति र केन्द्रीय कमिटीका सदस्यसमेत चुनावी प्रतिस्पर्धामा सुरक्षित हुँदै विजयी बन्न कुनै न कुनै समूहतिर खुल्नुपर्ने बाध्यताले मतदानबाटै नेतृत्व चयनको सम्भावना देखिएको छ ।

सर्वसम्मत हुँदा आफैँ हुनुपर्ने संस्थापन समूहका आकांक्षी नेताहरूको अडानका कारण ओलीले मंगलबारको स्थायी समिति बैठकमा पनि प्रतिस्पर्धाकै संकेत गरेका थिए । त्यसअघि सम्पादकहरूसँगको अन्तत्र्रिmयामा पनि सहमति जटिल रहेको संकेत गर्दै आफू स्वस्थ प्रतिस्पर्धालाई स्वागत गर्ने पक्षमा रहेको बताएका थिए । आफ्नै समूहभित्र बलिया प्रतिस्पर्धी रहेकाले छनोट गर्न ओलीलाई पनि सहज भएको छैन । त्यसैले उनले मंगलबार सम्पादकहरूसँगको अन्तत्र्रिmयामा विकल्प खुला राख्दै भनेका थिए, ‘यो मन पराएको, मेरो, यो अर्काको भन्ने छैन । पार्टीका सबै नेता–कार्यकर्ता मेरो नजरमा उस्तै हो । सबै निकट हुनुहुन्छ ।’

चुनावी प्रतिस्पर्धा भए सचिवमा उम्मेदवारी दिने तयारीमा रहेका केन्द्रीय सदस्य महेश बस्नेतले पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहे पनि सबै पदमा प्रतिस्पर्धीको संख्या अधिक रहेकाले सम्भावना कमजोर रहेको बताए । ‘अहिलेको अवस्थामा नेतृत्वले सर्वसम्मतको प्रयास गर्नु स्वाभाविक छ । नेताहरूले प्रयत्न त जारी राख्नुहोला । तर, म सर्वसम्मतको सम्भावना देख्दिनँ,’ बस्नेतले भने, ‘यस्तो अवस्थामा योग्यमध्ये योग्यतम छान्ने विधि अपनाउन सकिन्छ ।’

बस्नेतले पनि अध्यक्ष ओली व्यक्ति छनोट गर्न दबाबमा रहेको संकेत गरे । ‘सबै पदमा प्रतिस्पर्धा छ, विगतमा पनि थियो, स्थायी समितिका नेताहरू, नयाँ पुस्ताका नेताहरू र पूर्वमाओवादी समूहका नेताहरूको दाबी छ,’ उनले भने, ‘यो भद्रगोलमा अध्यक्ष या अरू कोही नेताले तपाईं यो पदको उम्मेदवार हो, तपाईं होइन भन्दा धेरै संख्या रिसाउने अवस्था छ । त्यसैले धेरै नेता–कार्यकर्ताको दाबी रहेकाले अध्यक्ष नेतृत्वका सन्दर्भमा कसैको पनि पक्षमा नबोल्ने नै सम्भावना बढी देखिन्छ ।’ 

ओली आफैँले पनि मंगलबार आफू कतै नखुल्ने प्रस्ट्याएका थिए । ‘म कसैलाई नउठे हुन्थ्यो पनि भन्दिनँ किनभने आफैँ अध्यक्ष पदमा भएको मान्छेले तपाईं नउठ्दिए हुन्थ्यो भन्ने कुरा सामान्य शब्दमा आग्रह गर्दा पनि दबाब पर्न सक्छ । दबाब दिने कुनै मनसाय छैन,’ ओलीले भनेका थिए, ‘त्यसैले कसैलाई अलिकति पनि दबाब महसुस हुने खालको कुनै व्यवहार वा अभिव्यक्ति गर्दिनँ । मैले उठ्ने, नउठ्ने अहिलेसम्म निर्णय गरेको छैन । उठ्ने भएँ भने अरूलाई नउठ्न पनि भन्दिनँ ।’

