मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २८ आइतबार १२:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २८ आइतबार १२:३७:००

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले भौतिक रूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिक रूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए।

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउँदै आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने धारणा राखे। समयको मागअनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो।  प्रधानमन्त्री देउवाले महाकवि देवकोटा संग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गरे।

साहित्यकार परिचयपत्र वितरण
समारोहमा प्रधानमन्त्री देउवाले बहुप्रतीक्षित लेखक–साहित्यकार परिचयपत्र वितरण कार्यको आरम्भ गरे। प्रधानमन्त्रीबाट पूर्वसदस्यसचिव तथा वांगमय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गंगाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्वसदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक/साहित्यकार परिचयपत्र वितरण गरिएको थियो । प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने जानकारी दिए।

सभामा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचारिक आरम्भ पनि गरियो। सो वेबसाइटमा अनलाइनबाटै हल बुकिङ तथा पुस्तक–पत्रिका बिक्री–वितरणको समेत व्यवस्था गरिएको छ। रासस