मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
इच्छाराज तामाङ
टेकराज थामी काठमाडौं
२०७८ मङ्सिर १ बुधबार ०८:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिभिल सहकारी ठगी प्रकरण : थप ३३ विरुद्ध जाहेरी, तामाङको  थप सम्पत्ति खोज्दै प्रहरी

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ मङ्सिर १ बुधबार ०८:३४:००

संगठित ठगीमा सहभागी भएको भन्दै सिभिल सहकारीसँग सम्बन्धित थप ३३ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । सहकारीको रकम अपचलनमा साझेदारी देखिएपछि पीडितले उनीहरूविरुद्ध जाहेरी दिएका हुन् । प्रहरीका अनुसार जाहेरीमा उल्लेखित अभियुक्त सहकारीको सञ्चालक समितिमा रहेकाहरूको परिवारका सदस्य र पूर्वकर्मचारी छन् । जाहेरी परेलगत्तै उनीहरूविरुद्धको खोजीकार्यलाई प्रहरीले तीव्रता दिएको छ । तर, हालसम्म कोही पनि पक्राउ परेका छैनन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिआइजी धीरजप्रताप सिंहले संगठित ठगी अभियोगमा थप ३३ जनाविरुद्ध जाहेरी परेको स्वीकार गरे । ‘सहकारीपीडितले थप ३३ जनाविरुद्ध जाहेरी दिएका छन् । जाहेरी दर्ता भइसकेको छ । सबै भागेर हिँडेको सूचना हामीले पाएका छौँ । उनीहरूविरुद्ध खोजीकार्य तीव्र पारिएको छ । पक्राउ परेपछि सबैविरुद्ध अनुसन्धान चल्नेछ,’ उनले भने ।

प्रहरीका अनुसार पीडितले सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य, छोरीहरू प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङ, निवर्तमान अध्यक्ष केशवलाल श्रेष्ठकी श्रीमती मीनाकुमारी श्रेष्ठ, छोरा प्रवेशलाल र छोरी सृष्टि श्रेष्ठविरुद्धको जाहेरीलाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यसपछि इच्छाराजका व्यापारिक साझेदार तथा सहकारीको ऋणी लालकाजी गुरुङ, उनकी श्रीमती मीना, छोराहरू हेमन्त, स्वदेश र छोरी जुनी गुरुङविरुद्धको जाहेरी प्राथमिकतामा छ । लालकाजी सुन्धारास्थित सिभिल मलका मालिक हुन् । मलमा इच्छाराजको पनि सेयर लगानी छ । मल बनाउँदा सिभिल सहकारीबाट विनाधितो ऋण लिइएको थियो । 

पीडितले पक्राउ पर्न बाँकी सञ्चालक समितिका सदस्यहरू जयन्द्रलाल श्रेष्ठ, दुर्गाप्रसाद संग्रौला, इन्द्रराज हुमागाई, प्रवीण प्रधान, खेमनाथ डल्लाकोटी, केशवकुमार अमात्य, रामकृष्ण पौडेल, सुमननन्द वैद्य, गोपालबहादुर श्रेष्ठ, अष्टरत्न तुलाधर, मुकुन्दप्रसाद न्यौपाने र दानहिरा कंसाकारविरुद्ध पनि जाहेरी दिएका छन् । त्यस्तै, जाहेरीमा सहकारीका कर्मचारी रञ्जना शाक्य महर्जन, प्रकाशकुमार बर्मा, जीवनराज बज्राचार्य, रवीन नकर्मी र सुवासकुमार श्रेष्ठसहित अन्य कर्मचारीको नाम पनि उल्लेख छ । जाहेरीमा उल्लेखित सबैविरुद्ध संगठित ठगीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको सिआइबी प्रमुख डिआइजी सिंहले जानकारी दिए । ‘सिभिल सहकारी संगठित ठगी हो । सोही अभियोगमा यसअघि १२ जना पक्राउ परिसकेका छन् । अब ३३ जनालाई पनि पक्राउ गर्छांै । उनीहरूविरुद्ध संगठित ठगी मुद्दाअन्तर्गत अनुसन्धान हुन्छ,’ उनले भने ।

हालसम्म एक हजार चार सय ४२ पीडितले दिए जाहेरी
सिआइबीमा हालसम्म एक हजार चार सय ४२ पीडितले जाहेरी दिइसकेका छन् । जाहेरीमा उल्लेखित रकमको परिमाण पाँच अर्ब ५३ करोड ३३ लाख ११ हजार एक सय ३७ रुपैयाँ छ । संगठित तवरले निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी गरेको भन्दै ब्युरोले गत १८ असोजमा सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद इच्छाराजसहित १२ जनालाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध प्रहरीको अनुसन्धान जारी छ । 

प्रहरी अहिले इच्छाराज र सिभिल सहकारीसँग सम्बन्धित व्यक्तिको सम्पत्ति खोजीमा जुटेको छ । तर, प्रहरीले सम्पत्तिको भरपर्दो स्रोत अझै फेला पार्न सकेको छैन । पीडितका अनुसार इच्छाराजले विगतमा १६ अर्ब ५० करोड २९ लाख रुपैयाँभन्दा धेरै मूल्यबराबरको अचल सम्पत्ति देखाई निक्षेपकर्तालाई लोभ्याउँदै आएका थिए ।

जसमध्ये अधिकांश सिभल होम्स सिरिजका अपार्टमेन्ट छन् । सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभकेतन ढुंगाना र पूर्वलेखा समिति सदस्य हरिहर लामिछाने अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले हिनामिनामा संलग्न भएको भन्दै सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई पनि पक्राउ गरेको छ ।