Skip This
सुडानी संकट निवारणको पहलकदमी जरुरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३ सोमबार
  • Friday, 26 July, 2024
फिलिपो ग्रान्डी
मार्टिन ग्रिफिथ
सिन्डी म्याककेन
क्याथरिन रसेल
२o८१ बैशाख ३ सोमबार १o:o८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सुडानी संकट निवारणको पहलकदमी जरुरी

Read Time : > 2 मिनेट
फिलिपो ग्रान्डी
मार्टिन ग्रिफिथ
सिन्डी म्याककेन
क्याथरिन रसेल
नयाँ पत्रिका
२o८१ बैशाख ३ सोमबार १o:o८:oo

अप्रिलमा सुडानी सशस्त्र बल र रेपिड सपोर्ट फोर्सबीचको शक्ति–साझेदारी सम्झौताविच्छेदपछिको गृहयुद्धका कारण सुडानले विश्वको ध्यान खिचेको थियो । त्यसवेलादेखि, द्वन्द्वले देशलाई ध्वस्त पार्दै आएको तर अन्तर्राष्ट्रिय ध्यान भने चाँडै बिलायो ।

आजैका दिन अर्थात् १५ अप्रिलमा शान्तिपूर्ण अवस्था भत्किएको ठीक एक वर्षपछि सुडानलाई लिएर पेरिसमा उच्चस्तरीय सम्मेलन आयोजित हुँदै छ । फ्रान्स, जर्मनी र युरोपेली संघद्वारा आयोजना गरिएको यो सम्मेलनले विश्वको विस्मृतिमा गएको संकटबारे अन्तर्राष्ट्रिय ध्यान खिच्न महत्वपूर्ण अवसर प्रदान गर्नेछ । 

सुडानको हिंसाले हजारौँको ज्यान लियो र लाखौँलाई विस्थापित गरायो । यसले मानवीय प्रकोप सिर्जना गरेको छ, जसले यस क्षेत्रमा अस्थिरता फैलाउने जोखिम बढाउँछ । सुडानको पतनले छिमेकी देशमा पनि विद्रोह निम्त्याउन सक्छ ।सुडानको यस द्वन्द्वलाई नागरिकविरुद्धको डरलाग्दो आक्रमणको संज्ञा पनि दिइएको छ । यसमा डार्फरमा अन्धाधुन्ध र जातीय रूपमा उत्प्रेरित हत्या, महिला एवं बालिकाविरुद्ध व्यापक यौनहिंसा र गम्भीर भोकमरी पर्छन् । यी कारकले विश्वकै सबैभन्दा तीव्र स्तरको विस्थापन निम्त्याएको छ । 

एक वर्षभन्दा कम समयमा ८५ लाख मानिस विस्थापित भएका छन् र तीमध्ये करिब २० लाख मानिसले चाड, दक्षिण सुडान र इजिप्टमा शरण लिएका छन् । शरण खोज्नेमध्ये आधाभन्दा बढी बालबालिका छन् । छिमेकी देशले सहायता प्रदान गरेका छन्, तर केही मुलुक आफ्नै मानवीय संकटविरुद्ध जुझिरहेका छन् ।

यो क्षेत्र चाँडै नै विश्वको सबैभन्दा ठूलो भोकमरीको संकटयुक्त क्षेत्र बन्न सक्ने गम्भीर जोखिममा छ । सुडानमा जहाँ खाद्यान्नको मूल्य फेब्रुअरीसम्म एक सय १० प्रतिशतभन्दा माथि बढेको थियो । त्यहाँ झन्डै १८ लाख मानिस तीव्र रूपमा भोकमरीका चपेटामा छन् । दक्षिण सुडानमा झन्डै ७० लाख र चाडमा ३० लाखले सुडानकै नियति सामना गरिरहेका छन् ।

सुडान चाँडै नै विश्वको सबैभन्दा ठूलो भोकमरीको संकटग्रस्त क्षेत्र बन्न सक्ने गम्भीर जोखिममा छ 

सुडानमा भोकमरी एक बढ्दो खतरा हो र ठूलो संख्यामा मानिसले खाद्य असुरक्षाको आपत्कालीनस्तरको सामना गरिरहेका छन् । यी मानिस अनिकालबाट एक कदम मात्र टाढा छन् । दुर्भाग्य, यी जोखिममा रहेका मानिसमध्ये ९० प्रतिशत मानवीय एजेन्सीले सहजै पहुँच पाउन नसक्ने खार्तुम, गेजिरा राज्य, कोर्डोफान्स र डार्फरजस्ता द्वन्द्व क्षेत्रमा छन् । 

