सभामुख अग्निप्रसाद सापकोटाले न्यायपालिकामा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन्। सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनमा सहयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएको नेपाल बार एसोसिएसनको टोलीसँग उनले अहिले न्यायालयमा जे बहस भइरहेको छ त्यसलाई आफूले निकै नजिकबाट अध्ययन गर्ने कोसिस गरिरहेको बताए।
यसमा सहज र स्वाभाविक निकास निकाल्नुपर्ने उनले बताए। ‘तपाईंहरूले जुन विषयमा ध्यानाकर्षण गराइराख्नुभएको छ। यो गम्भीर, असाधारण र छिटोभन्दा छिटो निकास निकाल्नुपर्ने विषय हो। समस्या किन गहिरिएको छ भन्ने विषयमा चिन्ताभन्दा पनि चिन्तनतिर आफूलाई केन्द्रित गरेको छु,’ सापकोटाले भने। नेपाल बारले प्रधानन्यायाधीश जबरालाई किन पदमुक्त गर्नुपर्छ भन्ने कारणसहित सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको थियो।