सेयर बजार परिसूचक नेप्से १८ अंकले बढेको छ । लगानीकर्ताको नाफा बुक गर्ने प्रतिस्पर्धाबीच पनि सेयर बजार सकारात्मक बनेको हो । झन्डै दुई हजार चार सयसम्म पुगेको नेप्से आइतबारबाट निरन्तर उकालो लागेर दुई हजार सात सय ६९ बिन्दुमा पुगेर रोकिएको छ । ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स भने झिनो अंकले हरियो मात्र बन्न पुगेको छ ।
दिनभरजसो बजार उतारचढाव रहन पुगेको थियो । बजार बढ्दा लगानीकर्ताहरू नाफा बुक गर्न लागेको देखिन्छ । प्यानिक बनेका लगानीकर्ताहरूबीच नाफा बुक गर्नु स्वाभाविक पनि देखिन्छ । अब बिस्तारै बैंक रिपोर्ट आउने क्रम सुरु हुनेछ । लाभांश घोषणा गरेका कम्पनीहरूले साधारणसभा बोलाउने खातामा बोनस पठाउने क्रम सुरु हुनेछ । केही समय बजार होल्ड गर्न मात्र सकेको खण्डमा नाफा आर्जन गर्न सकिनेछ । त्यसैले बजार खुला रूपमा आउन सकेको छैन ।
बुधबार बेस्ट फाइनान्स, एनआइसी एसिया लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंक, मानुषी लघुवित्त वित्तीय संस्था, गुराँस लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नारायणी जनरल इन्स्योरेन्स, राधी विद्युत् कम्पनीको सेयर मूल्य नौ प्रतिशतदेखि पाँच प्रतिशतसम्मले बढेको छ । एभरेष्ट बैंकको कन्भर्टेबल ,रैराङ हाइड्रो डेभपलमेन्ट, आँखु खोला जलविद्युत् परियोजना, सिंगटी हाइड्रो इनर्जी, हिमालयन पावर पार्टनर, सानिमा लार्ज क्याप फन्डको सेयर पाँच प्रतिशतदेखि दुई प्रतिशतसम्मले गिरावट आएको छ । कारोबार रकमको हिसाबले पनि सो दिन सकारात्मक नै बनेको छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ कम्पनीको एक करोड १५ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार
भएको छ ।सो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश दिने बजार हल्लाले सो बैंकको सेयर खरिद–बिक्री बढेको छ । हाल सो बैंकको सेयर प्रतिसेयर मूल्य एक हजार ६ सय ६ रुपैयाँ रहेको छ । बैंकको ४३ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी, आइसिएफसी फाइनान्स, एनआइसी एसिया बैंक, अरुण भ्याली हाइड्रोपावर, बेस्ट फाइनान्स कम्पनीको २० करोडदेखि १७ करोड रुपैयाँसम्म सेयर कारोबार भएको छ ।