मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
कानुन व्यवसायीमाथि दुर्व्यवहार गर्ने तीर्थ ढकाल (औँला ठड्याउने) र सीताराम श्रेष्ठ (बायाँबाट पहिलो)
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ४ शनिबार ०६:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बारको आन्दोलन बिथोल्न टोले गुन्डादेखि भाडाका प्रदर्शनकारीसम्म परिचालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ४ शनिबार ०६:५३:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीलाई बिहीबार बार एसोसिएसन परिसरमै प्रवेश गरी धम्क्याउने व्यक्ति टोले गुन्डा भएको खुलेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले बिहीबार साँझै पक्राउ गरेका तीर्थ ढकाल कागेश्वरी–मनोहरा नगरपालिका– ६ मूलपानीका टोले गुन्डा भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार तीर्थ मूलपानी क्षेत्रमा असामाजिक गतिविधिका कारण चर्चित छन् । स्थानीय तहमा गुन्डागर्दी गर्ने उनले नेपाली सेनाका जवानलाई समेत कुटपिट गरेका थिए । उक्त घटनापछि केही वर्ष फरार भएका उनी पछि घर फर्किएका थिए । तीर्थ नेपालगन्ज उच्च अदालतका न्यायाधीश पुरुषोत्तम ढकालका भतिज रहेको अनुसन्धानमा खुलेको छ । उनकै नेतृत्वमा आएको समूहले बिहीबार कानुन व्यवसायीमाथि अपशब्द बोल्दै अभद्र व्यवहार गरेको थियो । 

तीर्थकै नेतृत्वमा आएका जोरपाटीका सीताराम श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । सोही समूहका वीरेन्द्र केसी भने फरार छन् । मूलपानीकै स्थानीय वीरेन्द्रले पनि कानुन व्यवसायीहरूलाई गालीगालौज गरेका थिए । प्रहरीका अनुसार तीर्थले बारको आन्दोलन बिथोल्न मूलपानीबाट आफ्ना केटाहरू ल्याएको बयान दिएका छन् । 

पक्राउ परेका तीर्थ र सीतारामलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट शुक्रबार पाँच दिनको म्याद थपेर थुनामा राखिएको छ । महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएका दुवैविरुद्ध अभद्र व्यवहार मुद्दाअन्तर्गत कारबाही अघि बढाएको परिसर प्रवक्ता एसपी रमेश बस्नेतले बताए । 

‘बार परिसरमा प्रवेश गरी कानुन व्यवसायीहरूलाई गालीगलौज गर्नेहरूविरुद्ध पाँच दिनको म्याद थप भएकोे छ । अभद्र व्यवहार मुद्दाअन्तर्गत उनीहरूविरुद्ध अनुसन्धान अघि बढेको छ । सिडिओ कार्यालयबाट उनीविरुद्ध म्याद थप भएको हो,’ उनले भने ।

भाडामा प्रदर्शनकारी ल्याएर जबराको पक्षमा माइतीघरमा प्रदर्शन, बेलुका पैसा बुझेर फर्किन्छन्
प्रधानन्यायाधीश जबराको पक्षमा र कानुन व्यवसायीको विपक्षमा माइतीघरमा प्रदर्शन गर्नेलाई भाडामा ल्याइएको खुलेको छ । दिनभर प्लेकार्ड बोकेर अधिवक्तालाई गाली गर्ने र जबराको गुणगान गाउनेहरू बेलुका सात सयदेखि हजारसम्म बुझेर फर्किने गरेका छन् । उनीहरू प्रदर्शन सकिएपछि माइतीघर आसपासका होटेलमा जम्मा हुन्छन् । कापीमा नाम टिपाउँछन् र रकम बुझेर सुटुक्क बाटो लाग्छन् । प्रदर्शनमा सहभागी भएबापत सुकिला–मुकिलाहरूले प्रतिदिन हजार पाउँछन् भने सामान्य पहिरनमा पुगेकाले सात सय बुझ्छन् । 

मकालु खबर डटकमले भाडाका प्रदर्शनकारीले पैसा बुझ्ने गरेको प्रमाण देखिने भिडियो नै सार्वजनिक गरेको थियो । उक्त भिडियोमा देखिएकी एक महिलाले प्रदर्शनमा सहभागी भएबापत हजार रुपैयाँ पाउने गरेको बताएकी छिन् । भिडियोमा उनले भनेकी छिन्, ‘हिजो मात्र आएको, हजार रुपैयाँ दिइएको थियो । आजचाहिँ नाम लेखाउन पाइएन । त्यसैले दिन्छ कि दिँदैन भनेर बुझ्न आएको ।’