सचिवका आकांक्षी कर्ण थापाले पनि स्वस्थ व्यक्तिगत प्रतिस्पर्धाको वातावरण बन्दै गएकाले सर्वसहमतिको सम्भावना कम रहेको बताए । ‘आकांक्षीहरूको अवस्था हेर्दा सहमतिको सम्भावना कम छ, प्रतिस्पर्धाकै सम्भावना बढेर गएको छ,’ थापाले भने । दुवै समूहले पूर्वमाओवादी र दशबुँदे सहमति गरेको समूहलाई समेटेर जाने कोसिस गरेका छन् । दुवै समूहले अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष र सुरेन्द्र पाण्डेलाई उपाध्यक्ष या उपमहासचिवमा व्यवस्थापन गर्न चाहेको छ । त्यस्तै, गोकर्ण विष्ट, योगेश भट्टराईलाई पनि सचिव या उपमहासचिवमा व्यवस्थापन गर्न खोजेको छ । 

पार्टीको निर्वाचन आयोगले १० मंसिरमा महाधिवेशन उद्घाटनपछि ११ गते बिहानैबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेकाले पनि आकांक्षी सबैले उम्मेदवारी दर्ता गर्नेबित्तिकै सर्वसहमतिको प्रयास गर्ने समयसीमाको चाप नेतृत्वमाथि पर्नेछ । त्यसैले त्यस्तो भद्रगोल अभ्यासमा पदाधिकारी र केन्द्रीय सदस्य दुवैतिर चुनावी प्रतिस्पर्धाको सम्भावना बढेको थुप्रै नेताहरूले नै खुलेआम बताउन थालेका छन् ।

स्थायी समिति बैठकमा रावलको फरक मत 
दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले स्थायी समिति बैठकमा फरक मत राखेका छन् । महाधिवेशनको सँघारमा उपाध्यक्ष रावलले प्रतिनिधि चयनको विषयलाई लिएर फरक मत राखेका हुन् । 

रावलले तीन दिनअघि पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । अध्यक्ष ओलीले रावलले उम्मेदवारी घोषणा गर्ने क्रममा आफूलाई विश्राम लिनका लागि स्नेहभाव दर्शाएको भन्दै मंगलबार स्वागत गरेका थिए । तर, मंगलबारकै बैठकमा आफ्नो मतको कुनै सुनुवाइ नभएको भन्दै फरक मत राखेर रावलले उम्मेदवारी फिर्ता नलिने स्पष्ट संकेत गरेका छन् । रावलले कैलालीमा सहमति वा निर्वाचन नगरी स्वेच्छाचारी किसिमले प्रतिनिधिको नाम पठाइएकोप्रति फरक मत राखेका हुन् ।

दशबुँदेबाट एमालेमा रहेका कुन पदमा उठ्दै छन् ?

पार्टी विभाजनका वेला दशबुँदे सहमतिमार्फत एमालेमै रहेका नेताहरूले महाधिवेशनबाट आफूलाई सुरक्षित बनाउने विकल्पको खोजी थालेका छन् । माधव नेपालले पार्टी विभाजन गरेपछि दशबुँदेकै जगमा एमालेमा रहेका र माओवादी केन्द्रलगायत विभिन्न पार्टीबाट प्रवेश गरेका नेताहरूले सुरक्षित विकल्पमा छलफल थालेका हुन् । महाधिवेशन सर्वसम्मत हुने भन्दै तल्ला तहका कमिटीमा समेत सोहीअनुसार गर्न निर्देशन दिएका पार्टी अध्यक्ष केपी ओलीले पछिल्लो समय ‘कसैले प्रतिस्पर्धा गर्न चाहे त्यसलाई स्वीकार गर्ने’ बताइसकेका छन् । उनले प्रतिस्पर्धालाई स्वीकार गर्ने भने पनि व्यक्तिगत रूपमा धेरैले उनको चाहनाविपरीत आफ्ना आकांक्षा व्यक्त गर्न सकिरहेका छैनन् ।

