
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाबारे विश्व समुदायको ध्यानाकर्षण गराएको छ। यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरूका लागि पनि तालिवानहरूसँग सम्पर्कमा रहिरहन आग्रह गरेको हो।
हाल इस्लामाबादको भ्रमणमा रहेका शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयुक्त फिलिपो ग्रान्डीले अफगानिस्तानमा मानवीय सहायताको खाँचो रहेको बताए। उनले भने– ‘हामी पनि अफगानिस्तानमा मानवीय सहायताको कामका लागि अहिले संलग्न भइरहेका छौँ र अरू पनि विश्वसमुदाय यहाँको अवस्थाबारे जानकार रहने र आवश्यक सहयोगका लागि लाग्नुपर्छ।’
हाल अफगानिस्तानको आन्तरिक प्रशासनसँग संलग्न भएर आफूहरूले काम गरेको धारणा उनले राखे। उनले अफगानिस्तानमा अहिले पनि ठूलो संख्याका महिला तथा बालबालिकाका लागि सहायताको खाँचो रहेको बताए।
‘यसका लागि विश्व समुदाय चनाखो नहुने हो भने यहाँको अवस्था झन् बिग्रँदै जाने पनि उनले बताए। अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो छ, यहाँका नागरिकलाई खाना, औषधि, वास तथा अन्य सबै चिजहरू चाहिएको छ,’ उनले भने।
उनका अनुसार यहाँको आर्थिक अवस्था झन् नाजुक भएको छ। यहाँ आर्थिक संकट आइसकेको उनले बताए। रासस