सुडानका बालबालिका यस युद्धबाट धेरै पीडित छन् । उदाहरणका लागि ६ वर्षीया फातिमा दुईपटक विस्थापित भइन्, पहिले खार्तुम र त्यसपछि गेजिराबाट कसलामा लडाइँबाट भागेर विस्थापित भइन् । झन्डै ५० लाख अन्य बालबालिकाजस्तै उनी पनि घर, विद्यालय र शान्तिको चाहना गर्छिन् । विडम्बना, बन्द विद्यालय, शिक्षकले तलब नपाएको अवस्था र विद्यालयको बजेट अभावका कारण एक करोड ९० लाख बालबालिकाले शिक्षा पाउन सकेका छैनन् । 

अन्तर्राष्ट्रिय समुदायले क्षेत्रीय विपत्ति रोक्न तत्काल कदम चाल्नुपर्छ । पहिलो, यसका लागि सुडानका स्थानीय स्वयंसेवी समूह र जोखिममा रहेका यौनहिंसाका पीडितलाई सहयोग गर्ने महिला संगठनलगायत संगठनलाई सुडानमा निर्बाध मानवीय पहुँच सुरक्षित गर्न आवश्यक छ । 

राष्ट्रसंघीय सुरक्षा परिषद्को हालैको प्रस्तावमा निर्बाध मानवीय पहुँचका लागि आह्वान गरे पनि जमिनीस्तरमा प्रगति सीमित छ । सिमाना र द्वन्द्वरेखा पार गरेर राहत सामग्री पुर्‍याउने प्रयास अझै पनि अवरुद्ध छन् र मानवीय टोली एवं आपूर्ति लुटपाट र आक्रमणको जोखिममा छन् ।

हामीलाई तत्काल सबै पक्षलाई निर्बाध पहुँचको अनुमति दिन र सबै सीमा नाका विशेषतः डार्फर र कोर्डोफानका सहायता एजेन्सीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न खुला राख्न आवश्यक छ ।दोस्रो, बढ्दो संकट सामना गर्न राम्रो लगानीसहितको आपत्कालीन प्रतिक्रिया आवश्यक छ । सुडानमा करिब एक करोड ५० लाखको जीवन जोगाउने उद्देश्यले २७ अर्ब डलरबराबरको संयुक्त मानवीय कोषको अपिल गरिएको थियो । तर, कोषमा ६ प्रतिशत मात्र रकम जम्मा भएको छ ।

छिमेकी देशमा शरणार्थी र फर्केकालाई सहयोग गर्न थप स्रोत आवश्यक छ । दक्षिण सुडानमा ३० लाख तीव्र रूपमा भोकमरीमा रहेका मानिसले कोषको अभावका कारण कुनै खाद्य सहायता प्राप्त गरिरहेका छैनन् । १२ लाख शरणार्थी र झन्डै ३० लाख चाडका जनतालाई यो महिनामा सबै रासन र बन्दोबस्ती गुमाउनबाट रोक्न तत्काल नगद आवश्यक छ ।

यी जोखिममा रहेका मानिसलाई तुरुन्तै अन्तर्राष्ट्रिय समर्थन र सुरक्षा चाहिन्छ, तर हाम्रा टोलीले अब सहयोग गर्न सक्नेछैनन्, यदि कोष कटौती अगाडि बढ्छ भने । यसले भोकमरीमा तीव्र बढोत्तरी निम्त्याउन सक्छ, जसले पहिल्यै धेरै गुमाएकाका लागि थप पीडा निम्त्याउन सक्छ र यस क्षेत्रमा अस्थिरता र अराजकतालाई बढावा दिन सक्छ । अग्रपंक्तिका शरणार्थी आउने देशमा जारी न्यून रकम सहयोगले सम्भवतः धेरै मानिसलाई भूमध्यसागर पार गर्ने खतरनाक जोखिम मोल्न प्रेरित गर्नेछ ।

विस्मृतिमा गएको यो संकटले सुडानमा युद्ध रोक्न र छिमेकीलाई स्थिर बनाउन दिगो राजनीतिक समाधानको माग गर्छ । यो पेरिस सम्मेलन हिंसा अन्त्य गर्ने, अनिकालबाट बच्न र व्यापक क्षेत्रमा स्थायित्व पुनस्र्थापना गर्ने उद्देश्यले नयाँ कूटनीतिक पहल सुरु गर्ने महत्वपूर्ण अवसर हो । अन्तर्राष्ट्रिय समुदायले यो अवसरलाई सदुपयोग गर्नुपर्छ र यसलाई खेर जान दिनुहुँदैन ।

(ग्रान्डी राष्ट्रसंघीय शरणार्थीका उच्चायुक्त हुन्, ग्रिफिथ मानवीय मामिला र आपत्कालीन राहत संयोजकका लागि राष्ट्रसंघका उपमहासचिव हुन्, म्याककेन विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक हुन् भने रसेल युनिसेफका कार्यकारी निर्देशक हुन्) अल जजिराबाट