ओलीलाई चिढ्याएरभन्दा फकाएर आफूलाई सुरक्षित गर्न सकिन्छ भन्ने मनस्थितिमा पुगेका प्रभावशाली नेताहरूसमेत महाधिवेशनको अघिल्लो दिनसम्म ओलीको ‘ग्रिन सिग्नल’ पर्खिरहेका छन् । केही नेता भने आफूलाई ओलीले यसै पनि पार्टीभित्र सुरक्षित राख्दैनन् भन्ने लागेपछि उम्मेदवारी घोषणा गरिरहेका छन् । जसका कारण ओलीले चाहेजस्तो सर्वसम्मत अध्यक्षमा दोहोरिने वा आफूले चाहेकालाई सुरक्षित गर्ने परिस्थितिको अन्त्य हुँदै गएको छ ।

उपाध्यक्ष भीम रावलले यसअघि नै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यसबाहेक दशबुँदेबाट पार्टीमा रहेका अन्य नेताले अहिलेसम्म औपचारिक उम्मेदवारीको घोषणा गरेका छैनन् । त्यस्तै, उपमहासचिव घनश्याम भुसालले वरिष्ठ उपाध्यक्षमा उठ्ने मनस्थिति बनाएका छन् । भुसालले सम्भवतः बिहीबारसम्म आफ्नो उम्मेदवारी सार्वजनिक गर्नेछन् । तर, त्यसबाहेक अन्य नेताले के गर्ने भन्ने निर्णय गरिसकेका छैनन् ।

औपचारिक घोषणा नगरे पनि अधिकांश नेता पुरानै पदमा भए पनि आफूलाई सुरक्षित गर्ने तयारीमा छन् । यसअघि नै पदाधिकारीमा रहेका कम्तीमा पनि सोही पदमा रहन चाहेको आपसी छलफलमा प्रकट गर्दै आएका छन् । कतिपयले त सार्वजनिक रूपमा समेत अभिव्यक्ति दिइरहेका छन् । उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अहिलेसम्म कुनै पदमा दाबी सार्वजनिक गरेका छैनन् । तर, संवादमा रहेका नेताहरूका अनुसार दुवैजना उपाध्यक्षमा दोहोरिन चाहिरहेका छन् । 

दुवैले नयाँ पत्रिकासँगको कुराकानीमा भने आफूहरू छलफलमा नै रहेको र कुनै निष्कर्षमा पुगिनसकेको बताए । यस्तै, नवौँ महाधिवेशनमा महासचिव पदमा पराजित भएका सुरेन्द्र पाण्डेले पुनः महासचिव पदमा दाबी गर्ने मनस्थिति बनाएका छन् । तर, ओलीले अरू नै नेताहरूलाई उक्त पदमा राख्ने सम्भावनाका कारण महासचिवमा दाबी गरे पनि उपाध्यक्ष पाए चित्त बुझाउन सक्नेछन् । नयाँ पत्रिकासँग कुराकानीमा भने पाण्डेले महाधिवेशन सुरु भएपछि मात्रै आफ्नो दाबी सार्वजनिक गर्ने बताए ।

यस्तै, सचिव योगेश भट्टराईले आफू सचिव पदमा दोहोरिन चाहेको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । दशबुँदेमार्फत एमालेमा रहे पनि सत्ता बहिर्गमनका समयमा मौन रहेका कारण ओलीको सदाशयता पाएका भट्टराई सचिवमा दोहोरिने सम्भावना छ । अर्का सचिव गोकर्ण विष्टले भने उपमहासचिव पदमा उम्मेदवारी दिने विषयमा आफूनिकटसँग छलफल चलाएका छन् । यद्यपि, उनी पनि उपमहासचिव नमिलेको खण्डमा सचिव पदमै दोहोरिन तयार हुन सक्ने देखिएको छ । त्यस्तै, स्थायी कमिटी सदस्य रघुजी पन्तले आफू उपाध्यक्षमा उठ्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । तर, औपचारिक घोषणा भने उनले पनि गरेका छैनन् ।