सन् २००७ देखि दक्षिण अफ्रिकाबाट पुरुष टी–२० विश्वकप सुरु भएको हो । अहिले युएई र ओमानले संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका छन् । यो सातौँ संस्करण हो । सातौँ संस्करणसम्म केही रोमाञ्चक नतिजा आएका छन् । वेस्ट इन्डिजले दुईपटक विश्वकप उपाधि उचालेको छ । भारत, पाकिस्तान, श्रीलंका तथा इंग्ल्यान्डले एक–एकपटक उपाधि चुमेका छन् । विश्वकपमा सहभागी टोलीका ब्याट्सम्यान, बलर र फिल्डरसम्मले आ–आफ्ना नाममा रेकर्ड राखेका छन् । विश्वकपका केही रोचक तथ्य यसरी हेर्न सकिन्छ ।
धेरै रेकर्ड गेलको नाममा
विश्वकपमा वेस्ट इन्डिजका क्रिस गेलले सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनको नाममा सबैभन्दा बढी छक्का प्रहार गर्ने रेकर्ड छ । गेलले अहिलेसम्म ६१ छक्का प्रहार गरेका छन् । वेस्ट इन्डिजका बायाँहाते ब्याट्सम्यान गेल क्रिकेटका तीनवटै फम्र्याटमा विस्फोटक ब्याटिङ गर्न सक्छन् । चौका र छक्का प्रहार गर्न खुवै मन पराउने गेल टी–२० फम्र्याटकै विशेषज्ञ ब्याट्सम्यान पनि हुन् ।
लगातार विश्वकपमा सहभागिता जनाएका गेल दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यानमा पर्छन् । यद्यपि, चालू विश्वकपमा उनी फर्ममा छैनन् । गत संस्करणमा वेस्ट इन्डिज च्याम्पियन बन्दा गेलको ब्याट खुवै चलेको थियो । यसपटक उनी फर्ममा छैनन् । विश्वकपमा २८ इनिङ्समा उनले नौ सय ३६ रन बनाएका छन् । गेलले विश्वकपमा दुई शतकीय इनिङ्स खेलेका छन् ।
विश्वकपमा उनी सर्वाधिक शतकीय इनिङ्स खेल्ने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमै छन् । गेलले अहिलेसम्म दुई शतकीय इनिङ्स खेलेका छन् ।गेलले टी–२० धेरैका रेकर्डआफ्ना नाममा राखेका छन् । यसमध्ये उनी सर्वाधिक चौका प्रहार गर्ने सूचीको लिस्टमा तेस्रो स्थानमा छन् । उनले विश्वकपमा अहिलेसम्म ७३ चौका ठोके । कोहलीपछि विश्वकपमा बढी अर्धशतक बनाउने ब्याट्सम्यान हुन्– गेल । गेलले २००७ देखि प्रतियोगितामा सहभागिता जनाइरहेका छन् । उनले अहिलेसम्म सातपटक अर्धशतकीय इनिङ खेलेका छन् । गेलले विश्वकपमा ३० खेलमा २८ इनिङ्समा १४४.९३ को स्ट्राइकमा ब्याटिङ गरेका छन् ।
सर्वाधिक व्यक्तिगत रन
महेला जयवद्र्धने (श्रीलंका)
जयवद्र्धने क्रिकेट जगत्कै क्लासिक ब्याट्सम्यान मानिन्छन् । कमजोर बलमा मात्र उनी स्ट्रोक लगाउँछन् । उनी उच्चफर्ममा हुँदा रनको वर्षा गर्छन् । टी–२० विश्वकपमा जयवद्र्धनेको नाममा सर्वाधिक व्यक्तिगत रन जोड्ने कीर्तिमान छ । पाँचपटकको विश्वकप सहभागितामा उनले ३१ खेलमा एक हजार १६ रन बनाएका छन् । श्रीलंकाका पूर्वकप्तान जयवद्र्धनेले सन् २००७ देखि २०१४ सम्मको संस्करणमा यो कीर्तिमान राखेका हुन् । विश्वकपमा उनले १३४.७४ स्ट्राइकमा ६ पटक अर्धशतक बनाएका छन् ।
