सुडानको सैन्य सरकारले अमेरिकी र चिनियाँ राजदूतसहित ६ जनालाई गर्याे निलम्बन
सुडानको सैन्य सरकारले अमेरिकासहित ६ देशका राजदूतलाई निलम्बन गरेको छ। सेनाले बुधबार राति राजदूतहरूलाई निलम्बन गर्ने निर्णय गरेको हो। निलम्बनमा पर्ने राजदूतहरूमा अमेरिका, युरोपियन युनियन, चाइना, कतार, फ्रान्स तथा सुडानका लागि स्विजरल्यान्डको जेनेभा मिसन प्रमुखलाई निलम्बन गरेको हो। उनीहरूले सेनाको कदमलाई अस्वीकार गरेपछि उनीहरूलाई निलम्बन गरेको अलजजिराले उल्लेख गरेको छ।
सेनाले सोमबार गरेको ‘कु’बाट पछि हट्नका लागि चाैतर्फी दबाब आइरहेको वेला सैन्य सरकारले यस्तो निर्णय गरेको हो। सोमबार भएको सैन्य ‘कु’को विरोधमा अफ्किन युनियनले बुधबार सुडानमाथि प्रजातान्त्रिक सरकारको ‘प्रभावकारी पुनर्स्थापना’ नभएसम्मका लागि सुडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसैगरी विश्व बैंकले आर्थिक सहायता नदिने तथा अमेरिकाले सात सय मिलियन डलरको आपतकालीन सहयोग रोक्का गर्ने निर्णय गरेको छ। राजधानी खार्तुममा रहेका पश्चिमा राजदूतावासहरूले अपदस्थ गरिएका प्रधानमन्त्री अब्दल्लाह हमदोक र उनको मन्त्रिपरिषद्लाई ‘संक्रमणकालीन सरकारका वैधानिक नेता’ मान्ने प्रतिक्रिया दिएका छन्।
सुडानमा सेनाले शासन सत्ता कब्जा गरेपछि प्रजातन्त्रको पक्षधरहरूले सडकमा सेनाको कदमविरुद्ध गरिरहेकाे प्रदर्शनलाई अन्तर्राष्ट्रिय समुदायको दबाबका बाबजुद सुडानको सेनाले दमन गरिरहेको छ। यसैबीच सैन्य ‘कु’को विरोधमा देशव्यापी रूपमा भद्रअवज्ञा आन्दोलन भइरहेको छ। तर, सेनाले आन्दोलन दबाउने प्रयास गरिरहेको छ।
सुडानका सैनिक जनरल अब्देल फताह अल बुर्हानले सोमबार संक्रमणकालीन सरकार तथा देशलाई निर्वाचनमा लैजान गठन गरिएको सोभेरिएन काउन्सिललाई विघटन गर्दै प्रधानमन्त्री हमदोक तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई पक्राउ गरी सत्ता आफ्नो हातमा लिएका थिए। सत्ता हातमा लिएपछि संकटकालको घोषणा गरिए पनि दशौँ हजार मानिस सडकमा आएर सैन्य ‘कु’विरुद्धको प्रदर्शनमा सहभागी भइरहेका छन्। प्रदर्शनमा भएको झडपमा परी कम्तीमा पनि सातजना सर्वसाधारणको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको बताइएको छ।