१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २८ आइतबार ०७:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेको साख दिनप्रतिदिन घट्दै गएको नेकपा एसको निष्कर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २८ आइतबार ०७:१५:००

एकीकृत समाजवादीले प्रमुख प्रतिपक्ष दल एमालेको साख दिनप्रतिदिन घट्दै गएको निष्कर्ष निकालेको छ । शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै पार्टी अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका बढेको दाबी गरेका छन् ।

एमालेले आगामी तीनै तहको चुनावमा बहुमत ल्याउने दाबी गरिरहेका वेला एकीकृत समाजवादीले एमालेको साख गिरेको निष्कर्ष निकालेको हो । बैठकपछि पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जारी गरेको विज्ञप्तिमा नेपालको भनाइ छ, ‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीको भूमिका बढिरहेको छ । एमालेको साख दिनपरदिन घट्दै गएको छ ।’

अध्यक्ष नेपालले गठबन्धन निर्माणमा प्रभावकारी भूमिका खेलेको र त्यहीअनुसार जिम्मेवारी पनि पाएको उल्लेख गरेका छन् । ‘हामीले गठबन्धन निर्माणमा प्रभावकारी भूमिका खेलेका छौँ । संघीय र प्रदेश सरकारमा यथोचित नेतृत्व गरेका छौँ,’ नेपालको भनाइ छ । आफ्नो पार्टीले राष्ट्रिय आत्मसमर्पणवादबाट देशलाई जोगाउने काम गरेका नेपालको दाबी छ । 

जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन : खनाल
एमालेबाट अलग भई बनेको एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शन सिद्धान्त बनाउन नसकिने प्रस्ताव पेस भएको छ । सम्मानित नेताको हैसियतमा झलनाथ खनालले शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा पेस गरेको वैचारिक राजनीतिक टिपोटमा जबजलाई मार्गदर्शन सिद्धान्त बनाउन नहुने प्रस्ताव छ ।

एमालेको विधान महाधिवेशनले जबजलाई मार्गदर्शन सिद्धान्त मानेको छ । नेता खनालले जनताको बहुदलीय जनवादको वर्गचरित्रबारे विश्लेषण गर्दै जबज मार्गदर्शन सिद्धान्त बन्न नसक्ने उल्लेख गरेका छन् । ‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन ।

मार्क्सवाद–लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ,’ खनालको टिपोटमा छ, ‘त्यसरी मात्र हामी समाजवादका लक्ष्य हासिल गर्न सक्छौँ र नेपाली जनताको सपनाका रूपमा हामीले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को निर्माण गर्न सक्छौँ ।’