तिलकरत्ने दिल्सान (श्रीलंका)
श्रीलंकाली ब्याट्सम्यान सुस्त नै भन्छन् । तर, टी–२० विश्वकपमा श्रीलंकाली ब्याट्सम्यानले तहल्का नै मच्चाएका छन् । ओपनिङदेखि मध्यक्रमसम्म ब्याटिङ गर्न रुचाउने दिल्सान विश्वकपकै व्यक्तिगत सर्वाधिक तेस्रो रन बनाउने ब्याट्सम्यानमा पर्छन् । उनको खुवी नै लक्ष्य पछ्याउँदा दमदार ब्याटिङ गर्नु हो । ६ पटक विश्वकपमा सहभागिता जनाएका दिल्सानले ३४ इनिङ्समा आठ सय ९७ रन जोडेका छन् । जसमध्ये उनले ६ पटक अर्धशतक बनाए ।
विराट कोहली (भारत)
कोहली पछिल्लो समय भारतकै मुख्य ब्याट्सम्यान हुन् । यस विश्वकप नै अन्तिम बताएका कोहली चौथोे सर्वाधिक रन बनाउने खेलाडी हुन् । पछिल्लो तीन विश्वकपमा उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । विश्वकपमा उनले १८ इनिङ्समा आठ सय ४३ रन जोडेका छन् । तीनवटै फम्र्याटमा कप्तान कोहलीले सन् २०१४ को विश्वकप तीन सय १९ रन जोडेका थिए । विश्वकपमा उनको औसत नै ५०.५ रहेको छ ।
एबिडी भिलियर्स (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिकाले पाएका राम्रा ब्याट्सम्यानमध्ये भिलियर्स पनि एक हुन् । जब भिलियर्स फर्ममा हुन्छन्, त्यसवेला उनको ब्याटिङ कला हेर्न नै फरक आनन्द आउँछ । टेस्ट, एकदिवसीय तथा टी–२० फम्र्याटमा एकैनास ब्याटिङ गर्न सक्ने खुवी भएका भिलियर्स टी–२० विश्वकपकै पाँचौँ सर्वाधिक रन बनाउने ब्याट्सम्यानमा पर्छन् । उनले ६ पटक विश्वकप खेल्दा सात सय १७ रन जोडेका छन् । मैदानको चारैतिर रन बटुल्न सक्ने भएकाले उनलाई ‘मी ३६०’ उपनाम दिइएको छ । उनले विश्वकपमा पाँच अर्धशतकीय इनिङ्स खेलेका थिए ।
सर्वाधिक योगफल
श्रीलंका : २६०/६
सन् २००७ को पहिलो संस्करणको विश्वकपमै श्रीलंकाले सर्वाधिक योगफल खडा गर्यो । प्रतियोगिताकै सातौँ खेलमा श्रीलंकाले केन्याविरुद्ध २६०/६ को स्कोर खडा गरेको थियो । जुन अहिलेसम्मकै एक टोलीले बनाएको उच्चतम योगफलकै रूपमा छ । सो खेलमा श्रीलंका एक सय ७२ रनले विजयी भयो ।
इंग्ल्यान्ड २३०/८
सन् २०१६ को संस्करणमा दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गरी दुई सय २९ रन जोड्यो । प्रतिओभर १२ रन आवश्यक परेको खेलमा इंग्ल्यान्डले २३०/८ को प्रदर्शन गर्यो ।
भारत २१८/४
सन् २००७ को विश्वकपमा भारतले २१औँ खेलमा इंग्ल्यान्डविरुद्ध २१८/४ को रेकर्ड राख्यो । भारत १८ रनले विजयी भयो ।
दक्षिण अफ्रिका २११/८
