Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार १६:०२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेको ओरालो यात्रा कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार १६:०२:००

मंगलबार पनि सेयर बजार सूचक नेप्से ओरालो यात्रामा देखिएको छ। यस दिन नेप्से परिसूचक दुई हजार सात सय २० बिन्दुसम्म ओर्लिएर पुनः फर्किने क्रममा रह्यो। यद्यपि, बजार बन्द हुँदा नेप्से परिसूचक ३२.२९ अंकले घटेर दुई हजार सात सय ३३ बिन्दुमा पुगेको छ।

आज बजारमा दुई सय २७ प्रकारका धितोपत्र, ऋणपत्रलगायतको कारोबार हुँदा चार अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। अघिल्लो दिनभन्दा २४ करोड रुपैयाँले कारोबार रकममा वृद्धि भएको हो। अन्तिम समयतिर खरिददारीसमेत बढेको बजारमा २२ किसिमका धितोपत्र र ऋणपत्रलगायतको मूल्य बढेर कारोबार भएको छ। एक सय ९४ वटा धितोपत्र र ऋणपत्रको भने मूल्य घटेर कारोबार भएको हो।

नेपाल टेलिकम, नेसनल हाइड्रोपावर, महालक्ष्मी विकास बैंकलगायतको सेयर कारोबारमा वृद्धि भएको छ। यी कम्पनीका १० देखि ४१ करोड रुपैयाँसम्मको सेयर खरिदबिक्री भएको हो। तल्लो इन्द्रावतीको अनुमतिपत्र पुनः पाएको खबरले नेसनलमा लगानीकर्ता आकर्षित हुन थालेका हुन्। कम्पनीले अन्य आयोजनाहरूको सम्भाव्यता अध्ययनसमेत गरिरहेको छ। हाल भने कम्पनी ३५ करोड रुपैयाँ सञ्चित नोक्सानीमै छ। मानुषी लघुवित्तमा केही दिनदेखि लगातार मूल्य बढेर सर्किट ब्रेक लागिरहेको छ।

आइसिएफसी, नारायणी नेसनल डेभलपमेन्टलगायतको मूल्य सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ। नारायणी नेसनलको चालू आवको पहिलो त्रैमासमा नाै लाख ११ हजार रुपैयाँ नोक्सानमा र २१ करोड ९२ लाख रुपैयाँ सञ्चित नोक्सानमा छ। कम्पनीको केही समय अघिसम्म प्रतिकित्ता करिब १२ सय रुपैयाँसम्म कारोबार भइरहेको थियो। हाल नाै सय रुपैयाँमा सेयर किनबेच भइरहेको छ। नेपाल टेलिकम सूचीकृत ‘अन्य’ समूहगत परिसूचकबाहेक यस दिन सबै समूहगत परिसूचक घटेका छन्।

सेयर गतिविधि
गणपति लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ। कम्पनीले गरेको १९ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनको लागि नगद लाभांश  प्रस्ताव कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ।

मेगा बैंकले २८ मंसिरमा साधारणसभा आयोजना गर्ने भएको छ। मंसिर १४ गते बुक क्लोज मिति तय गरेको बैंकमा १३ मंसिरसम्म लगानी हुनेले १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।

२१.४८ प्रतिशत बोनस र कर प्रयोजनका लागि एक प्रतिशत नगद घोषणा गरेको नेरुडे लघुवित्तले १० पुसका लागि साधारणसभा डाकेको छ। २५ मंसिरसम्म कम्पनीमा लगानी हुनेले लाभांश प्राप्त गर्नेछन्।
 
यस्तै, हायात होटेल कम्पनीको सञ्चालकमा आइसिटिसी होल्डिङ कम्पनीको प्रतिनिधि फेरबदल भएको छ। आइसिटिसीबाट जेडी श्रेष्ठ होटेलको सञ्चालकमा नियुक्त भएका हुन्।  यसअघि डिजा श्रेष्ठले प्रतिनिधित्व गर्दै आएकी थिइन्।