१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी पाकिस्तान
२०७८ मङ्सिर ७ मंगलबार २०:३४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानको बलुचिस्तानमा बालबालिकाको प्रदर्शन

Read Time : < 1 मिनेट
एजेन्सी पाकिस्तान
२०७८ मङ्सिर ७ मंगलबार २०:३४:००

पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित ग्वादर जिल्लामा अनावश्यक चेकपोस्ट राखिएको भन्दै प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई ऐक्यबद्धता दिन बालबालिका तथा सर्वसाधारण पनि सडकमा उत्रिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । 

‘ग्वादर को हक दो’ (ग्वादरलाई अधिकार दिनुहोस्) भनी लेखिएका प्लेकार्ड र ब्यानर बोकेका बालबालिकाले सहरका विभिन्न सडकमा जुलुस निकाले र पछि मुख्य धर्नामा सामेल भएको पाकिस्तानी पत्रिका डनले समाचार लेखेको छ । 

जुलुसको नेतृत्व गरेकी मौलाना हिदायत उल्लाह बलोचले ग्वादर र मकरानका निर्वाचित प्रतिनिधिहरूको आलोचना गरेकी छिन् । उनले निर्वाचित प्रतिनिधिहरूलाई धर्नामा सामेल हुन वा विधानसभाबाट राजीनामा दिन आग्रह गरेकी थिइन् । उनले आफ्नो निर्वाचन क्षेत्रको भ्रमण नगर्ने जनप्रतिनिधिलाई बेपत्ताको सूचीमा राख्नुपर्ने पनि उनको भनाइ थियो । सुरक्षा निकायको तैनाथीका बाबजुद पनि सयौँ अवैध ट्रलरहरू बलुचिस्तानको पानीमा अवैध माछा मार्ने काममा संलग्न रहेको र त्यसले स्थानीय माछा मार्ने मानिसहरूको जीविकोपार्जनमा समस्या देखिएको पनि बलोचको भनाइ थियो । 

उनले अवैध माछा मार्ने कार्य तत्काल रोक्न र प्रदेशका सबै मदिरा पसल सिल गर्न सम्बन्धित निकायलाई आग्रह गरिन् । ‘अन्यथा मानिसहरूले तिनीहरूलाई नष्ट गर्नेछन्,’ उनले भनेकी छिन् । उनले भनिन्, ‘यदि हाम्रो माग पूरा भएन भने १२६ दिनसम्म धर्ना दिएर बसेका प्रधानमन्त्री इमरान खानको कीर्तिमान तोड्न १२७ दिनसम्म धर्ना जारी राख्छौंँ ।’ 

बलुचिस्तान पाकिस्तानको एक स्रोत धनी तर कम विकसित प्रान्त हो जहाँ विगत केही दशकदेखि पृथकतावादी प्रदर्शन हुँदै आएको छ । मानवअधिकारसम्बन्धी पछिल्लो प्रतिवेदनमा, अमेरिकी राज्य विभागले पाकिस्तानमा सरकारद्वारा गैरकानुनी वा स्वेच्छाचारी हत्याहरू र पस्तुन, सिन्धी र बलुच मानवअधिकार कार्यकर्ताहरू जबरजस्ती बेपत्ता पारिएको भन्दै आलोचना गरिएको छ ।