दक्षिण अफ्रिकाले सन् २००९ को संस्करणमा स्कटल्यान्डविरुद्ध २११/८ को प्रदर्शन गर्यो । यो विश्वकपकै पाँचौँ ठूलो योगफल हो । दक्षिण अफ्रिका खेलमा एक सय ३० रनले विजयी भयो ।
सर्वाधिक विकेट
सकिब अल हसन (बंगलादेश)
बंगलादेशका सकिब अल हसन विश्वकै राम्रा अलराउन्डरमा गनिन्छन् । चालू विश्वकपमा उनको ब्याटिङ र बलिङले त्यत्तिकै चर्चा पाइरहेको छ । टी–२० विश्वकपमा सकिबको नाममा फरक रेकर्ड भेटिन्छ । विश्वकपमा सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा सकिब छन् । उनले २००७ देखि अहिलेसम्म ३१ खेलमा ४१ विकेट लिएका छन् ।
सहिद अफ्रिदी (पाकिस्तान)
आफ्नो समयमा पाकिस्तानका पूर्वकप्तान सहिद अफ्रिदीले निकै नाम कमाए । अलराउन्डको गणना हुँदा अफ्रिदीको नाम छुटाउन नहुनेमध्ये पर्छ । सन् २००७ देखि २०१६ को विश्वकपसम्म सहभागी भएका अफ्रिदीले दोस्रो सर्वाधिक विकेट लिने क्रममा ३४ खेलमा ३९ विकेट लिएका छन् । ३४ इनिङ्स नै खेलेका अफ्रिदीको उच्च प्रदर्शन ११/४ रहेको छ ।
लथिस मलिंगा (श्रीलंका)
बायाँहाते बलर मलिंका योर्कर फ्याँक्न उत्तिकै माहिर छन् । इनिङ्सको अन्तिम ओभरतिर पुरानो बलसँग खेल्न उनलाई त्यत्तिकै रमाइलो लाग्छ । मलिंगा विश्वकपकै तेस्रो धेरै विकेट लिने बलरमा पर्छन् । सन् २००७ देखि २०१४ सम्मको विश्वकप खेलेका मलिंगाले ३१ खेलमा ३१ इनिङ्समा ३८ विकेट लिएका छन् । मलिंगाको उत्कृष्ट प्रदर्शन नै ३१÷५ रहेको छ ।
सर्वाधिक अर्धशतक
विराट कोहली (भारत)
भारतका कप्तान कोहली टी–२० विश्वकपमा धेरै अर्धशतकीय इनिङ्स खेल्नेमा पर्छन् । उनले अहिलेसम्म १९ खेलको १९ इनिङ्समा ब्याटिङ गरी १० पटक अर्धशतक बनाएका छन् । जसमध्ये उनी सातपटक नटआउट रहे । विराट विश्वकपमा १३१.७५ को स्ट्राइकमा ब्याटिङ गर्छन् ।
महेला जयवद्र्धने (श्रीलंका)
श्रीलंकाली पूर्वकप्तान जयवद्र्धने विश्वकपमा सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा रहनुको पछाडि उनको अर्धशतकीय इनिङ प्रमुख मानिएको छ । टी–२० विश्वकपमा जयवद्र्धनेले ३१ खेलका ३१ इनिङ्समा ६ पटक अर्धशतक बनाएका छन् । उनको स्ट्राइक रेट १३४.७४ रहेको छ ।
युवराज सिंह (भारत)
भारतका अलराउन्डर युवराज सिंह टी–२० विश्वकपमा दोस्रो धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान हुन् । उनले ३१ खेलमा ३३ छक्का प्रहार गरे । विश्वपमा उनको स्ट्राइक १२८.९१ रहेको छ ।
सेन वाट्सन (अस्ट्रेलिया)
अस्ट्रेलियाका सेन वाट्सन आक्रमक र ठूलो सट प्रहार गर्न सक्छन् । टी–२० विश्वकपमा वाट्सनले २४ खेलमा ३१ छक्का प्रहार गरे । उनले विश्वकपमा १४०.८४ स्ट्राइकमा ब्याटिङ गरे ।