मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १९ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक १९ शुक्रबार १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुसन्धानकेन्द्रित शिक्षण अभ्यासमा जोड देऊ :  मुख्यमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १९ शुक्रबार १५:o६:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानकेन्द्रित शिक्षण अभ्यासमा जोड दिनुपर्ने बताएका छन्। बिहीबार गैँडाकोटमा भएको शिक्षा सेवा नेपालको चौथो साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उनले अनुसन्धानले नै शिक्षाको महत्व बढाउने भएकाले त्यसमा लगानी बढाउन जरुरी रहेको भनाइ राखेका हुन्। विदेशका विश्वविद्यालय र शैक्षिक संस्थाहरू अनुसन्धानमा नै केन्द्रित हुने भएकाले शिक्षा प्रभावकारी भएको उनको भनाइ थियो।

मुख्यमन्त्री पोखरेलले प्रदेशले व्यावसायिक शिक्षामा जोड दिएको भन्दै गण्डकी विश्वविद्यालयको स्थापना त्यसैका लागि गरिएको भनाइ राखे। सरकारले प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न लागेको र यसले प्राविधिक शिक्षालाई नै जोड दिने उनको भनाइ थियो। आफ्नो नेतृत्वमा सरकार बनेपछि शिक्षा नीति आएको र यसमा प्राविधिक र व्यावहारिक एवं जीवनोपयोगी शिक्षामै जोड दिइएको उनले बताए।

शिक्षाको विकासमा निजी क्षेत्रको योगदानलाई बिर्सन नहुने भन्दै सामुदायिक र सरकारी स्कुल तथा कलेजलाई पनि प्रभावकारी बनाउन सरकारले लगानी गर्ने भनाइ उनले राखे। संघीयतापछि शैक्षिक क्षेत्रमा देखिएको अन्योलता चिर्न अब ढिला भइसकेको भन्दै उनले संघीय सरकारले शिक्षा ऐन ल्याउन ढिलाइ गर्दा प्रदेशले पनि ल्याउन नसकेको बताए। उनले भने, ‘संघीय सरकारले शिक्षा ऐन नल्याए प्रदेश सरकारले ऐन बनाएर लागू गर्छ। बाझिएका विषय पछि स्वतः खारेज हुनेछन्।‘