नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतका प्रक्रिया छठपछि सुरु हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कांग्रेस पदाधिकारीसँग छलफलपछि यस्तो तयारी गरेको हो। निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले तिहार र छठका कारण अधिवेशन लगातार गर्न सम्भव नहुने भएपछि छठपछि सुरु गर्ने तयारी थालिएको जानकारी दिए। ‘पछिल्लो समयको बेमौसमी वर्षाका कारण तराईसहितका विभिन्न जिल्ला प्रभावित बनेका छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘लगत्तै तिहार र छठ पनि आउँदै छन् जसकारण अधिवेशन प्रक्रिया लगातार हुन सम्भव छैन। निर्वाचन समितिको बैठक बसेर छठपछि प्रक्रिया सुरु गर्ने गरी नयाँ कार्यतालिका बनाउँदै छौँ।’
महादेवप्रसाद यादव, केन्द्रीय निर्वाचन समिति संयोजक कांग्रेस
बेमौसमी वर्षाका कारण तराईसहितका विभिन्न जिल्ला प्रभावित बनेका छन्। लगत्तै तिहार र छठ पनि आउँदै छन् । जसकारण अधिवेशन प्रक्रिया लगातार हुन सम्भव छैन। निर्वाचन समितिको बैठक बसेर छठपछि प्रक्रिया सुरु गर्ने गरी नयाँ कार्यतालिका बनाउँदै छौँ।
उनले छिट्टै निर्वाचन समितिको बैठक बसेर नयाँ कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिएका छन्। कांग्रेसले तीन जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगााउन सकेको छैन। ५७ जिल्लामा पालिका तहको अधिवेशन मात्र सम्पन्न भएको छ। कार्यतालिकाअनुसार काम नहुँदा छैटाैँपटकको कार्यतालिकासमेत प्रभावित बन्न पुगेको थियो । कार्यतालिकाअनुसार मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशनको कार्यतालिका रहेको थियो। संयोजक यादवले महाधिवेशन सम्पन्न गर्न लाग्ने समयबारे भने निर्वाचन समिति बैठकपछि मात्र टुंगो लाग्ने बताएका हुन्।
मंगलबारको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी कार्यतालिका बनाउन निर्देशन दिएका थिए। बैठकले महाधिवेशन कार्यतालिका बनाउन निर्वाचन समितिलाई पूर्ण अधिकार दिएको संयोजक यादवले जानकारी दिए। कांग्रेसले यसअघि मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो।
हालसम्म अधिवेशनअन्तर्गत ५१ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न गरेको छ भने १३ जिल्लामा जिल्ला तहसम्मको अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी १३ जिल्लामा भने वडा तहको अधिवेशनसमेत सुरु हुन सकेको छैन। रौतहट र रसुवाको क्रियाशील सदस्यताको विवाद नै टुंगिन सकेको छैन।