नेकपा एमाले लमजुङले आसन्न महाधिवेशनका लागि दुई हजार पाँच सय एकजनाको जनपरिचालन कमिटी बनाएको छ । जिल्ला कमिटी लमजुङको मंगलबार बसेको बैठकले जिल्ला अध्यक्ष धनञ्जय दवाडीको अध्यक्षतामा जनपरिचालन कमिटी बनाएको हो । महाधिवेशनकेन्द्रित जिल्ला कमिटीको मंगलबारको बैठकले चितवनमा हुने महाधिवेशनमा जिल्लाबाट उद्घाटनसत्रमा चार हजारजनाको सहभागिता हुने गरी योजना बनाएको छ ।
बैठकले महाधिवेशनका लागि सबै पालिकाबाट सहभागिता हुने गरी चार हजारजना लैजाने योजना बनाएको हो । नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने महाधिवशेनमा लमजुङबाट ११ जना प्रतिनिधि सहभागी हुने भएका छन् । खुलाबाट ६, महिलाबाट तीन र दलितबाट दुईजना प्रतिनिधि सहभागी हुने भएका छन् । ६ हजार चार सय ३२ जना पार्टी सदस्य रहेकामा एमालेको विधानअनुसार यत्तिका संख्यामा महाधिवेशन प्रतिनिधि छनोट हुने भएका हुन् ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन तालिकासमेत एमालेले सार्वजनिक गरेको छ । जसमा मतदाता नामावली प्रकाशन कात्तिक २४ गते ११ बजेभित्र, निर्वाचन क्षेत्र छनोट सोही दिन ५ बजेसम्म, उम्मेदवारी दर्ता २५ गते १० बजेदेखि ५ बजेसम्म, उम्मेवारको नामावली प्रकाशन सोही दिन बेलुका ६ बजेसम्म, उम्मेदवारमाथि दाबी–विरोध २६ गते १० बजेसम्म, उम्मेदवारी फिर्ता सोही दिन दिनभर र प्रतिनिधि छनोट तथा घोषणा २७ गते हुने नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडीले बताए । प्रतिनिधि छनोटका लागि अधिवक्ता बुद्धिसागर बरालको संयोजकत्वमा ईश्वर पौडेल र विमल अधिकारी रहेको निर्वाचनमण्डलसमेत गठन गरिएको नेकपा एमाले जिल्ला कमिटीका सचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।