![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/football2021-04-06-10-04-05.jpeg)
एएफसी यू– २३ एसिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानको सामना गर्नेछ। यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छ। नेपाल र लेबनानबीचको खेल आज अपराह्न ४ः४५ बजे ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ।
नेपाल र लेबनानका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। दुवै टोली अघिल्ला दुई खेलमा पराजित भइसकेका छन् भने प्रतियोगिताबाट पनि बाहिरिसकेका छन्। समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ६–० गोलअन्तरले पराजित भएको थियो।
ताजिकिस्तान र इरान समान दुई खेलमा समान शीर्ष ६ अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। तेस्रो स्थानको लेबनान र चौथो स्थानको नेपाल अंकविहीन छन्। त्यस्तै ताजिकिस्तान र इरानविरुद्धको खेलले समूह ‘बी’को विजेताको टुंगो लाग्नेछ। यस समूहको शीर्ष टोलीले एएफसी यू– २३ एसियन कप खेल्नेछन्।
यस्तै, दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू– २३ एसियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका छ। रासस